arrow

रेलकाे पछि लाग्दा-लाग्दै तेलकाे सम्झाैता गर्न विर्से अाेलीले 

logo
प्रकाशित २०७५ असार १० आइतबार
oli-china.JPG

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण रेलकै विषयमा केन्द्रित हुँदा चीनबाट इन्धन आयात गर्ने सम्झौता ओझेलमा परेको छ । यसअघिको कार्यकालमा चीन भ्रमण गर्दा अाेलीले नेपालमा खपत हुने इन्धनको एक तिहाई हिस्सा चीनबाट आयात गर्ने सम्झौता गरेका थिए ।

तर, याे पल्ट प्रधानमन्त्री ओलीको चीन भ्रमणमा इन्धन आयातको विषयमा कुनै छलफल नै नभएपछि इन्धन आयात गर्ने अाफैले गरेकाे सम्झौता नै ओझेलमा परेको हो ।

यसपालीकाे चीन भ्रमण रेलका विषयमा नै केन्द्रित रहेको र चीनबाट इन्धन आयात गर्ने सहमतिलाई अन्तिम रुप दिन नसकिएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए । उनले २०७२ सालको नाकाबन्दीबाट पाठ सिक्दै त्यति बेला सम्झौता गर्नु राम्रो विषय रहेको बताए । तर, याे पल्ट प्रधानमन्त्रीको चीन भ्रमणमा इन्धन आयात गर्ने विषयमा कुरै हुन नसकेको ती अधिकारीले सुनाए ।

‘यसपालीको चीन भ्रमणमा इन्धन आयात सम्बन्धि एजेण्डा नै थिएन’ परराष्ट्रका ती अधिकारीले भने, ‘रेल लगायतका अन्य एक दर्जन बढी एजेण्डामा चीनसँग सम्झौता भएका छन् ।’

सडक सञ्जालका हिसाबले समेत तत्काल चीनबाट इन्धन आयात गर्न कठिन रहेकाे उनको भनाई छ । चीनबाट इन्धन आयातमा मुख्य चुनौती नै सडक सञ्जालको रहेको उनले बताए । त्यसका लागि चीनसँग सडक सञ्जालको सहज पहुँच हुनु पर्ने उनको भनाई थियो ।

२०७२ सालमा संविधान जारी भएको विरोधमा भारतले नाकाबन्दी लगाएपछि सो नाकाबन्दीबाट पाठ सिक्दै तत्कालीन प्रधानमन्त्री केपी ओलीले चीनबाट इन्धन आयात गर्ने सम्झौता गरेका थिए । नेपालमा खपत हुने इन्धनको ३३ प्रतिशत इन्धन चीनबाट आयात गरिने सम्झौता त्यसबेला चिनियाँ पक्षसँग गरिएको थियो ।

उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालय आपुर्ति शाखा प्रमुख नवराज ढकालले यसपटक प्रधानमन्त्रीको चीन भ्रमणमा चीनबाट इन्धन आयात गर्ने एजेण्डा नरेहेको बताए । उनले चिनियाँ पक्षले निमाण गरिदिने भनिएको इन्धन भण्डारण गृह निर्माणको एजेण्डा प्रधानमन्त्री भ्रमणको एजेण्डा रहेको जानकारी दिए । ‘प्रधानमन्त्री भ्रमणमा चीनबाट इन्धन आयात गर्ने एजेण्डा रहेको थिएन’ ढकाललले भने, ‘इन्धन भण्डारण गृह निर्माण चाँहि भ्रमणको एजेण्डा रहेको थियो । तर, त्यो विषयमा के छलफल भयो भन्ने जानकारी पाएको छैन ।’ 

नेपालको इन्धन आपुर्तिमा भारतको एकाधिकार रहँदै आएको छ । नेपालको इन्धन आपुर्तिमा भारतको एकाधिकार रहँदै आएपछि भारतले नेपाललाई आफ्नो अनुकुल प्रयोग गर्न दवाव स्वरुप इन्धन लगायतका दैनिक उपभोग्य वस्तुको आयात तथा निर्यातमा समस्या सिजर्ना गर्दै आएको जानकारहरु बताउँदै आएका छन् । असार ५ गते चीन भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओली आइतबार नेपाल फर्किएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ