arrow

प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई राष्ट्रपतिको आग्रह

logo
प्रकाशित २०७५ असार १५ शुक्रबार
mahalekha-parichhek.jpg

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले महालेखापरीक्षकको प्रतिवेदनका सुझावलाई कार्यान्वयनमा उतार्न सरकारलाई आग्रह गरेकी छन् ।

महालेखापरीक्षकको कार्यालयको हीरक जयन्तीका अवसरमा शुक्रबार यहाँ आयोजित विशेष समारोहको उद्घाटन गर्दै उनले महालेखापरीक्षकको प्रतिवेदनमाथि पछिल्लो समय सरोकारवालाको चासो र जिज्ञासा वृद्धि हुँदै गएकाले त्यो प्रतिवेदनका सुझावलाई कार्यान्वयनमा उतार्न सरकारलाई आग्रह गरेकी हुन् ।


राष्ट्रपति भण्डारीले भनिन् , “जनता आफूले तिरेको करको अपचलन भएको छैन भन्ने कुरामा आश्वस्त हुन चाहन्छन्, जनताको यो अपेक्षा पूरा गर्न महालेखापरीक्षकको कार्यालय थप सवल र सक्षम बन्नुपर्छ र जनअपेक्षा पूरा गर्नेतर्फ लाग्नुपर्छ ।”

महालेखापरीक्षकको वार्षिक प्रतिवेदनले दिएका सुझावहरु बजेट तथा खर्च व्यवस्थापन, विकास निर्माण व्यवस्थापन, सार्वजनिक खरिद व्यवस्थापन, राजश्व प्रशासन सुधार, सार्वजनिक सम्पत्ति संरक्षण, सार्वजनिक सेवा प्रवाहलगायतलाई कार्यान्वयनमा उतार्नुपर्छ, उनले भनिन् ।

राष्ट्रपति भण्डारीले ती सुझाव कार्यान्वयनमा सरकार, संघीय संसद् तथा सरोकारवाला निकायलाई गम्भीर बन्न आग्रह गर्दै ती सुझाव कार्यान्वयनले आर्थिक सुशासन, भ्रष्टाचार नियन्त्रण, सुशासन र पारदर्शिता कायम गर्नमा सहयोग मिल्छ भनिन् ।

राष्ट्रपति भण्डारीले सार्वजनिक आर्थिक कारोवारमा बेरुजु अंकले ती निकायमा वित्तीय अनुशासनको स्थिति कमजोर रहेको उल्लेख गर्दै आर्थिक अनुशासनमा आउने ह्रासले सरकारको समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यमा बाधा उत्पन्न हुनसक्ने अवस्थालाई समयमै सम्बोधन हुनुपर्नेमा जोड दिइन् ।

मुलुकमा विकास र समृद्धिको वातावरण सिर्जना गर्न राज्यका सम्पूर्ण निकायको एकीकृत र समन्वयात्मक प्रयास हुनुपर्छ उनले भनिन् ।

विसं २०१६ असार १५ गते लेखापरीक्षणको माध्यमबाट मुलुकमा वित्तीय अनुशासन कायम गर्न तथा सरकारी आम्दानी तथा खर्च र कार्यहरुको नियमितता, मितव्ययिता, कार्यदक्षता र प्रभावकारितासमेतको आधारमा लेखापरीक्षण गर्न महालेखापरीक्षकको कार्यालय स्थापना भएको थियो ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले पूर्व महालेखापरीक्षक गेहेन्द्रनाथ अधिकारीलाई सम्मान एवं कार्यालयमा कार्यरत उत्कृष्ट सातजना कर्मचारीलाई पुरस्कृत गरेकी थिइन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ