arrow

प्रधानमन्त्री ओली गएसँगै चीन पुगे उत्तर कोरियाली नेता किम

logo
प्रकाशित २०७५ असार ५ मंगलबार
kim-oli.png

बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओलीसँगै  उत्तर कोरियाली नेता किम जोङ उन मङ्गलबार चीन प्रस्थान गरेका छन् । किम दुई दिने भ्रमणका लागि मङ्गलबारै बेइजिङ प्रस्थान गरेका हुन् ।  

प्रधानमन्त्री ओली पनि ११९ जनाको टोलीको नेतृत्व गर्दै चीन गएका छन् । मंगलबार बिहान उनी चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा औपचारिक भ्रमणमा गएका हुन् ।

किम चीन प्रस्थान गरेको जानकारी राजधानी बेइजिङबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दिएका छन् । तर उनि बुधबार मात्र राजधानी बेइजिङ पुग्ने  समाचार चिनियाँ टेलिभिजन सिसिटिभीले दिएको छ ।

नेता किमले यही जुन १२ मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग सिङ्गापुरमा ऐतिहासिक शिखर वार्ता सम्पन्न गरेका थिए  । उक्त वार्ताको एक हप्तापछि किम चीन भ्रमणमा निस्कन लागेको बताइएको छ ।

किमको मार्च महिनादेखि नै यो तेस्रो पटकको चीन भ्रमण हुनेछ । उनि जुन १२ को शिखर वार्ताको केही दिनमात्र अघि पनि चीन पुगेका थिए ।  चिनियाँ राष्ट्रपति सि चिनफिङसँग उनले ग्रेट हल अफ पिपुल्समा भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।

साथै उनले राष्ट्रपति र चिनियाँ नेताहरुसँग उत्तर कोरियामाथिको प्रतिबन्ध, शिखर वार्तामा कोरियाली प्रायद्वीपको परमाणु निःशस्त्रीकरणका विषय र त्यसमा आफूले गरेको प्रतिबद्धताका विषयमा छलफल गर्ने अनुमान गरिएको छ ।

चीन उत्तर कोरियाको सहयोगी राष्ट्र हो । चीन उत्तर कोरियाको एकमात्र आर्थिक साझेदार राष्ट्र पनि हो । बेइजिङले यसअघि नै अमेरिकालाई उत्तर कोरियाविरुद्धको प्रतिबन्ध खुकुलो पार्न सुझाव दिइसकेको छ । चीनसँगको निकटताको कारण पनि उत्तर कोरियाली नेताको चीन भ्रमणलाई एक महत्वपूर्ण घटनाका रुपमा लिइएको छ ।

प्रधानमन्त्री ओलीका साथ सरकारी प्रतिनिधिमण्डलमा ४२, सञ्चारकर्मी ६ र बेइजिङस्थित नेपाली दूतावासका ८ जना सहभागी हुनेछन् । त्यसैगरी विभिन्न सञ्चारमाध्यका प्रधान सम्पादक तथा वरिष्ठ पत्रकार ११ र उद्योगी व्यापारीको टोलीमा ५२ जना सहभागी हुनेछन् ।

प्रधानमन्त्री ओलीका साथ उनकी धर्मपत्नी राधिका, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, सांसद, नेपाल सरकारका उच्च अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी सहभागी हुँदैछन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नेछन् । परराष्ट्र मन्त्रालयका अनुसार उनले चीनका वरिष्ठ नेतासँग भेटवार्ता गर्नाका साथै नेपाल–चीन व्यापारिक मञ्च तथा विद्वत् समूहलाई बेइजिङमा सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्री ओली र उत्तर कोरियाली नेता किमको बीचमा कुनै भेटवार्ताको कार्यक्रम भने छैन । किम चिनियाँ राष्ट्रपति सि चिनफिङलाई भेट्न चीन पुगेका हुन् भने प्रधानमन्त्री ओली चिनियाँ प्रधानमन्त्री लि खछ्याङको निमन्त्रणामा चीन पुगेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ