arrow

पूर्व राष्ट्रपति डा यादव जाँदैछन् गंगामायालाई भेट्न, गंगामायाको स्वास्थ्य थप जटिल 

logo
प्रकाशित २०७५ असार २० बुधबार
Gangamaya.jpg.jpeg

काठमाडौं । पूर्व राष्ट्रपति डा रामवरण यादव आमरण अनसनरत गंगामाया अधिकारीलाई भेट्न वीर अस्पताल जाने भएका छन् । उनी बुधबार अपरान्ह ४ बजे वीर अस्पताल जान लागेका हुन् । आफ्ना छोराको हत्यारालाई कार्वाहीको माग गर्दै वीर अस्पतालमा लामो समयदेखि रहेकी गंगामाया पछिल्लो पटक पाँच साता भन्दा बढी समयदेखि आमरण अनसनमा छिन् । उनको स्वास्थ्य पनि गम्भीर बन्दै गइरहेको छ । 

३७ दिनदेखि आमरण अनसनरत गंगामायाको अवस्था बिग्रदै गर्दा चिकित्सक यादव गंगामायाको अवस्था बुझ्न जान लागेका हुन् । गंगामायालाई भेट्न यसअघि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, अर्जुननरसिंह केसी, डा शेखर कोइराला लगायत पुगिसकेका छन् । 

अधिकारकर्मीहरु पनि दिनहुँ पुग्ने गरेका छन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर गंगामायाको अवस्था जानकारी गराउन खोजे पनि भेट्न नसकिएको गुनासो गरेका छन् । 

गत जेठ १५ गते मंगलबारबाट छोराको हत्यामा संलग्नमाथि कारवाहीको माग गर्दै आमरण अनशनमा बसेकी गंगामायाको स्वास्थ्य अवस्था ३७ औं दिनमा आइपुग्दा थप बिग्रिएको हो ।

पौडेललाई उपचारमा संलग्न स्वास्थ्यकर्मीले अनशन बसेको ३७ औं दिन भइसकेको पछिल्लो दुई दिन यता स्वास्थ्य पहिलेभन्दा जटिल भएर गएको बताएका थिए । शरीर सुन्निदाँ हातको नसा नभेटिएका कारण गंगामायालाई घाँटीको नसाबाट स्लाइन दिइएको पनि अस्पतालले जनाएको छ ।
 
अदालतको फैसला कार्यान्वयन गरेर छोराका हत्यारालाई कारवाही गराउन आमरण अनशनमा बस्दा पनि सरकारले कुनै वास्ता नगर्नु बिडम्बना भएको नेताहरुले बताउँदै आएका छन् । 

कांग्रेस नेता पौडेलले युद्धकालमा भएको घटना र व्यक्तीगत रिसिइवीलाई छानविन गर्न नसक्दा रातो झण्डे ओढेर सवै अपराध माफ हुने हराजकता बढेको बताए ।  

उनले अपराधीले माओवादीसंग टाँसिएर आफ्नो अपराध माफ पाउने अवस्थाले समाजमा मानवियता गुमाउँदै गएको टिप्पणी गरे । 
 
२०७२ पुष ५ गते सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गरेर कानुनी शासन लागू हुनुपर्ने माग गर्दै गंगामाया गत जेठ १५ गते वीर अस्पतालको पहिलो तलाको क्याविन नम्बर ७ मा आमरण अनशनमा बस्दै आएकी छिन् । 

अनशन शुरु गर्दा उनले छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न भनिएका छविलाल पौडेल, जानुका पौडेल, भिमसन पौडेल र रामप्रसाद अधिकारीलाई जेल सजायको माग राखेर आमरण अनसन शुरु गरेको बताएकी थिइन् । 

अधिकारी दम्पत्तिका कान्छा छोरा कृष्णप्रसाद अधिकारीलाई २०६१ साल जेठ २४ गते माओवादी कार्यकर्ताहरुले अपहरणपछि हत्या गरेका थिए ।

छोराका हत्यारालाई कारवाहीको माग राखेर अनशनमा बसेका उनका श्रीमान् नन्दप्रसाद अधिकारीको तीन सय ३४ औं दिनमा २०७१ असोज ६ गते निधन भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ