arrow

बायुमण्डल अध्ययनका लागि हरेक दिन बिहान मौसमी बेलुन उडान : खर्च ४ करोड

logo
प्रकाशित २०७५ असार ७ बिहिबार
belun.JPG

काठमाडौं । मौसमी सुचनाका लागि हरेक दिन उडाउने मौसमी बेलुनका लागि  जल तथा मौसम विज्ञान विभागले ४ करोड खर्च लाग्ने बताएको छ । प्रत्येक दिन मौसमी सुचनाका लागि बायुमण्डलमा पठाइने यो बेलुन उडाउनका लागि २ वर्षसम्म पुग्ने आवश्यक सामग्री खरीद गरीसकेको र यसमा ४ करोड लागेको बिभागका महानिर्देशक डा ऋषिराम शर्माले जानकारी दिए ।

आवश्यक बेलुन ,नेटबर्किङ्ग सिस्टम र  तालिम लगायतका गरी करिब ४ करोड लागेको हो । वुधबार कीर्तिपुरबाट बिहान ५ बजेर ३७ मिनेटमा पहिलोपटक बेलुन उडाइएको र अबदेखि नियमितरुपमा बिहान साढे ५ बजे यस्ता बेलुन सोही स्थानबाट उडाइने विभागले जनाएको छ । त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम विज्ञान केन्द्रीय विभागको सहकार्यमा बुधबारदेखि मौसमी बेलुन उडाइएको हो  ।

बेलुन १९ किलोमिटरमाथि आकाशमा पुगी बिहान सवा ८ बजे सुन्दरीजल आसपासमा खसेको थियो । हाइड्रोजन ग्यास भरिएको यस्ता बेलुन माथि बढ्दै जाँदा न्यून हावाको चापका कारण फुक्दै जाने र एउटा उचाइमा पुगेपछि फुट्ने गर्छ । प्रत्येक दिन बिहान उडाउने यो बेलुन साढे २ देखि ३ घण्टामा आफै फुट्नेछ ।  
बेलुनमा जडित सेन्सरले नियमितरूपमा मौसमी तथ्यांक पठाउने शर्माले बताए । बुधबार उडाइएको मौसमी बेलुन उड्दाको सरदर गति छ मिटर प्रतिसेकेण्ड र झर्दाको गति तीन मिटर प्रतिसेकेण्ड रहेको थियो ।
बेलुन झर्दा त्यसमा झुण्ड्याइएको प्यारासुटको माध्यमबाट विस्तारै झर्ने हुँदा जोखिम अत्यन्त कम हुन्छ ।
यसरी प्रयोग भइसकेका बेलुन कसैले फेला पारेमा विभागमा र्पुयाइदिन वा सम्पर्क गर्न जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

माथिल्लो वायुमण्डलको मौसमी सूचना मौसम पूर्वानुमानका लागि यस्तो बेलुन उपयोगी हुने र पूर्वानुमान अझ भरपर्दो हुने शर्माको दाबी  छ । अहिले विश्वको मौसमी विवरण डाटा प्रयोग भइरहेको मौसम पूर्वानुमानलाई अब भने नेपालको डाटा पनि प्रयोग गरेर पूर्वानुमान गरिनेछ ।

अहिले जमिनमा राखिएका स्वचालित केन्द्रको रेकर्ड डाटाले मात्र नपुग्ने भएकाले  माथिल्लो वायुमण्डलको मौसमी गतिविधि अध्ययन गर्नका लागि डाटा लिन मौसमी बेलुन उडाइएको हो ।  यसअघि सन १९७० मा नेपालमा पहिलो पटक यस्तो बेलुन उडाएपनि दैनिक २० हजार लागेपछि निरन्तरता दिन सकेको थिएन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ