arrow

एक दुई थान सभापतिको लोभमा सरकारसँग सम्झौता नगर्न सिटौलाले गराए देउवालाई सचेत

logo
प्रकाशित २०७५ असार १९ मंगलबार
krishna-sitaula-nsu3.jpg

काठमाडौं। नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले केहि थान संसदीय समितिको सभापितको लोभमा संवैधानिक व्यवस्थामा लेनदेन नगर्न पार्टी नेतत्वलाई सचेत गराएका छन्। संवैधानिक व्यवस्था, संसदीय अभ्यास र पद्धती छाडेर प्रतिपक्षले सरकारसँग लेनदेन अल्मलिए काँग्रेस झनै कमजोर बन्ने सिटौलाले बताए। 

पार्टीका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९५औं जन्मजयन्तिका अवसरमा नेपाल विद्यार्थी संघ प्रदेश ३ ले राजधानीमा गरेको ‘गणतन्त्र स्थापना, गिरिजाप्रसाद कोइरालाको नेतृत्व र यूवा विद्यार्थीको भूमिका’ विषयक अन्तक्रियामा बोल्दै सिटौलाले काँग्रेस कमजोर बन्दा संसदीय व्यवस्था नै कमजोर हुने भएकाले व्यवस्थालाई बलियो बनाउन काँग्रेस मोलाहिजामा नलागि शशक्त रुपमा प्रस्तुत हुनुपर्नेमा जोड दिए । 

‘सत्ता पक्षले त भुल्यो प्रतिपक्ष के हेरेर बस्या हो, म आफैं अचम्ममा छु, संसदीय समितिको लोभमा कांग्रेस लत्रिनु हुँदैन, संसदीय व्यवस्था बलियो बनाउँने जिम्मा कांग्रेसकै हो,’ नेता सिटौलाले भने । 

सभामुख र उपसभामुख फरक दलको हुनु पर्ने व्यवस्था संविधानले नै गरेको भन्दै सो विषयमा समेत कांग्रेसले शशक्त भूमिका देखाउनु पर्ने जनाए । 

राजनीतिक तथा आर्थिक प्रदुषण मडारिन थाल्यो

देशमा खतरनाक रुपमा सरकार, राजनीतिक दल, न्यायालय, आर्थिक लगायतका क्षेत्रमा राजनीतिक प्रदुषण मडारिन थालेको भन्दै सिटौलाले संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था टिकाउनका लागि पनि अब अर्को आन्दोलनको सुरुवात गर्नु पर्ने अवस्था सृजना हुँदै गएको जनाए । 

‘मुलुकमा सबैभन्दा खतरनाक रुपमा राजनीति प्रदुषण मडारिन थालेको छ, सरकार, राजनीतिक दल, न्यायालय सबै क्षेत्रमा सामन्ती संस्कार देखा पर्दै छ, यसको अन्त्य गर्न अब अर्को आन्दोलनको आवश्यकता देखिएको छ,’ उनले भने । 

सभापति निरंकुश बन्न मिल्दैन

स्वर्गीय गिरिजाप्रसाद कोइरालाले वर्तमान पार्टी सभापति शेरबहादुर देउवालाई पार्टी एकिकरण पछि पार्टींको दूई नम्बरको बरियतामा राखेर डोर्‍याएकाले नै पार्टी सभापति बनेको भन्दै सिटौलाले त्यही लिगेसीबाट प्रधानमन्त्री बनेका देउवा निरंकुश हुनु जायज नभएको पनि स्पष्ट पारे।

‘गिरिजाबाबुको उत्तराधिकारी भएर त्यही लिगेसीबाट देउवाजी सभापति हुँदै प्रधानमन्त्री बन्नु भएको हो, आज उहाँ नै पार्टीको घरमूली हो, उहाँ ठीक ठाउँमा नरहे पछि पार्टी कसरी एकताबद्ध हुन्छ, गिरिजाबाबुको चरित्र उहाँमा देखिएन,’ सिटौलाले थपे । 

उनले पार्टीलाई एकताबद्ध बनाउँने काम सभापतिको भएको भन्दै निरंकुश भएर पार्टी चलाउँन नसकिने जनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ