झापाका नौ स्थानीय तह उच्च जोखिममा, प्रशासन भन्छ –आत्तिइहाल्नुपर्ने छैन
प्रकाशित २०७५ असार १९ मंगलबार
275
Shares
बनियानी । झापाका नौ स्थानीय तह बाढीको उच्च जोखिममा रहेका छन् । जिल्लाको झापा गाउँपालिका, गौरीगञ्ज, बाह्रदशी, कचनकवल, कमल, गौरादह नगरपालिका र शिवसताक्षी नगरपालिका बाढीको उच्च जोखिममा रहेको रेडक्रस झापाको आपत्कालीन कार्य सञ्चालन केन्द्रका फोकल पर्सन प्रकाश कार्कीले जानकारी दिए ।
त्यस्तै, भद्रपुर नगरपालिकाको वडा नम्बर १ र २ तथा कनकाई नगरपालिकाका केही वडा बाढीको उच्च जोखिममा रहेको केन्द्रले जनाएको छ । “सबैभन्दा धेरै झापाको दक्षिणी–पश्चिम क्षेत्र जोखिममा रहेको छ”, कार्कीले भने । यता, तीन दिनदेखि भइरहेको वर्षाले झापाका खोला तथा नदीमा पानीको बहाव बढेको छ ।
वर्षाका कारण यहाँको मेची, कनकाई, बिरिङ, कमल, बनियानी, टाङ्टिङलगायतका खोला तथा नदीमा पानीको बहाव बढेको हो । वर्षाका कारण खोला तथा नदीमा पानीको बहाव बढे पनि पहाडमा वर्षा नभएकाले डराउनु पर्ने अवस्था नरहेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले बताए ।
“यहाँको वर्षाले मात्र त्यति धेरै असर गर्दैन”, सभापति ढकालले भने, “पहाडमा पानी परेको छैन, अहिले नै डराइहाल्नु पर्ने अवस्था छैन ।” सम्भावित बाढीको जोखिमलाई मध्यनजर गरेर सम्पूर्ण तयारी गरिएको उनले बताए ।
मोबाइल फोनमा म्यासेज गर्ने, नदीमा पानीको बहावको अवस्था मापन गर्ने, बाढी आउने सम्भावना भए आवश्यक सतर्कता अपनाउनु पर्ने बताइएको छ । यसका लागि उद्धार टोली तयारी अवस्थामा रहेको पनि जनाइएको छ ।