राष्ट्रिय धान दिवस मनाइदै : तर, वर्षेनी २ अरबको धान आयात
प्रकाशित २०७५ असार १५ शुक्रबार
791
Shares
काठमाडौं ‘धान उत्पादनमा वृद्धि र राष्ट्रको समृद्धि’ भन्ने मूलनाराका साथ १५ औँ धान दिवस विभिन्न कार्यक्रमको आयोजना गरी देशैभर मनाइँदै छ ।
यसवर्ष सरकारले काठमाडौंको दक्षिणकालीमा धान दिवसको आयोजना गरेको छ । कृषिको परनिर्भरता कम गर्न र किसानलाई हौसला पुर्याउन प्रत्येक वर्ष धान दिवस मनाइँदै आएको हो ।
कृषि मन्त्री चक्रपाणी खनाल कपिलवस्तुको तिलौराकोटमा धान रोपाई कार्यक्रममा सहभागि भएका छन्, भने राज्यमन्त्री रामकुमारी चौधरी सुनसरीमा रोपाई कार्यक्रममा सहभागि भइन । यसैगरी उपत्यकाको दक्षिणकालीमा सचिव डा.युवकध्वज जी सीले धान रोपाई गरेका छन् ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सिफारिसमा २०६१ साल मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट दिवस मनाउन थालिएको हो । २०६२ सालदेखि असार १५ गतेलाई धान दिवसका रूपमा मनाउन शुरु गरिएको हो ।
धान नेपालको प्रमुख खाद्यान्न बाली हो । धानको उत्पादन बढ्दा कूल गार्हस्थ्य उत्पादनमा वृद्धि हुन्छ । कृषि क्षेत्रबाट प्राप्त कूल गार्हस्थ्य उत्पादनमध्ये धानको योगदान १२ प्रतिशत छ । राष्ट्रिय उत्पादन (जीडीपी) मा कृषि क्षेत्रको योगदान भने ३३ प्रतिशत छ । नेपालमा सबैभन्दा धेरै धान उत्पादन झापा र सबैभन्दा कम मुस्ताङ जिल्लामा हुन्छ । नेपालमा चैते धान, वर्षे धान, घैया धानको खेती हुँदै आएको छ ।
देशको अर्थतन्त्रमा यसले उल्लेखनीय भूमिका खल्ने धान नेपालको प्रमुख खाद्यान्न बाली हो । कुल ग्राहस्थ उत्पादनको ७ प्रतिशत, कृषिमा २० प्रतिशत र कुल खाद्यान्न उत्पादनको ५५ प्रतिशत धानबालीले योगदान पुर्याएको छ ।
कृषि विभागका अनुसार नेपालमा झण्डै १४ लाख हेक्टर जमिनमा ४७ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ । तराईमा झण्डै ७० प्रतिशत, पहाडी क्षेत्रमा २६ प्रतिशत र हिमाली क्षेत्रमा ४ प्रतिशत धानबाली लगाइन्छ ।
धान खेती हुने क्षेत्रफलमध्ये ९० प्रतिशतमा रोपाइ गरिन्छ भने १० प्रतिशतमा मेसिनद्वारा धान रोपिन्छ ।
नेपालीलाई प्रतिवर्ष ६० लाख मेट्रिक टन धानको आवश्यकता पर्छ । प्राप्त तथ्याङ्कअनुसार नेपालमा धानको उत्पादन सरदर ५३ लाख मेट्रिक टन रहेको छ । तर गएको वर्ष भने यसको उत्पादन ४२ लाख मेट्रिक टनमा मात्र खुम्चन पुग्यो ।
अहिले प्रतिमहिना दुई अर्ब रुपैयाँको चामल आयात हुन्छ । सरकारले आगामी पाँच वर्षमा धानको उत्पादन दोब्बर वृद्धि गर्ने लक्ष्य लिएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत पकेट, ब्लक, जोन र सुपरजोनमार्फत क्षेत्र पहिचान गरी धानको उत्पादन वृद्धि गर्दै लैजाने नीति लिएको छ ।
विश्वको कूल जनसंख्यामध्ये आधाभन्दा बढी जनसंख्या एशिया महादेशमा बसोबास गर्छन् । एशियाका धेरै मानिसको आहार भात हो । त्यसैले सबैभन्दा धेरै धान उत्पादन गर्ने देश चीन र भारत एशियामै पर्छन् ।
नेपाल संसारकै अग्लो स्थानमा धान उत्पादन गर्ने देशमा पनि पर्छ । जुम्लाको छुमचौरमा उत्पादन हुने जुम्लीमार्सी धान विश्वमा प्रसिद्ध छ । तर, यो धान मागअनुसारको उत्पादन हुन सकेको छैन । नेपालको झापा जिल्लामा सबैभन्दा धेरै धान उत्पादन हुन्छ ।
द्वन्द्व र लडाइँका कारण सन् १९६६ मा एशियाका थुप्रै देशमा भोकमरी भएको थियो । त्यसैले संयुक्त राष्ट्रसंघ (युएन) ले सन् १९६६ लाई धानबाली वर्षका रूपमा घोषणा गरेको थियो । युएनले घोषण गर्नुअघि फिलिपिन्सको राजधानी मनिलामा मुख्य कार्यालय रहने गरी सन् १९६० मा अन्तर्रा्ष्ट्रिय धानबाली अनुसन्धान केन्द्र (इरीको) स्थापना भइसकेको थियो ।
उन्नत जात भित्र्याउने नाममा स्थानीय धानका जात प्रायजसो लोप भइसकेका छन् । कृषि सचिव डा युवकध्वज जिसीले नयाँ नयाँ धानको जातको पहिचान र सिफारिस, माटोको उर्वराशक्तिमा बढोत्तरी कायम गर्ने, रोग तथा किराको रोकथाम, उत्पादकत्व वृद्धिको उपाय पहिचान तथा सीप र प्रविधि हस्तान्तरण गर्ने उद्देश्यले इरीसँग सो सम्झौता भएको जानकारी दिए । इरीले हालसम्म आविस्कार गरेका ८२ नयाँ जातका धानको बीउमध्ये ५० थरीका बीउ नेपाललाई प्राप्त भएको छ ।