arrow

केपी ओलीको नाकैमुनि नेविसंघले तोड्यो निषेधित क्षेत्र

logo
प्रकाशित २०७५ असार २० बुधबार
nsu-nished.jpg

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यलय सिंहदरबार नजिकै नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सरकारले लगाएको निषेधित क्षेत्र तोडेको छ। माइतीघर मण्डलामा बुधबार दिउँसो २ बजे नेविसंघले निषेधित क्षेत्र तोडेको हो। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेविसंघका पूर्व अध्यक्ष प्रदिप पौडेलको नेतृत्वमा विद्यार्थीहरुको समूहले निषेधित क्षेत्र तोडेको हो । व्यापक प्रहरी परिचालनका बाबजुद पनि नेविसंघले निषेधित क्षेत्र तोडेको छ।

संसदमा समेत निषेधित क्षेत्र तोड्ने बारे नेपाली कांग्रेसले आन्दोलन गर्ने र विरोधमा कडा रुपले प्रस्तुत हुने बताएको छ। त्यही रणनीति अनुसार नेविसंघले बृहद प्रदर्शन गरेको हो। गृहमन्त्री रामबहादुर थापा बादलले जारी गरेको एक सातापछि नेविसंघले निषेधाज्ञा तोडेको हो। कार्यक्रमलाई प्रदिप पौडेल, नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले, शुसिल भट्टले सम्बोधन गरेका थिए। 

माइतीघरको निषेधाज्ञा तोडेपछि कांग्रेस केन्द्रीय सदस्य एवं नेविसंघका पूर्वसभापति प्रदीप पौडेल सरकारको कामको विरोध गर्न पाउनुपर्ने बताए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विगतमा यही ठाउँमा बसेर विरोध गरेको स्मरण गराउँदै अहिले सत्तामा पुगेपछि विरोध गर्न नदिने प्रवृत्ति गणतन्त्रविरोधी भएको आरोप पनि लगाए। 

ओलीले विगतमा बयलगाडामा चढेर अमेरिका गइन्छ भन्ने भनाइ यही माइतीघर मण्डलाबाट भनेका भन्दै उनले अहिले आफ्नो आन्दोलनको समयमा यही ठाउँलार्इ निषेधाज्ञा लगाएर सरकार निरंकुश बन्न खोजेको बताए। नेता पौडेलले पहिला ज्ञानेन्द्रले पनि यस्तै गतिविधि गर्दा उनलार्इ निरंकुश ठहर गरिएको भन्दै यही कुरा दोहोर्‍याउँदा ओली कसरी स्वतन्त्रतावादीरु भनी प्रश्न गरे। उनले, ' हामीले राजा ज्ञानेन्द्रलार्इ त फाल्यौँ, ओली टिक्लान र?' भन्दै आक्रोश पनि व्यक्त गरे। उनले ओली सरकारको कार्यशैलीप्रति शंका व्यक्त गर्दै भने, 'ओली गणतन्त्रवादी होइनन् भन्ने पहिला नै शंका लागेको थियो, अहिले उनका गतिविधिले यसलाई प्रमाणित गरिदिएको छ।'

पौडेलले माइतीघर मण्डला सबैको साझा चौतारी भएकाले शान्तिपूर्ण आन्दोलनका कार्यक्रम गर्न पाउनुपर्ने बताए। उनले लोकतन्त्र रक्षाका निम्ति कांग्रेस जस्तोसुकै आन्दोलन गर्न पनि पछि नपर्ने उद्‌घोषसमेत गरे। त्यस्तै, कांग्रेस नेता पौडेलले विगत लामो समयदेखि वीर अस्पतालमा अनसन बसिरहेकी गोरखा भुजेलकी गंगामाया अधिकारीको माग सम्बोधन गर्न पनि आग्रह गरे।

अबला नारीको जीवनरक्षाका लागि सरकारले ध्यान नदिएको भन्दै उनले अधिकारीका छोरा कृष्ण अधिकारीको हत्यारालार्इ यथाशीघ्र कारवाहीको दायरामा ल्याउन माग गरे। उनले अनसनरत डा गोविन्द केसीको मागलार्इ उचित सम्बोधन गरी जीवनरक्षा गर्न पनि सरकारसँग माग गरे।

उनिहरुले गंगामाया अधिकारी, डा. गोविन्द के.सी लगायतका माग सम्बोधन गर्नुपर्ने माग राखेका थिए। उनिहरुले माइतीघर मण्डलाको मध्य भागमा तीन पटक घुमेर प्रदर्शन गरेका थिए। सरकारले आन्दोलन र नारा लगाउन पनि निश्चित क्षेत्र तोकेपछि नेविसंघ आन्दोलित भएको हो। यसअघि मंगलबारको एक कार्यक्रममा कांग्रेस नेताहरु कृष्णप्रसाद सिटौला र गगन थापाले नेविसंघले निषेधित क्षेत्र तोडेको हेर्ने मन भएको बताएका थिए।

निषेधित क्षेत्र तोड्ने क्रममा नेविसंघ र प्रहरीबीच भएको सामान्य झडपमा दुई नेविसंघ कार्यकर्ता घाइते भएका छन्। घाइते हुनेमा अर्वत खड्का र निरञ्जन थापा रहेका छन्। अर्वत खड्काको वीर अस्पतालमा उपचार भइरहेको अस्पतालमा रहेका नेविसंघका उपाध्यक्ष रामप्रसाद अधिकारीले जानकारी दिए। 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ