arrow

भारतका मुखियाले दशगजा क्षेत्रमा बनाइएको नाला पुरे

logo
प्रकाशित २०७५ असार ६ बुधबार
dasgaja_dil1.jpg

गौशाला । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा भारतले एकतर्फीरुपमा बनाएको १ सय ५४ फिट लामो नाला बुधवार एकाबिहानै पुरिएको छ ।

करीब एक महिनाअघि भारतले विहार राज्यको मधुवनी जिल्लाको मधवापुर शहरस्थित दशगजा क्षेत्रमा नेपालतर्फ क्षति र नोक्सानी पुग्ने गरी बनाएको १ सय ५४ फिट लामो नाला पुरिएको हो । भारतको मधवापुर पञ्चायतका मुखिया नीलाम्बर मिश्रले आज एकाबिहानै मेशिन र मजदूर लगाएर सो नाला पुरेका छन् ।

एक महिनाअघि भारतले दशगजामा नाला खनेको बेला महोत्तरी जिल्लाका प्रशासन र सुरक्षा निकायले स्थलगत निरीक्षण गरेर नाला पुर्नुपर्ने माग राख्दा त्यस बखत पनि माथिल्लो निकायको आदेशमा पुरिने भनिएको थियो ।

तर एक महिना बित्न लाग्दा पनि भारतको माथिल्लो निकायले कुनै चासो नलिएपछि मधवापुरका मुखिया मिश्रले नेपालीलाई सो नालाबाट हानी नोक्सानी र समस्या हुने गरेको भन्दै आज बिहान उनले आफैँ सो नाला पुरेका हुन् ।

मुखिया मिश्रले नाला पुर्दै गर्दा भारतीय सुरक्षा निकाय वा अन्य कुनै निकायले कुनै अवरोध खडा गरेन । यसरी नाला पुरेपछि मुखिया मिश्रले अब पुनः कहिल्यै पनि नेपाल र भारत दुवैतर्फका स्थानीयवासीलाई मर्का पर्ने गरी दशगजामा कुनै पनि काम गर्न नदिइने प्रतिबद्धता जनाए ।  रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ