वामपन्थी र प्रजातन्त्रवादी शक्ति मिलेर अघि बढ्नुपर्छ : नेता नेपाल
प्रकाशित २०७५ असार ११ सोमबार
521
Shares
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालमा समाजवाद स्थापनाका लागि वामपन्थी र प्रजातन्त्रवादी शक्ति मिलेर अघि बढ्नुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको अर्धकदको शालिकको सोमवार यहाँ अनावरण गर्दै उनले निरंकुशतावादी शक्तिको पराजयका लागि वामपन्थी र प्रजातन्त्रवादी शक्ति एकजुट भएर लडेको स्मरण गरे।
पुष्पलालले देखाएको बाटोमा अहिले नेपाल कम्युनिष्ट पार्टी अगाडि बढिरहेको भन्दै यसबाट नेपाललाई समाजवादसम्म सहजै पुर्याउन सकिने बताए । नेपाल अब समृद्धितर्फ लाग्ने भन्दै उनले गतिशील भएर अगाडि बढ्नुपर्ने बताए । नेता नेपालले भने, “नदी गतिशील हुन्छ, अनि विद्युत् निस्किन्छ । तर पोखरीको पानी स्थिर हुन्छ, यसबाट कुनै शक्ति निस्किँदैन ।” उहाँले थप्नुभयो “हामी गतिशील हुनुपर्छ, जहाँ शक्ति प्राप्त हुन्छ ।”
कार्यक्रममा नेकपाका नेता सुरेन्द्र पाण्डेले देशमा उत्पादन बढाएर समाजवादतर्फ जानुपर्ने भन्दै हिजोका कतिपय मान्यता अहिले बाधक बनेको बताए । सो अवसरमा सांसद कृष्णभक्त पोखरेल र भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले पुष्पलालले देखाएकै बाटोका कारण आज देशमा यो उपलब्धि हासिल भएको भन्दै यसलाई संस्थागत गरी समृद्धितर्फ अगाडि बढ्नुपर्ने बताए ।
उक्त शालिक नारायणगढस्थित पुष्पलाल स्मृति प्रतिष्ठानको भवन अगाडि स्थापना गरिएको छ । रासस