arrow

काँग्रेसमा निर्वाचन गर्ने कि तदर्थ समिति बनाउने भन्नेमा मतान्तर, को कता लागे?

महासमितिको वैठकको मिति तोकिने सम्भावना, हेटौंडा घोषणापत्र जारी हुने

logo
प्रकाशित २०७५ असार ७ बिहिबार
congress-banda-satra.jpg

हेटौंडा। नेपाली कांग्रेसको जिल्ला सभापति भेलामा पार्टीको संरचनालाई संघिय संरचना अनुसार लैजान तत्कालका लागि स्थानीय तहदेखि प्रदेश तहसम्मको निर्वाचन गर्ने कि तदर्थ समिति बनाउने भन्नेमा विवाद देखिएको छ । 

असार ५ गते बाट जारी भेलाले संघिय संरचना अनुसारको विधान तयारीका लागि आधार तयार गर्ने नीति सहित अघि बढिरहँदा तत्कालका लागि तदर्थ समितिबाट नयाँ संरचना बनाउँने कि निर्वाचन गर्ने भन्ने विषयमा मतान्तर देखिएको हो ।

भेलामा बोल्ने अधिकांश जिल्ला सभापतिहरु सो विषयमा पार्टीको संस्थापन पक्ष र संस्थापन इतर पक्षमा बाँडिएका छन्। 

संस्थापन पक्ष मानिने सभापति शेरबहादुर देउवा निकट सभापतिहरु नयाँ संरचना अनुसार पार्टीको संरचना बनाउँदा तत्कालका लागि तदर्थ समिति बनाएर अघि बढ्नु पर्ने पक्षमा छन् । तर संस्थापन इतर मानिने वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला समुह निर्वाचन मार्फत नै सबै तहको संरचनाको बाँकी अवधिको लागि भर्पाइ गरिनु पर्ने पक्षमा छन्।

बिहिबारको दोस्रो दिनको बन्दसत्रमा धारणा राख्ने क्रममा अधिकांश जिल्ला सभापतिहरुले निर्वाचन मार्फत नै सबै तहको संरचनाको भर्पाइ गरिनु पर्ने पक्षमा राय दिएको बर्दिया जिल्लाका कांग्रेस सभापति संजय गौतमले जानकारी दिए । 

‘अधिकांश सभापतिहरु निर्वाचन मार्फत नै जतिसक्दो छिटो पार्टीको सबै तहको संरचनाको भर्पाइ गनु पर्छ भन्ने पक्षमा हुनुहुन्छ, धेरै साथीहरुको राय पनि त्यही छ,’ बर्दिया सभापति गौतमले भने । 

नुवाकोट सभापति जगदिशनरसिंह केसीले समेत सो विषयमा भेलामा छलफल भइरहेको भन्दै शुक्रबार टुंगो लगाइने जानकारी दिए ।

‘धेरैको धेरै राय आएको छ, तर निर्वाचन मार्फत नै सबै संरचनाको टुंगो लगाइनु पर्छ,’ उनले भने । 

भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापाले तत्काल निर्वाचन मार्फत सबै तहको संरचनामा पार्टीलाई लैजान सम्भव नभएको भन्दै तदर्थ समितिबाटै भए पनि तत्कालका लागि पार्टीको संरचना तय गरिनु पर्ने बताए । 

‘तत्कालका लागि तदर्थ समिति बनाएर नयाँ संरचनाको टुंगो लगाइन्छ, महासमितिबाट विधान पारित गर्नुपर्ने कारणले पनि तत्काल तदर्थ समिति नै बनाउँनुको विकल्प रहँदैन,’ भक्तपुर सभापति थापाले भने । 

बुधबार र विहिबार गरि बन्दसत्रमा ७२ जना जिल्ला सभापतिहरुले धारणा राखेका छन । केही जिल्ला सभापतिहरुले भने स्वास्थ्य समस्याका कारण बोलेनन । 

महासमितिको वैठकको मिति तोकिन सक्ने

यसैगरी हेटौंडा भेलाले नै आगामी महासमितिको बैठकको मिति र स्थानका बारे समेत टुगो लगाउने सम्भावना छ । सम्भवत भैरहवामा भदौमा मिति तोकेर महासमिति बैठक गर्ने गरि सहमति जुटाउने तयारी भइरहेको छ । 

भेलामा निर्वाचनमा पार्टी पराजयका कारणबारे समेत जिल्ला सभापतिहरुले धारणा मागेका छन । उनीहरुले विधानले दिएको जिल्ला सभापतिहरुको अधिकार कटौती गरिएकोप्रति समेत असन्तुष्टी राखेका छन् । 

हेटौंडा घोषणापत्र जारी हुने

शुक्रबार हेटौंडा घोषणा पत्र जारी गर्दै भेला सकिने तयारी भएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भेलाको समापन मार्फत पार्टी एक ढिक्का भएको सन्देश दिने र हेटौंडा घोषणा पत्र जारी हुने बताएका हुन । 
उनले भेलामा सबै जिल्ला सभापतिहरुले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न नेतृत्वलाई दबाब दिएको समेत बताए । यसैगरी उनले भेलामा सबैको आवाज पार्टी रुपान्तरणका पक्षमा एक साथ आउको समेत जानकारी दिए । 

भेलामा ७७ जिल्लाका जिल्ला सभापति सहित ८५ जना केन्द्रिय सदस्य तथा भातृ संगठनका अध्यक्ष लगायतको सहभागीता छ । 

शुक्रबार ओखलढुंगाका प्रदीपकुमार सुनुवार, रसुवाका पेम्बा छिरिङ तामाङ्ग, सिन्धुलीका उज्ज्वलप्रसाद बराल, मनाङका टेकबहादुर गुरुङ, काठमाडौँका कृष्ण (सवुज) वानियाँ, डोटीका प्रदीप देउवा, सल्यानका गणेश चन्द, झापाका उद्धव थापा, हुम्लाका जयपति रोकाय, मोरङका डिगबहादुर लिम्वू, जुम्लाका दिपबहादुर शाही, संखुवासभाका दिपनकुमार श्रेष्ठ, गुल्मीका भुवन श्रेष्ठ, प्यूठानका अमरप्रसाद भण्डारी, डडेल्धुराका कर्णबहादुर मल्ल, अछामका भरतबहादुर स्वाँर, कपिलवस्तुका सुरेन्द्रराज आचार्य, रोल्पाका अमरसिंह पुन, बाँकेका किरण कोइराला, धनुषाका महेशशंकर गिरी, सिरहाका रामचन्द्र यादव, काभ्रेपलाञ्चोकका मधु आचार्य, तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आले, अर्घाखाँचीका विष्णुप्रसाद खनाल ‘मुस्कान’, दैलेखका कृष्णकुमार बी।सी।, रौतहटका कृष्णप्रसाद यादव, मुगुका खड्कबहादुर शाही, बाराका जयचन्द्र चौरसिया, बझाङका हर्कजंग बहादुर सिंह, महोत्तरीका महेन्द्रकुमार राय, भक्तपुरका दुर्लभ थापा, पर्साका अजयकुमार द्विवेदी, रुकुम (पूर्वी)का संयोजक केशरमान रोक्का र मकवानपुरका ईन्द्रबहादुर वानिया गरी ३४ जनाले धारणा राखेका थिए । 

सभापति देउवाको जिल्ला सभापतिकै आपत्ति
काँग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुराका सभापति कर्ण मल्लले अनुशासन विपरित कार्य गर्ने नेपाल बिद्यार्थी संघका अध्यक्ष नैनसिंह महरालाई कारबाहीको माग गरेका छन् । उनले प्रदेश सभाको निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई भोट नमागी एमालेका उम्मेदवारको पक्षमा उभिएको भन्दै अनुशासनको कारबाहीको लागि जिल्ला कार्य समितिले गरेको सिफारिसलाई सभापति देउवाले कारबाही नगरेको भन्दै सभापतिकै आलोचना गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ