राजविराज। अदालतमाथि आर्थिक चलखेलको गम्भीर आरोप लगाउँदै कानून व्यवसायीहरुले बुधबार दोस्रो दिनपनि इजलास बहिकाष्कार गरेको छ । कानुन व्यावसायीहरुले मंगलबारदेखि अनिश्चितकालका लागि गरेको उच्च अदालत जनकपुर राजविराजको इजलास बहिस्कारले दुई दिनमै २ सय मुद्दा प्रभावित भएको हो।
राजविराज उच्च अदालत बार एशोसिएसनले इजलासमा हुने आर्थिक चलखेल बन्द नभएसम्म र काम कारबाही चितबुझदो नभएसम्म अनिश्चितकालका लागि इजलास बहिस्कार गरेका हुन् । बार एशोसिएसनका सचिव बिमलकुमार साहले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै अदालतको आदेश र फैसलाले अदालतप्रतिको जनआस्थामा ह्रास आएको आरोप लगाउँदै आर्थिक चलखेल बन्द नभएसम्म बन्दी प्रत्यक्षीकरण मुद्दा बाहेक सम्पूर्ण इजलास बहिस्कार गर्ने निर्णय भएको बताए ।
कानुन व्यावसायीहरुको बृहत भेलाले इजलास बहिस्कार गर्ने निर्णय गरेको जनाउँदै बार एशोसिएसनका अध्यक्ष विजयकुमार यादवले मुद्दा फैसलामा अनियमितता बढेका कारण फैसलामा प्रभावित हुन थालेकाले इजलास बहिस्कार गर्नुपरेको बताए ।
गत जेठ २० गते जिल्ला न्यायाधीश नियुक्ति गर्दा न्याय परिषदले त्रुटिपूर्ण निर्णय गरेकाले त्यसको विरोधका लागि समेत इजलास बहिस्कार गरिएको उहाँले बताउनुभयो । १६ जना जिल्ला न्यायाधीश नियुक्ति गर्दा समावेशीको सिद्धान्तलाई पालना नगरिएको उनले आरोप लगाए ।
न्याय परिषदको गत जेठ २० गतेको निर्णय अनुसार यसअघि परीक्षामा सहभागी भएर उत्तीर्ण भएका १६ जनालाई जिल्ला न्यायाधीश नियुक्त गरेको थियो ।
अदालतका इजलास बहिस्कार हुँदा चालू आर्थिक वर्षमा जिम्मेबारी सरेर आएको दुई हजार ७५५ र नयाँ दर्ता भएको एक हजार ७८९ मुद्दामा जेठ महिनासम्म बाँकी रहेको कूल ३ हजार १३५ मुद्दा प्रभावित हुने भएको छ । जेठ महिनामा मात्र ३ सय २० मुद्दा फर्छयौट भएको अदालतले जनाएको छ ।