arrow

सभापति देउवालाई धृतराष्ट्र नबन्न केसीको सुझाव

logo
प्रकाशित २०७५ असार ६ बुधबार
deuba-kc.png

मकवानपुर । नेपाली कांग्रेस नुवाकोट जिल्ला सभापति जगदिश्वर नरसिंह केसीले पार्टी नेतृत्व धृतराष्ट्र जस्तो भएको भन्दै विनाशको बाटोमा नजान नेतृत्वलाई सुझाव दिएका छन् ।

नेपाली कांग्रेस जिल्ला सभापतिहरुको चौथो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै  केसीले पार्टी विभिन्न गुट उपगुटमा विभाजन भएर छिन्नभिन्न अवस्थामा पुगेको भन्दै नेतृत्वको चर्को आलोचना गरेका हुन् । पार्टीभित्र मुखले मात्रै एकता देखिएको तर कामले त्यस्तो नदेखिएको उनको भनाई छ ।

आफूले विपी कोईरालाको आदर्श, विचार, स्वच्छता लगनशीलता र उर्जाशील सिद्धान्त सुनेको तर अहिलेको कांग्रेसमा त्यो नभेटिएको बताए ।

उनले थपे, ‘नेपाली कांग्रेस रोगी भएको छ ।’ गुट उपगुटमा लागेर पार्टीलाई धरासायी बनाउने नेतृत्वमा लागिपरेको भन्दै उनले भने, “वर्तमान नेपाली कांग्रेस महाभारत कुरुक्षेत्रको युद्ध जस्तो भएको छ । नेतृत्व धृतराष्ट्रको चरित्रमा छ । धृतराष्ट्र सत्य बोल्न र सुन्न चाहँदैनथे । सन्जय सत्यबाहेक बोल्न नजान्ने हुँदा कौरव पाण्डव र सकुनीहरुको खेलमा युद्ध भएको थियो । अहिले कांग्रेस नेतृत्व गुट उपगुट च्यापेर कांग्रेसजन पाखा लगाउन, भिडाउन लागिपरेको छ ।’

विधान संशोधनका विषयमा पनि पार्टी अलमलको स्थितिमा रहेको भन्दै उनले प्रतिपक्षले तत्काल आफ्नो नेतृत्व संघियताको ढाँचामा परिवर्तन गरिसक्दा कांग्रेस नेतृत्व के हेरेर बसेको छ ? भन्दै प्रश्न गरे ।

आफ्नो पार्टीको सरकार भएका समयमा भएको स्थानीय तहको चुनावमा कांग्रेस हार्नुका कारणबारे बोल्दै उनले आईजीपी काण्ड, महाअभियोग काण्ड, राजदूत नियुक्ति, साझा सवालमा प्रधानमन्त्रीको प्रस्तुति लगायतका विषयले कांग्रेसप्रति आस्था र भरोसा राख्नेहरु बिच्किएको भन्दै अबका दिनमा पनि कांग्रेस नसुध्रिए नेतृत्वको कारण भौतारिएको नेविसंघको भविष्य कस्तो हुन्छ ? भन्दै चिन्ता व्यक्त गरे ।

उनले थपे, ‘यो तरिकाले कांग्रेस चल्दैन । पार्टी सकिन्छ ।’ मंगलबारदेखि हेटौंडामा शुरु भएको भेला भोलिसम्म चल्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ