arrow

डा. उपेन्द्रसँगकाे स्कुले जीवन सम्झिदैँ बाबुरामले भने‍-'बालसखा गुमाएँ'

logo
कल्पना पौडेल,
प्रकाशित २०७५ असार ५ मंगलबार
babburam-devkota.jpg

काठमाडौँ । हजारौँ बिरामीलाई पुनर्जन्म दिएका एक चिकित्सकले क्यान्सरसँगको छ महिना लामो लडाइँपछि मृत्युवरण गरे।  पुष्पगुच्छाले झपक्क सजाइएको टेबल । त्यसमाथि ढाका टोपी पहिरिएर शान्त चिर निद्रामा निदाइरहेका एशियाकै अब्बल स्नायु चिकित्सक विशेषज्ञ डा देवकोटा । नेपाल मात्र होइन दक्षिण एशियामै ख्याति कमाएका डा उपेन्द्र देवकाटाले सोमबार अन्तिम सास फेरे।


बाँसबारीस्थित आफ्नै न्यूरो अस्पतालको प्राङ्गणमा राखिएको उनको पार्थिव शरीरमा श्रद्धाञ्जलि दिन शोकाकुल शुभचिन्तकको घुइँचो थामिसक्नु थिएन ।  नियतिको खेल पनि बुझिनसक्नु हुन्छ । चिकित्सकीय क्षेत्रमा दुर्लभ विधा मानिएको स्नायु उपचार सेवाका प्रतिभावान् चिकित्सकलाई रोग त त्यो पनि दुर्भल पित्त नलीको क्यान्सर ।

छ महिनाअघि रोग देखिएपछि परिवारले उनलाई अब्बल बनाएको देश बेलायत पुर्‍याएको थियो । तर, जीवनका अन्तिम दिनहरु नजिकिएको पूर्व जानकारी पाइसकेका डा देवकोटा अन्तिम सास स्वेदशकै माटोमा फेर्न चाहे। गत वैशाख १५ गते पुनः स्वदेश ल्याइएपछि उनलाई आफ्नै अस्पतालमा उपचारका लागि राखिएको थियो ।

उनको जीवन फर्काउन दिनरात खटिएका उनका शिक्षार्थी न्यूरो अस्पतालका चिकित्सक डा मयुस मुनंकर्मीले डा देवकोटा आफैँ बिरामी र आफैँ चिकित्सकको भूमिका निर्वाह गरेको सम्झछन् ।  “आफूलाई के भइरहेको छ, के चाहिएको छ उहाँले नै भन्नुहुन्थ्यो, उहाँमा मृत्युले कुरिरहेको छ भन्ने जान्दाजान्दै पनि अनौठो आत्मविश्वास थियो, जुन हाम्रा लागि अनुकरणीय थियो”, उनले भने ।

“बिरामीप्रतिको लगाव, आफ्ना अग्रज, सहपाठी, जुनियर चिकित्सकलाई सधैँ माया, सम्मान गर्ने कुरा हामीले उहाँबाट सिक्यौँ,” डा मुनंकर्मी भने।  

जीवन यात्रामा अनेक साथी भेटिन्छन् । कोही आत्मीय बन्छन् । कोही बीचमै हराउँछन् । तर बालसखा जीवनभरि उस्तै रहन्छन् । आफ्ना बालसखाको अन्तिम बिदाइ गर्नुपर्ने दिन यति छिट्टै आउँला भनेर पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले कल्पना पनि गरेका थिएनन् ।

आफ्ना विधामा दुवै अब्बल । “मैले मेरा बालसखा गुमाएँ, उनीसँगका हरेक पलहरु सम्झनामा समेटिए, उनको मलाई जीवनभर अभाव खट्किरहने छ,” उनले शोकविह्वल हुँदै भने।

 डा देवकोटाले ३५ वर्ष अगाडि नेपालमा नभएको दुर्लभ र जटिल मानिएको स्नायु सेवा शुरु गरेका हुन् । नेपालमा उनको नाम जति सम्मान र गर्वका साथ लिने गरिन्छ दक्षिण एशियाली मुलुकमै पनि उनि उत्तिकै लोकप्रिय भएको वरिष्ठ जनरल सर्जन धु्रव मुडवरीको अनुभव छ ।

“यत्तिको दृढ, आत्मविश्वासी र कठिन परिस्थितिमा विचलित नहुने प्रतिभावान्, आफ्ना गुरुहरुलाई गर्ने सम्मानले मन सधैँ खुशी हुन्थ्यो, फेरि यस्तो व्यक्ति देशले पाउन वर्षौंवर्ष लाग्नेछ,” उनले भने ।  डा मुडवरीलाई डा देवकोटाले परिवारको सदस्य बनाएका थिए । बिरामीप्रतिको इमान्दारिता र समग्र स्वास्थ्य सेवामा चिन्ता गर्ने स्वभाव कमैमात्र व्यक्तिमा हुन्छ भन्ने डा मुडवरीलाई लाग्छ ।

छोटो समयका लागि स्वास्थ्यमन्त्री बनेका देवकोटाले चाहने हो भने छोटो समयमा उत्कृष्ट काम गर्न सकिन्छ भन्ने नजिर बसालेको प्रदेश नं ३ का प्रदेश प्रमुख अनुराधा कोइराला सम्झनछीन् ।

लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री हुँदा कोइराला र डा देवकोटा पनि मन्त्री थिए । प्रदेश प्रमुख कोइरालाले देवकोटाका बारेमा कुरा गर्दै गर्दा उनको शोक आँशु बनी बगिरहेको थियो ।

नेपालका लागि बेलायती राजदूत रिचर्ड मरिसले उनि जस्तो प्रतिभावान् व्यक्ति कमैमात्र जन्मिने बताए । उनले भने, “उहाँ सफल, मेहनती, इमान्दार चिकित्सक हुनाका साथै असल व्यक्ति पनि हुनुहुन्थ्यो, उहाँको अभाव खट्किरहने छ ।”

आँखाको उपचार सेवामा समर्पित डा सन्दीप रुइत देवकोटा अनुशासित पेशाका उत्कृष्ट व्यक्ति भएको स्मरण गर्छन् । “नेपाली हुँ, नेपाललाई कसरी अगाडि बढाउनुपर्छ भन्ने उहाँमा सोच र भावना थियो,” उनले भने ।

चर्चित चिकित्सक एवं देशभक्त देवकोटा समाजमा लोकप्रिय हुनु स्वाभाविक हो । तर २७ वर्षभन्दा बढी समय उनलाई खाना पकाएर खुवाउने कान्छी थापाको मनमा पनि उनिप्रतिको आस्था भने कम छैन ।  “मलाई त आमा भन्नुहुन्थ्यो, काम गर्ने भनेर उहाँले रुखो व्यवहार गरेको सम्झना छैन, परिवार बाहिर जाँदा पूरै घरको जिम्मेवारी मलाई हुन्थ्यो, उहाँलाई गुमाउनुको पीडा बोलेर व्यक्त गर्न सकिँदैन”, कान्छी थापा भन्छिन् ।

डा देवकोटाको हिजो सोमबार बाँसबारीस्थित न्यूरो अस्पतालमा साँझ ५:३५ मा निधन भएको हो । आज बिहान ८  देखि १ बजेसम्म श्रद्धाञ्जलिका लागि अस्पतालमा पार्थिव शरीर राखिएको थियो । मृत्युको खबर सुनेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल पुगी परिवारजनसँग भेट गर्दै समवेदना प्रकट गरेका थिए ।

श्रद्धाञ्जलिका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, पूर्वप्रधानमन्त्रीहरु बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द, स्थानीय विकास मन्त्री लालबाबु पण्डित, स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल, नेत्री हिसिला यमी, नेकपाका महासचिव विष्णु पौडेल र नेकपाका नेता वामदेव गौतम अस्पताल पुगेका थिए ।

त्यस्तै, नेत्री पम्फा भुसाल, पूर्वसभामुख सुवास नेम्वाङ, राप्रपाका नेता पशुपतिशमशेर राणा, वरिष्ठ मुटुरोग विशेषज्ञ भगवान कोइराला, वरिष्ठ न्यूरोसर्जन बिएन गंगोल, न्यूरो सर्जन वसन्त पन्त, डा मोहनराज शर्मा, डा गोविन्द केसी र प्रधानसेनापति राजेन्द्र क्षत्रीलगायतले देवकोटाप्रति श्रद्धान्जलि प्रकट गरेका थिए ।

डा देवकोटाका श्रीमती र तीन छोरी छन् । डा देवकोटाको आजै पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अत्येष्टि गरिँदैछ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ