arrow

राप्तीसोनारी गाउँपालिकाले ल्यायो ६४ करोडको बजेट

logo
प्रकाशित २०७५ असार २३ शनिबार
rapti-sonari-gaunpalika-budget.jpg

बाँके। राप्तीसोनारी गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ का लागि नीति तथा कार्यक्रम र अनुमानित बजेट प्रस्तुत गरेको छ । गाउँपालिका कार्यालय अगैयामा शुक्रबार आयोजित तेस्रो गाउँ सभामा आर्थिक वर्ष २०७५/७६ का लागि ६४ करोड ८६ लाख ७२ हजार रुपैयाँको बजेट सार्वजनिक गरिएको हो । गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले कुल पुँजीगततर्फ २८ करोड ९७ लाख २२ हजार, चालुतर्फ ८ करोड ३८ लाख ५० हजारको बजेट प्रस्तुत गरिन। 

यस्तै गाउँपालिकाको आन्तरिक तर्फको आम्दानी १ करोड २४ लाख ८६ हजार, राजश्व बाँडफाँडबाट प्राप्त रकम (आन्तरिक) २ करोड गरी कुल ३ करोड २४ लाख ८६ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरिएको छ । संघीय सरकारतर्फबाट वित्तिय समानीकरण अनुदान १६ करोड ४७ लाख, सःशर्त अनुदान १९ करोड ५५ लाख, राजश्व बाँडफाँडबाट १४ करोड ६० लाख ४९ हजार, सामाजिक सुरक्षा अनुदान ७ करोड, प्रदेश सरकारतर्फबाट वित्तिय समानीकरण अनुदान ४८ लाख ९८ हजार, सःशर्त अनुदान ९६ लाख, सवारी साधन करको अनुमानित राजश्व बाँडफाँट १ करोड ४३ लाख ९ हजारको बजेट प्रस्तुत गरिएको छ। 

गाउँपालिकाले नीति तथा कार्यक्रममा पुर्वाधार विकासतर्फ सडक यातायात, भौतिक विकास आवास तथा बस्ती विकास, बिद्युत तथा वैकल्पिक उर्जा, सूचना सञ्चार, आर्थिक विकासतर्फ कृषि सिचाई पशुपालन, पर्यटन विकास, उद्योग व्यापार र सहकारीलाई जोड दिएको छ । यसैगरी सामाजिक विकासतर्फ युवा तथा खेलकुद, धर्म सँस्कृति कला साहित्य, गैसस तथा सामाजिक परिचालन, शिक्षा, लक्षित वर्ग, स्वास्थ्य तथा सरसफाईलाई प्राथमिकतामा राखिएको छ । 

संस्थागत विकास सेवाप्रवाह र सुशासनतर्फ क्षमता विकास, विकास प्रशासन, पारदर्शिता र जवाफदेहिता, अनुगमन मुल्यांकनलाई नीति तथा कार्यक्रममा राखिएको छ । वातावरण तथा विपद व्यवस्थापनतर्फ भू संरक्षण जलाधार व्यवस्थापन, वातावरण र जलवायु परिवर्तन अनुकुलन, भू उपयोग तथा हरियाली व्यवस्थापन तथा वित्तिय व्यवस्था तथा विधेयकतर्फ वित्तिय अनुशासन पारदर्शिता र जवाफदेहीतालाई सशक्त बनाउन वित्तिय जोखिम न्यूनिकरण गर्न र सेवाप्रवाहलाई छिटो छरितो एवं पारदर्शी बनाउन नागरिक वडापत्रको व्यवस्था गरिने, आयोजना निर्माण स्थलमा सूचना पाटी, सार्वजनिक सुनुवाई, सामाजिक परिक्षण जस्ता कार्यलाई निरन्तरता दिइने उल्लेख छ । 

गाउँपालिकाले आर्थिक विकास र गरिवी निवारणमा प्रत्यक्ष योगदान पुर्‍याउने, उत्पादनमुलक र छिटो प्रतिफल दिने योजना, राजश्व परिचालनमा योगदान पुर्‍याउने, सेवाप्रवाह, संस्थागत विकास र सुशासनमा योगदान पुर्‍याउने, स्थानीय स्रोत साधनमा आधारित भई जनसहभागिता अभिवृद्धि गर्ने, लैंगिक समानता सामाजिक समावेशीकरणको अभिवृद्धि गर्ने, दिगो विकास वातावरण संरक्षण र विपद व्यवस्थापनमा योगदान पुर्‍याउने, समुदायलाई विपद तथा जलवायु परिवर्तन उत्थानशील बनाउने, स्थान विशेषको संस्कृति र पहिचान प्रवद्र्धन जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । प्रस्तुत नीति तथा कार्यक्रमलाई गाउँ सभाले स्वीकृत गरेको छ । 

सभाको अध्यक्षता गर्नु भएका गाउँपालिका अध्यक्ष लाहुराम थारुले प्रस्तुत नीति तथा कार्यक्रम र अनुमानित बजेटबारे छलफलका लागि सभा यही असार २८ गते दिउँसो १ बजे पुनः बस्ने भएकाले उपस्थितीका लागि सभासदलाई आब्हान गरेका छन्।  छलफल पश्चात नीति तथा कार्यक्रम र अनुमानित बजेटमा समावेश गरिने अध्यक्ष थारुले बताए। गाउँसभामा विभिन्न सभासदहरुले आफ्नो सल्लाह, सुझाव दिएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ