arrow

चाइना पाकिस्तान इकोनोमिक करिडोर  : आर्थिक समृद्धिको आधार

logo
रमेश लम्साल,
प्रकाशित २०७५ असार ६ बुधबार
china-pakistan-economic-corridor.jpg

काठमाडौ। संसारभर नै भौतिक पूर्वाधार निर्माणमा चिनियाँ सहयोग र लगानी एकपछि अर्कोगरी बढेको पाइन्छ। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सदस्य समेत रहेको पाकिस्तानमा चिनियाँ सहयोगमा रेलमार्ग तथा भौतिक पूर्वाधार विकासको काम तीव्र रुपमा अगाडि बढीरहेको छ।

चाइना पाकिस्तान इकोनोमिक करिडोर परियोजना अन्तर्गत रेलमार्ग निर्माणले तिव्रता पाएको छ। जुन पाकिस्तानको आर्थिक विकासको वृहत राजमार्गको रुपमा विकास हुने सङ्केतहरु देखा परेका छन्। नेपालमा समेत रेलमार्ग निर्माणको चर्चा सुरु भइरहेको बेला पाकिस्तानको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने लक्ष्यका साथ आगामी दुई वर्षभित्र महत्वपूर्ण रेलमार्ग निर्माण सम्पन्न हुने देखिएको छ।

चीनले पाकिस्तानमा सन् २०२० सम्म पेशावरदेखि कराचीसम्मको रेलमार्ग निर्माण सम्पन्न गर्न लागेको छ। चिनियाँ सहयोगमा निर्माण भइरहेको पहिलो चरणको उक्त परियोजनामा प्रतिघण्टा १६० किलोमिटरको गतिमा रेल गुड्नेछ।

रेलमार्ग अबको दुई वर्षभित्र निर्माण सम्पन्न हुने पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन्। यस्तै दोस्रो चरणमा चिनियाँ सहयोगमा नै मुल्तन हैदरवाद रेलमार्ग निर्माण हुनेछ। यस्तै तेस्रो चरणमा हैदरवाद र कराची खण्डको रेलमार्ग समेत निर्माण हुने छ।

चाइना पाकिस्तान इकोनोमिक करिडोर परियोजना अन्तर्गत सो रेलमार्गको काम भइरहेको र त्यसले पाकिस्तानको आर्थिक, सामाजिक तथा सांस्कृतिक जीवनमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको पाकिस्तानी सञ्चार माध्यमहरुको दावी छ। पाकिस्तानमा यसअघि सञ्चालनमा रहेको रेलमार्गको स्तरोन्नति गर्ने र नयाँ लाइन निर्माण गर्ने योजना पनि सँगै अगाडि बढीरहेको छ।

त्यसमा हाल सञ्चालनमा नै रहेको कराची पेशावर रेललाइनको मुख्य खण्डको स्तारोन्नति गरिनेछ। एक लाइन मात्रै रहेको रेलमार्गलाई दोहोरो लाइन बनाउने कार्य जारी रहेको हो। पाकिस्तानी सञ्चार माध्यमहरुका अनुसार हाल रेलमार्गको काम ७० प्रतिशत सम्पन्न भइसकेको छ। सो रेलमार्गको विस्तार पछि पाकिस्तानको सार्वजनिक यातायाताको करिब ७० प्रतिशत आवागमनलाई सहज रुपमा सम्बोधन गर्न सकिने दावी गरिएको छ।

सो रेलमार्ग ४ हजार ६ सय ९३ मिटर उचाइमा रहेको कुन्जेरव पास भएर जाने छ। पाकिस्तानको हिमाली क्षेत्रमा समेत रेल कुदाउने सपना चिनियाँ सहयोगमा पूरा हुन लागेको छ। चीन पाकिस्तान इकोनोमिक करिडोरको यो नै महत्वपूर्ण सफलताका रुपमा हेरिएको छ। यो रेलमार्ग चीनले नै निर्माण गरिरहेको कराची र गुदर बन्दरगाहलाई समेत जोड्नेछ। पाकिस्तानको अर्थतन्त्र माथि उकास्ने भन्दै चीनले दुई विशाल बन्दरगाह समेत बनाइरहेको छ।

ती बन्दरगाह सन् २०३० सम्म पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने चीन र पाकिस्तानको संयुक्त योजना रहेको छ। रेलमार्ग विस्तारका लागि ५ अर्ब अमेरिकी डलर खर्च गर्ने चीनको योजना रहेको छ।

चीन पाकिस्तान इकोनोमिक करिडोरको महत्वपूर्ण परियोजनाको नाम दिइएको कराची पेशावर रेलमार्ग कूल १ हजार ६ सय ८७ किलोमिटर लामो रहेको छ। सो रेलमार्गको लागत ३ सय ६५ अर्ब डलर रहेको छ।

पहिलो चरणमा उक्त परिमाण खर्च गर्ने र क्रमश खर्चको मात्रा बढाउँदै लैजाने योजना समेत रहेको छ। पहिलो चरणको काम गत वर्ष नै सकिइसकेको छ। हाल सोही रेलमार्गको दोस्रो र तेस्रो चरणको काम जारी रहेको छ।

दोस्रो चरणको रेलमार्गमा ८.२ बिलियन खर्च हुनेछ। सबै रेलमार्गको काम सन् २०२१ भित्र सकिने छन्। पाकिस्तानमा रेलमार्गबाट वार्षिक ४ सय ८० मिलियन आम्दानी हुने छ।

चिनियाँ रेल इन्जिनियर र पाकिस्तानी प्राविधिकले संयुक्त रुपमा काम गरिरहेका छन्। उनीहरुले एउटा मार्ग मध्यम गतिको र अर्को उच्च गतिमा कुद्ने रेलमार्ग निर्माण गरिरहेका हुन्।

यस्तै चीनको सहयोगमा निर्माण भइरहेको कोटरी–अत्तोक दोस्रो रेलमार्गलाई चिनियाँहरुले आफ्नै नाम दिएका छन् –सुन्तला रंग। सो मार्ग १ हजार २ सय ५४ किलोमिटर लामो हुनेछ। सो रेलमार्गले कोटरी र सिन्ध प्रान्तलाई जोड्ने छ। सो रेलमार्गलाई ज्याकोवावाद र सिन्ध प्रान्तलाई जोड्ने गरी एक आपसमा अन्तरसम्बन्धित गरिनेछ।

जुन पाकिस्तानको आवश्यकता नै बनेको छ। ‘यात्रु आवागमनलाई सहज बनाउने अरु कुनै उपाय नै छैन, जुन हामी गरिरहेका छौ’ पाकिस्तानी रेल अधिकारीको भनाइ छ। यस्तै तेस्रो चरणको परियोजनामा रोहरी–चमन रेलमार्ग रहेको छ। सो मार्ग ५ सय ६० किलोमिटर दुरीको रहेको छ।
यस्तै पाकिस्तानको अर्को महत्वपूर्ण प्रान्त क्वेटा जोड्न महत्वपूर्ण मानिएको छ। यस्तै लाहोरमा मेट्रो रेल्वे लाइन निर्माणका लागि समेत चीन पाकिस्तान इकोनोमिक करिडोर अन्तगर्त काम भइरहेको छ।

यो मार्ग यसै वर्ष सम्पन्न हुने लक्ष्य प्रक्षेपण गरिएको छ। कूल २७.१ किलोमिटर लामो मेट्रो रेलको लागत १६५.२० अर्ब डलर रहेको छ। दैनिक कूल २ लाख ५० हजार यात्रु सो मेट्रोले बोक्नेछ भने त्यो बढेर ५ लाख पुग्ने अनुमान गरिएको छ।

यस्तै चाइना पाकिस्तान इकोनोमिक करिडोर परियोजना अन्तर्गत खुन्जेरव रेलमार्ग पनि रहेको छ। कूल ६ सय ८२ किलोमिटर लामो उक्त रेलमार्गले चीन र पाकिस्तानलाई जोड्नेछ। यो रेलमार्ग हाल सञ्चालनमा रहेको काराकोलम राजमार्गको समानान्तर रुपमा निर्माण हुनेछ। यो रेलमार्ग सन् २०३० मा सम्पन्न हुनेछ। सो रेलमार्गको लागत १२ अर्ब रहेको छ। चिनियाँ राष्ट्रपति सि चिनफिङले सन् २०१५ मा गरेको पाकिस्तान भ्रमणपछि सो रेलमार्ग निर्माण गर्ने सम्झौता भएको थियो।

चाइना पाकिस्तान इकोनोमिक करिडोर परियोजनामा सहज आवागमन, रेलमार्ग, हवाईमार्ग, यातायात प्रणालीको सुधार गर्ने लगायतका विषय समेटिएका छन्। व्यापार तथा व्यवसाय प्रवद्र्धन गर्दै दुई देशको आर्थिक विकास र समृद्धि गर्ने लक्ष्य राखिएको छ।

शान्ति, विकास र आर्थिक समृद्धि नै सो परियोजनाको मूल मक्सद रहेको देखिन्छ। पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासीले चाइना पाकिस्तान इकोनोमिक करिडोर परियोजनाले आफ्नो देशलाई विश्व अर्थतन्त्रमा उदाउदो शक्तिका रुपमा स्थापित गर्ने विश्वास व्यक्तगर्दै आउनु भएको छ।

चीन, पाकिस्तान र मध्य एसियाको आर्थिक विकास र साझेदारीमा महत्वपूर्ण योगदान पुर्याउन सो परियोजना सहयोगी हुने आश गरिएको छ। रासस (विभिन्न एजेन्सीको सहयोगमा)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ