arrow

अमेरिका र चीनबीच व्यापारयुद्ध सुरु, विश्वबजारमा कस्तो असर ? 

logo
प्रकाशित २०७५ असार २३ शनिबार
trade-war-china-USA.jpg

एजेन्सी। अमेरिका र चीनको बीचमा शुक्रबार व्यापारयुद्ध सुरु भएको छ। विश्वको सबैभन्दा धनी मुलुकहरुको बीचमा व्यापारयुद्ध सुरु भएको हो। दुवै मुलुकहरुले आफ्नो मुलुकमा आयात हुने एकअर्काका सामग्रीहरुमा ३४ अर्ब डलरबराबरको कर बढाएका छन्। यो व्यापारयुद्धको असर विश्व बजारमा महँगी बढाउनका लागि सहायक हुनसक्ने देखिन्छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले जस्तालाई त्यस्तै गर्ने नीति जारी राखेको खण्डमा आगामी दुई सातामा कर बढाएर ५० अर्ब डलरमा पुर्‍याउने चेतावनी दिइसकेका छन्। 

ट्रम्पले चीनले आफ्नो चेतावनीलाई अस्वीकार गर्दै अघि बढे भने यसअघिको दुई खर्ब डलरको चाइनिज सामग्रीहरुमा कर लगाउने चेतावनी दिएका छन् साथै पाँच खर्ब डलरको चिनियाँ सामग्रीहरुमा कर लाग्नसक्ने चेतावनी दिइएको छ।

यो कर बढाउने निर्णइ अमेरिका निर्यात हुने चिनियाँ सामग्रीहरुको ठुलो हिस्सा हो। अमेरिका अहिले चीनसँगको करिब तीन खर्ब ७५ डलरबराबरको व्यापारघाटाको कारण आर्थिक अवस्था कमजोर बन्न पुगेकोमा विश्वास गर्छ। यस्तोमा चिनियाँ सामग्रीहरुको आयातमा दबाब बढाउने खेलमा अमेरिका लागेको हो।

यद्यपि चीनले अमेरिकाको कुनै पनि दबाब बढाउने किसिमको चालमा नआउने स्पष्ट पारेको छ। विश्लेषकहरुका अनुसार चीन आफ्नो व्यापारिक अवस्था बलियो राख्नका लागि अमेरिकी कम्पनीहरुलाई आफ्नो मुलुकमा थप प्रतिबन्ध बढाउने योजनामा अघि बढ्नसक्छ। यसले चीनमा काम गरिरहेका एप्पल तथा स्टारबक्सजस्ता कम्पनीहरु प्रभावित बन्न सक्छन्। यस्तोमा यसले अवस्थालाई व्यापारयुद्धभन्दा पनि बाहिर ल्याउन सक्छ। 

चीनको वाणिज्य मन्त्रालयका अनुसार अहिले अमेरिका लगातार रुपमा चीनको विश्वव्यापी बजारमा हमला गरिरहेको छ। चिनियाँ मन्त्रालयले चीनमाथि प्रतिबन्ध लगाउने नाममा पूरै विश्वलाई नै समस्यामा धकेलिरहेको बताएको छ। साथै चीनले आफ्नो अमेरिकाले आफ्नो प्रतिबद्धताबाट कहिल्यै पनि नझुक्ने बताएको छ। 

व्यापारयुद्ध अझै फैलिनसक्छ 
व्यापारयुद्धको संकट अझै थप फैलिनसक्ने देखिन्छ। अमेरिकाले आफ्ना सबै प्रमुख व्यापारिक साझेदार मुलुकहरुसँगको व्यापारिक कर बढाउने निर्णय गरिसकेको छ। जसमा चीन, क्यानडा, मेक्सिको, युरोपियन युनियन, जापानलगायतका मुलुकहरु रहेका छन्। जापानबाहेक अन्य सबै मुलुकहरुले जवाफी कर बढाइसकेका छन्। 
अमेरिकाले सन् २०१७ को समग्र अवधिमा २४ खर्ब डलरको सामग्रीहरु आयात गरेको थियो। अमेरिकी उपभोक्ताहरुको लागि भने करमा वृद्धि हुनु कुनै ठुलो समस्या होइन तर पछिल्लो समय आयातित सामग्रीहरुको मूल्य बढिरहेको छ। 

यस्तो अवस्था आगामी दिनमा पनि जारी रहन्छ भन्ने छैन तर अहिलेको अवस्थामा मामिलामा सुल्झिन नसकेको खण्डमा अमेरिकाले आफ्ना व्यापारिक सहयोगी मुलुकहरुसँगको कर बढाएर आठ खर्ब डलरसम्म पुर्याउन सक्छन्। यदि यस्तो भएमा सबैले यसको नकारात्मक अवस्थाको सामना गर्नुपर्ने हुन्छ।

चीनको ३४ अर्ब डलरका सामग्रीहरुमा शुक्रबार आधारातबाट कर बढाउने नीतिको कार्यान्वयन सुरु भइसकेको छ। अमेरिकाले अघि सारेको उत्पादनहरुमा धेरै औद्योगिक सामग्रीहरु रहेका छन्। चीनले पनि अमेरिकाबाट आयात हुने कृषिजन्य सामग्रीहरु तथा अन्य केही सामग्रीहरुमा कर बढाउने निर्णय गरेको छ।

यस किसिमको व्यापारयुद्धले आगामी दिनमा ट्रम्पको राजनीतिक आधारमा पनि समस्या उत्पन्न हुनसक्छ। यसअघि नै उपभोक्ताहरुले यो व्यापारयुद्धले कुनै पनि मुलुकका लागि फाइदा नपुग्ने भन्दै चेतावनी दिएका थिए। साथै उत्पादकहरुलाई नोक्सानी पुग्नसक्ने बताइएको छ। अमेरिकी विज्ञहरुले यो योजना ठिक नरहेको बताएका छन्। अहिले नौ सय कम्पनीहरु चिनियाँ कम्पनीहरुसँग बराबरीको लागि संघर्ष गरिरहेको अवस्थामा यो योजनाले आगामी दिनमा उनीहरुको चीनको व्यापारमा नकारात्मक किसिमको प्रभाव पर्नसक्ने बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ