arrow

 मानव अंग झिकेको भन्दै पाटन अस्पतालमा तोडफोड

छानबिन समितिले शुक्रबारसम्म प्रतिवेदन बुझाउने 

logo
प्रकाशित २०७५ असार ६ बुधबार
patan_todfod.JPG

ललितपुर । कक्षा ११ को परीक्षा दिएर बसेका किशोरको उपचारका क्रममा आइतबार मृत्यु भएपछि तनावग्रस्त पाटन अस्पतालमा, पिडित पक्ष र अस्पताल प्रशासनवीच मंगलबार राती ४ बुँदे सहमति भएको छ । सहमतिपछि परिवारले मृतकको शव आज १० बजेपछि बुझ्ने भएका छन् ।

ढिला गरी एपेण्डिक्सको शल्यक्रिया गर्ने क्रममा ललितपुर छम्पीका १७ वर्षीय क्रिष्टल मगरको मृत्यु भएपछि, पाटन अस्पतालमा तोडफोड भएको थियो । 

विवाद साम्य पार्न ललितपुर जिल्ला समन्वय समिति सहित बसेको वार्ताले, ४ बुँदे सहमति गराएको हो । छम्पीका १७ वर्षे मगरको मृत्यु भएको बिषयमा जाँचबुझका लागि पिडित पक्षबाट नर्भिक अस्पतालका एकजना चिकित्सक सहितको छानबिन समिति गठन गर्ने, शल्यक्रियामा संलग्न चिकित्सक दोषी ठहरीएमा कारबाही गर्ने, उपचारमा लागेको खर्च मिनाह गर्ने, पिडित परिवारका एकजनालाई योग्यताका आधारमा अस्पतालमै रोजगारी दिने र तोडफोडमा संलग्नलाई रिहा गर्ने सहमति भएको छ । 

सहमतिसँगै अस्पताल तोडफोडमा संलग्न रहको आरोपमा हिरासतमा राखिएका मृतकका ७ जना साथीलाई जावलाखेल प्रहरीले मंगलबार राति अबेर रिहा गरेको छ । 
के हो घटना ? 
ललितपुर बुंगमतीको आदर्श शौल उच्च माविमा अध्ययनरत क्रिष्टल मगर कक्षा ११ को जाँच दिएर बसेका थिए । 

पेट दुख्ने समस्या भएपछि उनलाई दुई हप्ताअघि अभिभावकले जँचाउन पाटन अस्पताल ल्याए । अस्पतालले ग्याष्ट्रिकको समस्या भन्दै औषधी दिएर पठायो । तर उनको रोग निको भएन । यो अवधीमा क्रिष्टलको परिवारले उनलाई अस्पताल ल्याउने लैजाने गरिरह्यो ।

गत शुक्रबार असैह्य पीडा भएपछि उनलाई फेरी अस्पताल ल्याइयो । ग्याष्ट्रिकको औषधी दिँदै आएको अस्पतालले तुरुन्तै भर्ना लियो । शनिवार बिरामीको पेट एक्कासी फुलेपछि क्रिष्टलको परिवार अत्तालियो । पेट फुलेपछि मात्रै अस्पतालले एपेण्डिक्सको शल्यक्रिया गर्नुपर्ने जानकारी दियो ।

अप्रेशन थिएटरमा लगेदेखि नै आफन्तलाई भेट्न दिएन। बिरामीको अबस्था जटिल बनेको भन्दै क्रिष्टललाई आइसीयूमा राखिएको बतायो अस्पतालले । तर आइतबार बिहान अस्पतालले बिरामीको मृत्यु भएको जानकारी दियो । 

शुक्रबार नै भर्ना भएका एपेण्डिसाइटिसका बिरामीको अस्पतालले लापार्वाहीपूर्वक ढिला शल्यक्रिया गर्दा एपेण्डिक्स फुटेर मृत्यु भएको र मृतकको शरीरका ठाउँ ठाउँमा चिरिएको भन्दै आफन्त र मृतकका साथी तोडफोडमा उत्रिए ।  मृतक क्रिष्टलकी माइजु पूर्णीमा शाहीले भनिन् “पटक पटक पेट दुखेको भन्दै अस्पतालमा आउने जाने भइरहँदा पनि अस्पतालले लापार्वाही गरेका कारण क्रिष्टलको ज्यान गएको हो” । 

आक्रोशित समुहले अस्पतालको गेटसंगैको सोधपुछ कक्ष, गार्डको कक्ष, प्रशासन कक्ष भएको तल्लाका झ्यालका सिसा सहित पार्किङ्गस्थलमा राखिएका केही नीजि कारमा पनि तोडफोड गरेको छ । 

क्रिष्टलको मृत्यु भएपछि पनि तत्काल हेर्न नदिएको, मृतकको दुवै आखाँमा पट्टि लगाएको र पेटका बिभिन्न भागमा चिरेको भन्दै अस्पतालले अंग निकालेको हुनसक्ने आफन्तको आरोप छ । क्रिष्टलको मृत्यु भए लगत्तै आफन्त र उनका साथीले तोडफोड गर्न थालेपछि, अस्पताल प्रशासनले प्रहरी बोलायो । ७ जना पक्राउ परे । 
शुरुमा चिकित्सकले कुनै लापार्वाही नगरेको अडान राख्दै अस्पताल प्रशासनले, मृतकका आफन्तलाई “जहाँ जानुपर्छ जाऊ” भनेको थियो । मृतकका आफन्तले स्थानीय जनप्रतिनिधि गुहारेपछि अस्पताल प्रशासन वार्तामा बस्न मानेको हो । कडा सुरक्षा घेरावीच भएको वार्तामा ४ बुँदे सहमति भएसँगै आफन्तहरु शब बुझ्न तयार भएका हुन् । अस्पताल प्रशासनले भने घटनाबारे जाँचबुझ समिति नै गठन भएकोले, समितिको प्रतिवेदन नआएसम्म नबोल्ने जवाफ दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ