मर्मत गर्ने निकायको टुंगो नलाग्दा जिर्ण बन्दै दोधारा चाँदनी झोलुंगे पुल
दीपेन्द्र बस्नेत
प्रकाशित २०७५ असार २० बुधबार
502
Shares
पुनर्वास । पश्चिम नेपालको सात नम्बर प्रदेशस्थित प्रमुख पर्यटकीय क्षेत्रका रूपमा रहेको एसियाकै दोस्रो लामो महाकाली नदीको झोलुंगे पुल उचित मर्मत सम्भार नहुँदा जीर्ण बन्दै गएको छ ।
पुलको दायाँबायाँ लगाइएका जाली निकै कमजोर भइ च्यात्तिएका छन् भने पुलको चारैतिर लगाइएका फलामे डोरी चुँडिन थालेका छन् । पुलको बीच भागमा बिछ्याइएका फलामे पातासमेत ठाउँ–ठाउँमा भाँचिएका छन् । झण्डै डेढ किलोमिटर लामो झोलुंगे पुल संरक्षणको अभावमा जोखिमपूर्ण बन्दै गएको छ ।
करिब १४ वर्षअघि महाकाली नदी पारीका २ गाविस दोधारा र चाँदनी (हाल महाकाली नगरपालिका) का जनतालाई सदरमुकामसँग जोड्न महाकाली नदीमा निर्माण भएको झोलुंगे पुल अहिले जिर्ण र भत्कने अबस्थामा पुगेको छ । पुल बनेपछि राहत पाएका स्थानीयबासी सरकारी पक्षको उदाशीनताका कारण झोलुङ्गे पुल जिर्ण बन्दै गए पछि निराश बनेका छन् । २०६१ सालमा बनेको झोलुंगे पुल डेढ दशक पनि नपुग्दै जीर्ण बनेको स्थानीय जेष्ठ नागरिक पदमराज भट्ट बताउँछन् ।
महाकाली नगरपालिकाका स्थानियलाई आवतजावतमा सहज मात्रै नभइ पुल पर्यटकीय महत्वको समेत रहेको छ । एशियाकै दोश्रो लामो झोलुंगे महाकालीको उक्त पुलको अबलोकन गर्न नेपालका विभिन्न जिल्ला र भारतीय पर्यटकहरु आउने गरेका थिए । मर्मत सम्भारमा सरकारी निकायको उदासिनताका कारण पुल अहिले भत्कने अबस्थामा पुगेको छ ।
पुलको ठाउँ–ठाउँमा लगाइएका नटबोल्ट निस्केका छन् । कतिपय स्थानमा पोल जोडिएको भागमा पनि क्षति पुगेको छ । पुल एक दुई वर्षमै भाँचिने हो कि भन्ने खतरा बढेको छ । पुल मर्मतका लागि भन्दै जिल्ला समन्वय समिति कञ्चनपुरले वर्षेनी कर उठाउँदै आएको छ ।
जिल्ला समन्वय समितिले कर उठौदै आए पनि मर्मतमा लगानी शून्य भए पछि पर्यटकीय महत्वको पुल दिनहुुँ जिर्ण बन्दै गएको छ । पुलको सबै काम स्थानीय विकास मन्त्रालय अन्तर्गतको डोलीडार नामक संस्थाले झोलुंगे पुल महाशाखा मार्फत मर्मत गराउने गर्दछ । महाशाखाले मर्मत गर्ने भनिए पनि अहिलेसम्म पुल मर्मत गरेको नदेखिएको जिल्ला समन्वय समितिका अधिकारी टेक चन्दले बताए ।
पुल वारी र पारी तीव्र रूपमा भइरहेको ढुंगा, गिट्टी र बालुवा उत्खननले समेत पुल जोखिममा पर्न थालेको हो । भीमदत्त नगरपालिका र महाकाली नगरपालिकालाई जोड्ने गरी महाकाली नदीमाथि बनाइको पुलको लम्बाइ एक हजार ४ सय ५२ मिटर छ ।
महाकाली नगरपालिकाका नगर प्रमुख बीर बहादुर सुनार आफुहरुले बेलाबेलामा अन्यत्रबाट प्राविधिक बोलाएर पुल मर्मत गर्ने गरेको दाबी गर्दै स्थानीय स्तरमै दक्ष प्राविधिकको अभाव भएको बताउँछन् ।
यता भिमदत्त नगरपालिकाकी उपप्रमुख सुशीला चन्द सिंहले पुल मर्मतको जिम्मा कस्को भन्ने यकिन नभएकै कारण नगरपालिकाबाट पर्याप्त बजेट विनियोजन गर्न नसकिएको बताउँछिन् ।
अहिले दैनिक करीब तीन हजार यात्रुले पुलबाट ओहोरदोहोर गर्छन् । करिब १० करोड लागतमा निर्माण गरिएको यो पुल बनेपछि सात नम्बर प्रदेशका लाखौँ नागरीक प्रत्यक्ष लाभान्बित छन् ।
पुल अवलोकन गर्न स्वदेश तथा विदेशबाट वर्षेनी हजारौैं पर्यटक आउने गरेका छन् । तर पुल जिर्ण बन्दै गएपछि यसबाट निम्तिने खतराको जिम्मेवारी कस्ले लिने ? समयमै स्थानीय, प्रदेश र केन्द्र सरकारले ध्यान दिनुपर्ने देखिन्छ ।