arrow

राजपाले फोरमलाई जहाँ गएपनि नछोड्ने

संसदीय दलको नेता बन्न ठाकुर र महतोबीच खिचातानी

logo
राजनीतिक व्यूराे,
प्रकाशित २०७५ असार ६ बुधबार
forum-rajapa.png

काठमाडौं । संघीय समाजवादी फोरम संघीय सरकारमा गएपनि राष्ट्रिय जनता पार्टी राजपाले प्रदेश २ को सहकार्य नतोड्ने भएको छ । काठमाडौंमा तीन दिन चलेको राजनीतिक समितिको बैठकले प्रदेश २ मा फोरमसँगको सहाकार्य कायमै राख्न पार्र्टीको एकल र संयुक्त राजनीतिक संयन्त्र बनाएर अघि बढ्ने निर्णय गरेको छ । 

बैठकपछि राजपाका वरिष्ठ उपाध्यक्ष वृषेशचन्द्र लालले हाम्राकुरासँग भने, ‘फोरमसँग कुरा गर्न पार्टी भित्र र बाहिर राजनीतिक संयन्त्र बनाउने कुरा भएको छ ।’ फोरमसँगको सहकार्यका लागि राजनीतिक संयन्त्रमार्फत कुरा गर्ने सहमति भएको छ । 

प्रदेश २ मा सत्ता सहयात्री रहेको फोरम संघीय सरकारमा गएसँगै राजपालाई धोका भएको तर्क केही नेताहरूले गरेका छन् । उनीहरुले फोरमको साथ छोड्न समेत सुझाव दिए । तर, राजनीतिक समतिले प्रदेशमा मात्रै होइन, केन्द्रमा र स्थानीय तहमा समेत राजनीतिक संयन्त्र बनाउने निर्णय लिएको छ ।

बरिष्ठ उपाध्यक्ष लालले भनेका छन्, ‘प्रदेश र स्थानीय सरकार संचालनका लागि पार्टीको संयन्त्र बनाउने निर्णय भएको छ ।’ केही दिन अघि मात्रै नवगठित ९ने क पा०ले स्थानीय तहसम्म पार्टीको संसदीय दल बनाउने अभ्यास सुरु गरेको थियो । अब राजपा पनि स्थानीय राजनीतिक संयन्त्र बनाउने छ । 

राजपा केन्द्र सरकारमा जाने अवस्था नरहेको उनले बताएका छन् । राजनीतिक समितिको बैठकमा केपी ओली नेतृत्वको सरकारलाई दिइएको समर्थन फिर्ता लिने विषयमा पनि कुरा उठेको थियो । केही नेताहरूले सरकारलाई दिइएको समर्थन तत्काल फिर्ता लिनुपर्ने आवाज उठाए पनि तत्काल त्यस्तो निर्णय नभएको उनले बताए। 

विधान परिमार्जन गर्न समिति 
राजपाले दलको विधान परिमार्जनका लागि ३ सदस्यीय विधान परिमार्जन कार्यसमिति बनाएको छ । पार्टीको नेतृत्व र पार्टी संरचनाबारे विधानले टुंगो लगाउने छ । पोहोर साल मधेश केन्द्रित ६ दल मिलेर बनेको राजपाको पहिलो महाधिवेशनका लागि विधान संशोधन गर्न पार्टीका सहअध्यक्ष लक्ष्मर्णलाल कर्ण, बृषेशचन्द्रलाल र सर्वेन्द्रनाथ सुक्ला सदस्य रहेको समिति बनेको हो । 

त्यो समितिले असार २१ गते बस्ने राजनीति समितिको अर्को बैठकमा विधानको नयाँ मस्यौदा प्रस्तुत गर्ने छ । निर्वाचन आयोगले पठाएको चिठ्ठीका कारण पार्टीको विधान परिमार्जन गर्न लागेको बताईएको छ । पोहोर असारमा पार्टी दर्ता गर्दा विधानको धारा २२ को उपधारा १० बमोजिम एक वर्षभित्र महाधिवेशन गर्ने भनिएको भए पनि अहिलेसम्म महाधिवेशन हुन सकेको छैन । यसबीचमा निर्वाचन आयोगले राजपालाई महाधिवेशन गर्न भन्दै चिठ्ठी समेत लेख्यो । 

आयोगले असार ३० गतेसम्मको म्याद दिएको भए पनि राजपाले त्यो समयसम्ममा महाधिवेशन गर्न नसकिने बताएको छ । राजपाले आउँदो वैशाख ७, ८ र ९  गते महाधिवेशन गर्ने निधो गरेको छ । तल्लो तहको संगठन नाजुक रहेकोले अहिले महाधिवेशन गर्न नसकिने राजपाका दोसंो तहका नेता बताउँछन् । 

महाधिवेशनबाट एउटा मात्रै अध्यक्ष 
बरिष्ठ उपाध्यक्ष लालका अनुसार राजपा महन्थ ठाकुरकै संयोजकत्वमा महाधिवेशनमा जानेछ । महाधिवेशनपछि अध्यक्ष एउटै हुनेछ । त्यसबेलासम्म अध्यक्ष मण्डलका सबै सदस्यको सम्मानजनक व्यवस्था हुने उनले बताए । उनका अनुसार महाधिवेशन पछि पनि सबै सम्मानजनक हैसियतमा हुन्छन् । 

विधान संशोधन गर्दा पार्टीलाई लोकतान्त्रिक पद्दतीमा लैजाने कुरामा विशेष जोड हुन्छ, बरिष्ठ उपाध्यक्ष लालले भनेका छन् । तर, उनले एउटा अस्ष्ट कुरा पनि गरेका छन्, हामी सामूहिक नेतृत्वमा अघि बढ्छौँ, भने । राजनीतिक समितिको बैठकले संसदीय दलको विधान भने पारित गरिसकेको छ । 

राजपाको अध्यक्ष मण्डलमा अहिले ६ जना सदस्य रहेका छन् । अध्यक्षहरू धेरै भएकाले निर्णय प्रक्रिया जटिल बनेको छ । वरिष्ठ उपाध्यक्ष लालले भनेका छन्, ‘अब एक जना मात्रै अध्यक्ष रहने गरी विधान संशोधन हुन्छ ।’ 

संसदीय दल गठन
वैठकले छिट्टै संसदीय दल गठन गर्ने निर्णय गरेको छ । संसदीय दलको नेताका लागि पार्टी अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले आकांक्षा देखाएका छन् । संसदीय दलका लागि राजेन्द्र महतो बलियो देखिन्छन् ।

ठाकुरलाई आफू कमजोर भएपछि संसदीय दल गठनमा ढिलाई गरेको आरोप लाग्दै आएको छ । सम्भवतः असार ११ संसदीय दलको बैठक बस्ने भनिएको छ । त्यो वैठक अघि नै संसदीय दल गठन हुने कुरा छ । तर, संसदीय दल गठनमा ठाकुर र महतोबीच खिचातानी देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ