चुरे क्षेत्रबाट बग्ने खोलानालामा पानीको बहाब खतराको तहभन्दा माथि जान सक्ने
सम्भावित क्षेत्रमा एसएमएस पठाउने तयारी
प्रकाशित २०७५ असार १६ शनिबार
143
Shares
काठमाडौं । बाढी पुर्वानुमान महाशाखाले चुरे क्षेत्रबाट बग्ने खोलानालामा पानीको बहाब खतराको तहभन्दा माथि जान सक्ने चेतावनी दिएको छ ।
विशेषगरी चुरे क्षेत्रबाट प्रवाह हुने सबै खोलानालाहरुमा बहाब खतरा तहभन्दामाथि जान सक्ने देखिएकाले तराई र चुरे क्षेत्रमा पर्ने सबै जिल्लाहरु र मध्यपहाडी क्षेत्रहरुमा मध्यमदेखि भारीसम्म वर्षा हुनसक्ने देखाएकाले सर्तकता अपनाउन महाशाखाले जनाएको छ ।
शनिबारदेखि मध्य तथा पश्चिम क्षेत्रका नदीहरू बागमती, रिउखोला, पश्चिम राप्ती, बबई, मोहना, मछेली लगायत चुरेबाट बहने अन्य नदीहरूमा वहाब बढ्दो क्रममा हुने तथा केहीमा भोली सम्म सतर्कता तह आसपास पुग्ने अनुमान भएकाले तटिय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ ।
विभागको बाढी पूर्वानुमान महाशाखाले नदीमा ३ दिनसम्मको जल सतहबारे प्रक्षेपण गर्दै आएको छ।
जल तथा मौसम विज्ञान विभागले एसएमएस सुचना प्रबाह गर्ने तयारी सुरु गरेको छ । नेपाल टेलिकम र एनसेलसँग समझदारी भएअनुसार बिभागले तत्काल बाढी प्रभाबित क्षेत्रमा सुचना प्रवाह एसएमएस मार्फत पठाउने तयारी गरेकोे हो ।
नदीमा पानीको सहतको स्थितिअनुसार जल तथा मौसम विज्ञान विभागले भिन्ना भिन्नै विषयवस्तु एनसेल र टेलिकमलाई दिनेछ र त्यहीअनुरूप कम्पनीले तोकिएको क्षेत्रमा रहेका व्यक्तिहरूलाई एसएमएस पठाउनेछ ।
बाढीपहिरोबारेका पूर्वसूचना मोबाइलमा एसएमएसमार्फत् उपलब्ध गराउने भनिए पनि सरकार र सेवा प्रदायक कम्पनीहरूबीच अझै सम्झौता भइनसकेपनि सम्भावित क्षेत्रमा सुचना पठाउन भने सुरु गर्ने विभागका महानिर्देशक डा ऋषिराम शमाले बताए । बाढीपहिरोबारेका पूर्वसूचनाका लागि एनसेलसँग हस्ताक्षर गर्ने कार्यक्रम मात्र बाँकी रहेको शर्माले बताए ।
पूर्वसचेतनाका लागि निःशुल्क एसएमएस सेवा नेपाल टेलिकम र एनसेलले कर्पाेरेट सामाजिक उत्तरदायित्व अन्तर्गत गत वर्ष पनि प्रदान गरेका थिए । गृहमन्त्रालयले हालै सार्वजनिक गरेको ‘विपद् जोखिम न्यूनीकरण राष्ट्रिय रणनीतिक कार्ययोजना २०१७–२०३०’ मा बाढी पूर्वानुमानगरी पूर्वसूचना दिने प्रणलीको विकास गर्ने उल्लेख छ ।
केही दिन अघि ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्’ बैठकले बाढीको पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउने व्यवस्था मिलाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको ध्यानाकर्षण गराएको थियो ।
विभागले गत वर्षदेखि बाढीपहिरोको उच्चजोखिम रहेका स्थानमा बस्ने परिवारलाई सम्भावित बाढीपहिरोको पूर्व चेतावनी सूचना दिन थालेको हो ।