arrow

भत्कियो ‘मौरीकोठे’ मजलिस घर, ढल्यो एक ईतिहास 

logo
यमुना भण्डारी,
प्रकाशित २०७५ असार १७ आइतबार
majalis_ghar_new.jpg

काठमाडौं । उपत्यकाकै मुटु क्षेत्रमा रहेको ‘मजलिस घर’ अब रहेन । भत्काईयो । २०७२ साल वैशाख १२ को भूकम्प नै मजलिस घर भत्काउनुको मूख्य कारण बन्यो । यो सँगै अब एउटा ईतिहास ढलेको छ । 

अहिले धमाधम मजलिस घर भत्काउँदैछन्, कामकाजीहरु । दिवंगत लेखक तथा साहित्यकार कमलमणि दिक्षितले मजलिस घरबारे निकै लेखेका छन् । हिमाल खबरमा ‘मजलिस घरबाट’ स्तम्भै राखेर धेरै श्रृंखला छापियो उनको । उनले भनेका छन्, ‘मजलिस’अरबी शब्द भए पनि दिल्लीको मुगल प्रभावले होला दुई–तीन सय वर्षअघि नै नेपाल प्रवेश गरेर रैथाने भई बस्यो। नेपालीले राम्रै पचाइसकेको थियो त्यल्लाई, ‘राजबजीरले पनि पत्याएका’ थिए ।’

उनले अगाडि भनेका छन्, ‘१९५० सालतिर वीरशमशेरले थापाथलीमा रहेको दरबार स्कूललाई रानीपोखरीको डिलमा सारेर त्यहाँ ‘मौरीकोठे’ लहरे घर बनाई राखिदिए । त्यसलाई साथी हुने गरी त्यहीं एउटा सभागृह पनि बनाइदिएर नाम राखे– ‘मजलिस घर’ । तर, १९९० सालको भैंचालोले मजलिस घरको भवनलाई क्यै नगरे पनि त्यसको नाम उडाइदियो । त्यो भवन ‘सभागृह’ भएर जुद्धसडकमा जुद्धशमशेरको सालिकैनिर पुगेर अडियो !’ पहिले त्यो मजलिस घर दरबार हाईस्कुलसँग जोडिएको थिएन । त्यो जोडिनुको पनि ठूलो कहानी छ, भन्दथे उनी । 

यस्तो थियो पहिलेको मजलिस घर

१९४२ सालमा वीरशमशेर महाराज भएपछि उनलाई त्यो स्कूल थापाथलीमा राखिरहनु उचित लागेन र उनले त्यसलाई आफ्नै दरबार नजिक सारे । उनले छेवैमा रानीपोखरीको डिलमा आकर्षक सेतो मौरीकोठे भवनसँगै लामो भवन निर्माण गराइदिए स्कूलका लागि । त्यो कुरा हो १९५० सालतिरको । 

भत्काउनु अघि त्यो मजलिस घरमा दरबार हाईस्कुल लेखिएको थियो । बरिष्ठ पत्रकार भैरव रिसाल मजलिस घरमा भएका कयौँ सभाहरुमा रिपोटिङ् गर्न गएको सम्झन्छन् । उनी भन्छन्, ‘त्यो घर पहिलेको सभागृह हो । त्यहाँ जहिले कार्यक्रम हुन्थ्यो । म धेरै पटक रिपोटिङमा गएको छु ।’ 

त्यही मेलोमा उनले गोपाल पाँडेको चरित्र समेत सुनाउन भ्याए । रिसालले ‘गोपाल पाँडे साह्रै चतुर’ भने । त्यही मजलिस घर । जो काठमाडौंको  महत्वपूर्ण ‘ल्याण्डमार्क’ भएर बसेको थियो, अहिलेसम्म । अब पुनः निर्माण गरिने घर कस्तो बन्छ, त्यो अहिल्यै भन्न सकिँदैन । 

पछि २०२८–०२९ सालमा नेपालमा ‘नयाँ शिक्षा’ प्रणाली लागू भएपछि धेरै स्कूलहरूका नाम परिवर्तन भए । रिसालले किस्सा सुनाएका गोपाल पाँडे नेपाली भाषाप्रेमी थिए । गोपाल पाँडेकै पहलमा दरबार मजलिस घरसँगै रहेको स्कूल ‘भानु माध्यमिक विद्यालय’ भयो । तर, पछि यो ‘दरबार स्कूल’ भयो । अहिले त्यसलाई भानु माध्यमिक विद्यालय धेरैले भन्दैनन् । संस्कृत पढ्नेहरुले मात्रै त्यसको महत्वबारे सोधी खोजी गर्छन् । 

१९९० सालको भैंचालोले दरबार स्कूलको छाना केही बिगारेको थियो भनिन्छ । कमलमणि अगाडि लेख्छन्, ‘छानाको मरम्मत गर्दा त्यसलाई केही अग्लो पारेर माथि सामानहरू पनि राख्न सकिने गरी होचो बुईंगल बनाइएको हो भनी बताउँथे हामीलाई स्कूलका बूढा पालेहरू । पालेहरूले अरू पनि भन्थे । पैले दरबार स्कूलमा बीचमा एउटा मात्र भर्याङ थियो रे ! भैंचालोपछि स्कूलका दुई कुनामा, उत्तर र दक्षिणतिर एउटा एउटा र्भयाङ थपिएको हो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ