बाजुरा। नेपाल शिक्षक संघ बाजुराका नेता एवं बजेडी आधारभुत बिद्यालयका निमित्त प्रधानाध्यापक खडकराज जोशीमाथि सत्तारुढ दल नेकपाका स्थानिय कार्यकर्ताहरुले कुटपिट गरेका छन्।
असार १८ गते सोमबार अपरान्ह ४ बजेतिर बजेडी आधारभुत बिद्यालयको सामान ढुवानीका लागि बुढीगंगा नगरपालिका वडा नं ३ अन्तर्गत गुईगाड मुलबाटोमा गइरहेको समयमा सोही वडा बस्ने नेकपाका स्थानिय कार्यकर्ताहरु हंश राना, रामबहादुर राना र कुल अधिकारी लगायतका व्यक्तिको समुहले जोशी माथि कुटपिट गरेको हो।
केन्द्रमा नेकपाको नेतृत्वमा दुई तीहाइको सरकार रहेको भन्दै उनीहरुले आफूहरुको कुरा नमान्नेहरुको हालत जोशीको जस्तै बनाइने भन्दै अरुलाई पनि धम्क्याएका थिए।
जोशी माथि कुटपिट धरपकड र गालीगलौज गरेको कायरतापूर्ण हर्कत र घटना प्रति नेपाल शिक्षक संघ बाजुराले घोर भत्सर्ना गरेको छ। नेपाल शिक्षक संघ बाजुराका सचिव विपिन बिष्टले विज्ञप्ती निकाली घटनाको बिरोध गरेका छन्। उनले एकजना शिक्षकमाथि नभई सिंगो नेपाल शिक्षक संघ र सम्पूर्ण शिक्षकमाथि आक्रमण भएको बताए।
' देशमा लोकतन्त्र प्राप्ति भई कानुनी राज्य स्थापित भई सक्दा पनि द्धन्द्धकालको झल्को दिने गरी गुरिल्ला शैलीमा शिक्षक जोशी माथि भएको आक्रमणमा संलग्न अराजक समुहलाई तत्काल कार्बाही गर्न नेपाल शिक्षक संघ बाजुरा सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षण गर्छ ' विज्ञप्तीमा भनिएको छ ।
साथै दोषीमाथि यथासिघ्र कार्बाहीको प्रक्रिया अगाडि नबढाए पिडितहरुलाई न्याय दिलाउन सम्पूर्ण बाजुरेली शिक्षकहरु कडा कदम चाल्न बाध्य हुने शिक्षक संघले चेतावनी दिएको छ ।