गंगामायाका छोराको हत्यारालाई उन्मुक्ती दिन पाइदैनः डा कोइराला
प्रकाशित २०७५ असार १९ मंगलबार
493
Shares
काठमाडौं। नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले गंगामाया अधिकारीको मुद्दालाई द्वन्द्वकालीन समयको घटनासँग जोडेर हेर्न नमिल्ने बताएका छन्।
वीर अस्पतालमा सोमबार पुगी आमरण अनशनमा रहनुभएकी गंगामायाको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै नेता डा कोइरालाले भने, “गङ्गामायाको जस्ता धेरै त्यस्ता मुद्दा छन्, ती मुद्दाहरुलाई द्वन्द्वकालीन घटनासँग जोडेर अपराधीलाई उन्मुक्ति दिन मिल्दैन ।”
अनशनको ३५ दिनमा गंगामायाको स्वास्थ्य जटिल बन्दै गएको अस्पतालले जनाएको छ । विसं २०६१ जेठ २४ जेठ छोरा कृष्णप्रसादको तत्कालीन माओवादी पक्षबाट हत्या गरिएको थियो ।
हत्या आरोपीको नाम किटानीसहित उनीहरुविरुद्ध २०७० चैत ३० देखि चितवन जिल्ला अदालतमा मुद्दा विचाराधीन छ । राजनीतिक संरक्षणमा मुद्दा फैसलामा ढिलाइ गरिएको र आफूले न्याय नपाएको गंगामायाले गुनासो गर्दै आएकी छिन्।
छोराको हत्यापछि लामो समयसम्म हत्या आरोपीलाई कारवाही नभएपछि अधिकारी दम्पती नै अनशन बसेकामा गंगामायाका श्रीमान् नन्दप्रसादको ३३४औँ दिनमा २०७१ असोज ६ गते वीर अस्पतालमा निधन भएको थियो । न्याय नपाउँदासम्म श्रीमान्को अन्तिम संस्कार नगर्ने भनिएपछि नन्दप्रसादको शव शिक्षण अस्पताल महाराजगञ्जको शवगृहमा राखिएको छ ।