arrow

निर्माण कार्य ढिलाइ गर्ने २२ कम्पनीलाई कारबाहीको सिफारिस

logo
प्रकाशित २०७५ असार ९ शनिबार
Dolakha_District.png

दोलखा ।  निर्माण कार्यमा ढिलाइ गर्ने २२ निर्माण कम्पनीलाई कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय दोलखाले सिफारिस गरेको छ । कार्यालयले विकास निर्माणका काम समयमै सम्पन्न नगर्ने २२ वटा निर्माण व्यवसायीका कम्पनीको विवरण गृहमन्त्रालयमा पठाएको हो ।

समयमै निर्माण सम्पन्न नगर्ने र काममा ढिलासुस्ती गर्ने त्यस्ता कम्पनीको विवरण मन्त्रालयमा पठाइएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए ।

कारबाहीका लागि सिफारिसमा पर्ने कम्पनीमा फ्रेन्ड्स ध्रुवतारा आरडीजेवी कोटेश्वर काठमाडौँ, रौतामहादेव जेवी कम्पनी भीमेश्वर नगरपालिका लाकुरीडाँडा दोलखा, रामेछाप न्यू सताक्रि जेवी चाबहिल काठमाडौँ र स्वर्ण निर्माण सेवा राम्चे सिन्धुपाल्चोकलगायतका छन् ।

यस्तै श्रेष्ठ समानान्तर जेवी ३२ पुतली काठमाडौँ, थोडुङ सुस्नी जेवी अनामनगर काठमाडौँ, सुनकोशी क्षेत्रवती जेवी ललितपुर, कोशी एण्ड न्यौपाने वीएन सी जेवी नयाँ बानेश्वर काठमाडौँ, स्वर्ण ब्राह्मयणी जेवी चाबहिल काठमाडौँ, कन्काई इन्टरनेशनल विल्र्डस प्रालि सुरुङ्गा झापा र खपाचे शेर्पा निर्माण सेवा प्रालि चाबहिल काठमाडौँलाई पनि समयमै काम सम्पन्न नगरेको भन्दै कारबाहीका लागि सिफारिस गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय दोलखाले कुसेश्वर रिमाल जेवी काठमाडौँ, रौताहओम बृद्ध सुन्दरी माई जेवी काठमाडौँ, गुन्नेश्वरी क्षेत्रावती जेवी जिरी दोलखा, पोखरे विल्र्डस भीमेश्वर नगरपालिका दोलखा, त्रिशूली कन्स्ट्रक्सन, महालक्ष्मी इञ्जिनियरिङर एक्थुमहाङ सुनकोशी शुभकामना जेवी ललितपुरलाई पनि कारबाहीका लागि गृहमन्त्रलयमा सिफारिस गरेको छ ।

तर दोलखा जिल्ला निर्माण व्यवसायी संघले सरकारी निकायकै कारण आफूहरुले निर्माण कार्य समयमै नसकेको आरोप लगाएका छन् । जिल्ला प्रशासन कार्यालय दोलखामा संघले बिहीबार ज्ञापनपत्र बुझाउँदै काम सम्पन्न गरेको वर्ष दिन बित्न लाग्दासमेत सरकारी निकायबाट भुक्तानी नभएको र निर्माण कार्यका लागि रोडा, ढुंगा, गिट्टी, बालुवाजस्ता नदीजन्य पदार्थ उपलब्ध गराउने काममा सरकारी निकायबाट असहयोग भएको बताइएको छ ।

इन्धन र निर्माण सामग्रीमा भएको मूल्यवृद्धिका कारण समयमै निर्माण कार्य सम्पन्न हुन नसकेको उनीहरुले बताएका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ