arrow

पार्क मासेर उपमहानगरको आधुनिक भवन बनाउँदै बुटवल

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ असार ८ शुक्रबार
butwal1.jpg

बुटवल। रुपन्देहीको बुटवल उपमहानरपालिकाले उपमहानगरपालिकाको छेवैमा रहेको तिलोत्तमा पार्क मासेर स्थानीय तहको लागी आधुनिक भवन निर्माण गर्ने भएको छ ।

नगरपालिकाकै स्वामित्वमा रहेको तिलोत्तमा पार्कलाई सञ्चालन तथा प्रवेशको लागी रोक लगाईएको र कुनै गतिबिधि नभएकोले पार्क बनाउन लागीएको नगरपालिकाले जनाएको छ ।

पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य विष्णुप्रसाद पौडेलले एक समारोहका बीच शुक्रबार उक्त कार्यालय भवनको शिलन्यास गरेका हुन् । त्यसक्रममा उनले बुटवलको बुद्धकालिन सभ्यता र ऐतिहासिक महत्वलाई झल्काउने गरी काम गर्न जरुरी रहेको बताए । आधुनिक भवनको निर्माण कार्य समयमै सक्न आग्रह गर्दै उनले निर्माण कार्यहरुमा नागरिकहरुको पनि निगरानी र खबरदारी जरुरी रहेको बताए ।

सेवाग्राहीका कामलाई पहिलो प्राथमिकता राखेर अगाडि बढनुपर्ने पौडेलको सुझाव थियो । लुम्बिनी र बुद्धबल्लीलाई केन्द्रमा राखेर समग्र प्रदेशको विकासका लागि जुट्न जरुरी रहेको उनको भनाइ थियो । अहिले सरकारले समाजवादको वस्तुगत आधार तयार पार्नेगरी काम गरिरहेको बताए ।

बुटवल उप–महानगरपालिकाले करिब तीन विघा जग्गामा गुरुयोजना बनाएर अत्याधुनिक कार्यालय भवन निर्माणको काम सुरु गरेको नगर प्रमुख शिवराज सुवेदीले जानकारी दिए । सुन्दर बुटवल, समृद्ध बुटवल, सुखी बुटवलबासीको संकल्प अनुसार आफुहरु आवधिक र दीर्घकालिन महत्वका काममा केन्द्रित रहेको उल्लेख गर्दै प्रमुख सुवेदीले बुटवलको विकासमा सबैसंग हातेमालो गरिने बताए ।

हाल भवन रहेकासमेतको जग्गामा प्रमुख प्रशासनिक सहित अरु छ वटा ब्लकमा भवनहरु निर्माण गर्ने गरि गुरुयोजना बनाइएको प्रमुख प्रशासकीय अधिकृत राजनकुमार बिसीले जानकारी दिए । शुक्रबार शिलन्यास भएको भवन प्रमुख अर्थात् ‘ए ब्लक’ हो । बेसमेनसहित चार तलाको आधुनिक भवनको अनुमानित लागत ५४ करोड ७८ लाख ४५ हजार तीन सय ८१ रुपैयाँ ५२ पैसा रहेको योजना प्रमुख ईन्जिनियर सुमन श्रेष्ठले बताए ।

तर, निर्माण कम्पनी विकोही, शिवशक्ति, वन्दन भगवति जेभी न्यू बानेश्वरले ४३ करोड ५३ लाख ४९ हजार पाँच सय ७२ रुपैयाँ ८४ पैसामा आगामी ०७८ असारमा सक्ने गरी असार ६ गते बुधबार ठेक्का सम्झौता गरेको इन्जिनियर गौतम रौनियारले जानकारी दिए ।

उक्त भवनमा रहेको अन्डरग्राउण्डमा एक सय छ वटा मोटरसाइकल, ३५ वटा कारलाई पार्किङ गर्न मिल्ने छ । यसका अतिरिक्त बाहिरी पार्किङ छुट्टै छ । भवनमा दुई अलग–अलग स्थानमा लिफ्ट र दुई वटै सिंढीहरु रहने ईन्जिनियर रौनियारले बताए ।

भवन शिलन्यास समारोहमा प्रदेश सरकारका उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री एवम् नेकपाका केन्द्रीय सदस्य लिला गिरी, नेकपाका केन्द्रीय सदस्य तथा पूर्व सांसद वामदेव क्षेत्री, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि युवराज गिरीलगायतले बोल्दै तोकेको समयमै निर्माण कार्य सम्पन्न गर्नुपर्नेमा जोड दिएका थिए ।

विसं. २०१६ सालमा स्थापना भएको बुटवलको हालकोमुल भवन भने २०३५ सालमा निर्माण भएको हो । यो मूल भवनसहितका कार्यालय भवनहरु प्रायः जीर्ण र गएको भूकम्पले चर्किएको अवस्थामा छन् । कार्यक्रममा उपप्रमुख गुमादेवी आचार्यले स्वागत र प्रमुख प्रशासकीय अधिकृत राजनकुमार बिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ