- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
ललितपुर । ललितपुर महानगरपालिका अपाङ्गमैत्री हुने भएको छ । शारिरीक समस्या भएका तर फरक क्षमता भएका व्यक्तित्वहरुलाई पनि जनप्रतिनिधिहरुसंग सहज भेटघाट र जनप्रतिनिधिहरुसंग उनीहरुको पहुँचलाई सहज बनाउने उद्देश्यका साथ ललितपुर महानगरपालिका अगाडि बढेको जानकारी मेयर चिरीबावु महर्जनले गराएका छन् ।
शनिवार सानेपास्थित वडा नं २ को वडा कार्यालय उद्घाटनको क्रममा महानगरपालिकाका मेयर महर्जनले यस्तो बताएका हुन् । मेयर, उपमेयरसंग भेट्न सेवाग्राहीलाई सहज होस् र शारिरीक अशक्तता भएका व्यक्तिहरुलाई पनि आफ्ना समस्याहरु मेयर, उपमेयरसम्म पुर्याएर समाधान गर्नका लागि सहज होस् भन्ने उद्देश्यका साथ विद्युतीय भर्याङ बनाउने कार्य सुरु भैसकेको मेयर महर्जनले बताए ।
आफु जननिर्वाचित भएर आइसकेपछि ललितपुर महानगरवासीहरुका लागि सहज रुपमा सेवा पुर्याउनु एक मात्रै उद्देश्य रहेकोले आमनागरिकसंग सहज पहुँच बनाउने आफ्नो ध्येय रहेको पनि मेयर चिरीबावुले प्रष्ट्याए ।
वडा नं २ को वडा कार्यालय उद्घाटनको क्रममा मेयर चिरीबावु महर्जनले भने, ‘हामी ललितपुर महानगरपालिकाको कार्यालयलाई अपाङ्गमैत्री बनाउँदै छौं । तपाईहरु पनि वनाउन लागिएको यो वडा कार्यालय भवनलाई पनि आपाङ्गमैत्री बनाउनु होला । ललितपुर महानगरपालिकाका २९ वटै वडा कार्यालयहरु अपाङ्गमैत्री हुनु आवश्यक छ ।’ मेयर महर्जनले आफुहरुले निर्वाचनका वेलामा वोलेका कुराहरु र दिएका आश्वासनहरु एकै वर्षमा पूरा नहुने भन्दै बाँकी ४ वर्षभित्र ती सबै कुराहरु र आश्वासनहरु पूरा गरेरै छोड्ने उल्लेख गरे ।
आफुहरुलाई निर्वाचनका वेलामा मतदाताले राखेको गुनासो सम्झँदै मेयर महर्जनले भने, ‘तपाईहरुले हामीलाई तपाईहरुको क्षेत्रको विकास र समस्याहरु समाधान गर्नका लागि जिताएर पठाउनु भएको हो । त्यो कुरा मैले भुलेको छैन । हामीहरु दत्तचित्त भएर लागेका छौं । एक वर्ष कार्यकाल सकियो भनेजति काम गर्न नसके पनि पासमार्क मात्रै भनेपनि ल्याएका छौं, अव बाँकी समयमा सबै बाचाहरु पूरा गर्न लागि पर्छौं ।’