'राज्यलाई ड्यासिङ दिन सक्ने विप्लवको जस्तो पार्टी नेपालमा आवश्यक छ'
सुदीप बर्देवा,
प्रकाशित २०७५ असार २१ बिहिबार
892
Shares
काठमाडौं । असार १९ गते मंगलबार दिउँसोको २:१५ बजेको थियो अनामनगर बाट त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालय प्रवेश गर्दैगर्दा विद्यालयको सुरक्षाका लागि गेटमा बसेका सुरक्षाकर्मी दाइलाई विद्यालयका प्रधानाध्यापक, हेरम्बराज सर कता हुनुहुन्छ ? भनेर सोधेँ उता काउन्सिलिङ रुममा हुनुहुन्छ भन्ने जवाफ पाएँ ।
बाइकलाई सोझै पार्किङस्थलमा राखेर काउन्सिलिङ रुममा प्रवेश गर्दैगर्दा हेरम्ब सर आफ्ना तीन-चारजना साथीहरुसँग कुराकानी गरेर बसिरहेका थिए । विश्व निकेतन माद्यामिक विद्यालय र हेरम्बराज कँडेल सरसँग को मेरो निकै पुरानो सम्बन्ध हो ।
उसो त उपत्यकाभित्रका अधिकांश सामुदायिक विद्यालयहरुलाई र त्यहाँका शिक्षक-शिक्षिकाहरुलाई म राम्रो सँग चिन्छु । त्यसमध्ये पनि त्रिपुरेश्वरमा रहेको यो विद्यालय देशकै उत्कृष्ट सामुदायिक विद्यालयमध्येको एक हो । यो विद्यालय वास्तवमै विद्यार्थी र अभिभावक को रोजाई को विद्यालय पनि हो ।
यहाँ २५ सय विद्यार्थी हरु अध्ययन गर्छन् । पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीहरुको आकर्षण घटिरहेको बेला यो विद्यालयमा अध्ययनको आकांक्षा बोकेर आउने सबै विद्यार्थीहरुलाई भर्ना लिनसक्ने अवस्था छैन । यो विद्यालय सँग म विगत लामो समयदेखि सार्वजनिक शिक्षा सुधार गर्नुपर्छ भनेर दिनरात आवाज उठाइरहेको मान्छे हुँ । विश्वनिकेतन को यो सफलता को कारणले गर्दा पनि यो विद्यालयप्रति अझ धेरै मेरो सामिप्यता छ ।
विद्यालयको सुरक्षाका लागि गेटमा बसेका सुरक्षाकर्मी दाइले सुझाएअनुसार काउन्सिलिङ रुम मा पुगेँ । नमस्कार गर्दै भित्र प्रवेश गर्दैगर्दा एक जना चिनेको झैं लाग्ने व्यक्त्तिको अनुहार झलक्क देखियो म प्रवेश गर्नु र उनी बाहिर निस्किनु एकै चोटि भयो । शायद उनको अर्जेन्ट फोन आएको हुनु पर्छ ।
हेरम्ब सरसँग अनौपचारिक कुराकानी हुन थाल्यो । एसईई परिक्षामा विश्वनिकेतनको परिणाम, कक्षा ११ मा भर्नाको समय भएकोले विद्यालयमा विद्यार्थीहरुको फ्लोलगायतका विषयमा कुरा गरी सक्न नपाउँदै फेरि उही अनुहारको काउन्सिलिङ रुममा प्रवेश भयो । त्यति चर्चित कलाकारलाई मैले नचिन्ने कुरै भएन चिनिहालेँ ।
हेरम्ब सरले मनोज गजुरेल तिर हेर्दै उहाँ सुदीप बर्देवा, रेडियोको राम्रो पत्रकार, शिक्षा क्षेत्रमा निकै कलम लामो समयदेखि चलाइरहनु भएको, अझ सार्वजनिक शिक्षाको वृद्धि विकासको निम्ति त उहाँको योगदान अझ बढी नै छ भन्दै चिनाए । हेरम्ब सरले यति भन्दै गर्दा मैले पनि मनोज दाइ नमस्कार भनेर आदर भाव प्रकट गरी सकेको थिएँ । मैले नमस्कार गर्दैगर्दा दाइले हाँस्दै आफ्नो हात अगाडि सार्दै भने ‘ल काम्रेड हात मिलाउ’ शायद उनलाई रेडियो मिर्मिरे कस्तो रेडियो हो भन्ने थाहा रहेछ ।
हँसिलो मुहार, हसेउली गरिरहने स्वभावका गजुरेलसँगको भेट यो नै मेरो लागि पहिलो थियो । चिनजानकै चरणमा हामीबीच धेरै कुराहरु भए । घर कता हो ? बसाइ कता हो ? रेडियोमा कति बर्ष भयो ? लगायतका प्रश्नहरु मतर्फ तेर्सिए । मैले पनि सहजरुपमा उत्तर दिएँ । मैले पनि दाई को घर, परिवार , अहिले बसाइ , कलाकारिता , जीवनशैली सबै सबै कुरा हरु सोधँे । म पेसा ले पत्रकार भएकोले अन्तर्वाता शैीिलमै अन्तरङ्ग कुराकानीहरु हुनु अस्वाभाविक भएन । उनी त् झन सयौं पत्रकार सामना गरिसकेका एक कलाकार हुन्, उनलाई अफ्ठेरो हुने कुरै भएन ।
रेडियोमा काम गर्न थालेको १० वर्ष भयो भन्दा उनी एकछिन अकमक्क परे । लगातार एउटै रेडियोमा काम गरी रहँदाका फाइदा र बेफाइदाका बारेमा सोध्न थालेँ । मैले भने, “पार्टी ले खटायको कार्यक्षेत्रमा काम गएको हो जागिर खाएको होइन ?” उनले भने, “काम्रेड को रेडियो त हो, तर अहिले कता छ ? मैले सहज भने सबैभन्दा सच्चा कम्युनिस्ट को हात मा छ ।
फेरी नबुझे झैं गरेर सोधें , सच्चा कम्युनिस्ट भनेको ? मैले पनि घुमाउरो भाषा मै भनिदिएँ, अहिले राज्यले राजनीतिक मुद्धा उठाएकै भरमा सबैभन्दा बढी धरपकड जुन विप्लव पार्टीका साथीहरुलाई गरिरहेको छ, उही पार्टीको हातमा छ । अनौपचारिक कुराकानी कै क्रममा राजनीतिक विषयले प्रवेश गर्यो हाम्रो बसाइमा । उनले सोधे, “अहिले कस्तो छ तपाईंहरुलाई ?” मैले भने, “सहज छैन, तपाइँले बुझ्नु भएकै छ अहिले राज्यले कति लखेटी रहेको छ ।”
यति कुरा भएपछि वर्तमान सरकारको काम कारबाही को विषयमा कुराकानी भयो । उनी पनि अहिलेको सरकारको काममा सन्तुष्ट रहेनछन् । उनी भन्दै गए, सरकारले यो पनि गरेन त्यो पनि गरेन, खाली लोकप्रियता कमाउने ध्यानमा मात्र लागेको देखिन्छ, जनजीविकाको सवालमा ध्यान गएको देखिँदैन, बाढीले तराई डुबाएको छ, बर्षेंनी, तर पनि कुनै दीर्घकालीन समाधान खोज्न सकेको छैन सरकारले । बरु जनजीविकाको विषयमा त तपाइँहरुकै पार्टी लागिरहेको छ ।
भ्रष्टाचारी, सामन्त र बदमाशहरुलाई जनकारबाही गरिरहनु भएको छ । यो देशमा तपाइँहरुको पार्टीको आवश्यकता छ, जसरी सरकारमा प्रतिपक्षको भूमिका हुन्छ, त्यस्तै समाजमा सरकारले एकलौटी ढंगले गर्न खोजेका गलत कामहरुको विपक्षमा तपाइँहरुको पार्टीले भूमिका खेल्नुपर्छ । अहिले पनि यो राज्यलाई सबैभन्दा बढी चिन्ता तपाइँहरुकै पार्टीको छ । तपाईंहरुको पार्टीले राज्यलाई राम्रै ‘ड्यासिङ’ दिइरहेको छ ।
गजुरेलले यति भन्दैगर्दा सँगै रहेका विश्वनिकेतन माद्यामिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले पनि थपिहाले, देश र जनताको पक्षमा काम गर्ने जो कोहीको काममा सहानुभूति हुन्छ । गजुरेलसँगको पहिलो भेटमा झण्डै २ घण्टा कुराकानी भयो । कुराकानी अनौपचारिक नै भए पनि देश र जनताको वर्तमान अवस्था र भविष्यको बारेमा उनीसँग रहेको चिन्ता र उनीसँग रहेको झिनो आशा पूरा गर्न कुनै न कुनै राजनीतिक दलले साँच्चिकै यो देश बनाउन कम्मर कस्नुपर्ने अवस्था रहेको छर्लङ्ग हुन्छ ।