अपांगता भएका व्यक्तिहरुको रोजगारीको अधिकार अनुगमन प्रतिवेदन, यस्तो छ अवस्था
प्रकाशित २०७५ असार १८ सोमबार
199
Shares
काठमाडौं । अपांगता भएका व्यक्तिहरुको रोजगारीको अधिकार अनुगमन प्रतिवेदन सार्वजनिक भएको छ । यो प्रतिवेदनमा अपांगता भएका व्यक्तिहरुले जागिर खाँदा भोगका अनुभवहरु समेटिएको छ । त्यसैगरी प्रतिवेदनले कानुनमा अपांगता भएका व्यक्तिको अधिकार र उनीहरुले भोगका समस्याबारेसमेत केलाइएको छ ।
राष्ट्रिय अपांग महासंघको रोजगार पट्टीका संयोजक सागर प्रसाईले काठमाडौं उपत्यकाका ८० जना रोजगारी पाएका अपांगता भएका व्यक्तिसंगको अन्तर्वार्तालाई आधार बनाएर प्रतिवेदन तयार पारिएको बताए ।
त्यसमध्ये ४२ जनासंग वान–टु–वान वार्ता गरेर र बाँकीसंग सामुहिक कुराकानीका आधारमा प्रतिवेदन तयार पारिएको हो । यो प्रतिवेदन हेर्दा अपांगता भएका व्यक्तिहरु पनि काम गर्न सक्छन् भन्ने एकातिर देखाइएको छ भने अर्कातिर उनीहरु हेपिनु परेका दृष्टान्त सार्वजनिक गरिएको छ ।
यो अनुसन्धानको परियोजनालाई क्यानडाको विश्वविद्यालयले सघाएको थियो । सो विश्वविद्यालयकी प्राध्यापक मर्सिया टिमुले अन्य मुलुकजस्तै नेपालले पनि अपांगता भएका व्यक्तिहरुको बारेमा अध्ययन थालेकामा खुशी व्यक्त गरिन् ।
प्रतिवेदनले शिक्षामा देखिएको पहुँचले नै जागिरका लागि सजिलो हुने देखाएको छ । महासंघ पनि अपांगता भएका व्यक्तिहरुलाई रोजगारी दिनका लागि निरन्तर लागिरहेको अध्यक्ष सुदर्शन सुबेदीले बताए । उनले कार्यक्रममा थुप्रैले रोजगारी पाएको र रोजगारीका लागि निरन्तर पहल भइरहेको बताए ।
नेपालमा कति जना अपांगता भएका व्यक्ति छन् र तीमध्ये कतिले रोजगारी पाएका छन् भन्ने तथ्यांक सरकारसंग पनि छैन ।