arrow

डा. केसी बचाउन सरकारविरुद्ध अन्तिम हतियार प्रयोग गर्छौं : अध्यक्ष श्रेष्ठ

डाक्टर केसीको स्वास्थ्योपचारको लागि सरकार हमेशा तयार छ : प्रमुख सचेतक गुरुङ्

logo
प्रकाशित २०७५ असार २३ शनिबार
dr.kc-hospital-jumla_.jpg

काठमाडौं। नेपाल चिकित्सक संघका अध्यक्ष मुक्ति श्रेष्ठले सरकारले दुई तिहाईको दम्भ देखाएर पेलेरै लैजाने सोचेको भए त्यो गलत हुने भन्दै अनशनरत डाक्टर गोविन्द केसीका माँगप्रति राज्य संवेदनशील हुनुपर्ने बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै श्रेष्ठले अनशनरत डाक्टर गोविन्द केसीलाई बचाउनको लागि सरकारविरुद्ध अन्तिम हतियार प्रयोग गर्ने चेतावनी समेत दिए । डाक्टर केसीसँग वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीदेखि लिएर पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा कसले सम्झौता गरेन त भन्दै उनले प्रश्न समेत तेर्साए ।

उनले डाक्टर केसी अनशन बसेको आज ८ दिन बित्दापनि सरकारका मन्त्रीहरु संवेदनशील बन्नुको सट्टा उनीहरुले उच्छृङखल अभिव्यक्ति दिएको आरोप लगाए । उनले भने,‘हामीले अहिले मुखले भन्छौं, यदि मुखले भन्दापनि भएन भने हामी हाम्रा हतियारहरु प्रयोग गर्छौं, यदि त्यसलेपनि भएन भने अन्तिम हतियार प्रयोग गर्छौं।’

डाक्टर केसीले १५ औ पटक अनशन बस्नुपर्ने अवस्था आउनु नै दु:खद् भएको टिप्पणी गरे । उनले भने,‘उहाँ अहिले १५ औं अनशनमा हुनुहुन्छ, यो अवस्था आउन दिनु नै दुर्भाग्य हो।’ सरकार र यसको नेतृत्वमा बसेका नेताहरुको असक्षमताका कारण आज यस्तो अवस्था आएको उनको आरोप छ ।
 
अध्यक्ष श्रेष्ठले भने,‘सरकारमा बसेका खासगरी लिडरले समस्याको निक्र्यौल सही ढंगले गर्न नसक्दा आज यो अवस्था आएको हो, यो अत्यन्तै दु:खदायी कुरा हो, आज डाक्टर केसी जुम्लामा गएर अनशन बस्नु परेको छ, उहाँले स्वास्थ्य सेवा सबै जिल्लामा बराबरी पुर्याउनुपर्छ भन्नुभएको हो, यो के गलत माँग हो र ?’

डाक्टर केसी नेपाल चिकित्सक संघको आजिवन सदस्य भएको उल्लेख गर्दै उनले भने,‘हामीलाई थाहै नदिई उहाँ कतिचोटी अनशन बस्नुभएको छ, तर हामी उहाँलाई मर्न दिन्नौं, पेशागत हकहितको लागि हामी एक ढिक्का भएर उभिन्छौं।’ डाक्टर केसीले राखेका स्वास्थ्यसम्बन्धी र आफ्नो संगठनको दायराभित्र पर्ने सबैखाले माँग र विषयहरुप्रति आफूहरुको सहमति रहेको पनि उनले विश्वास दिलाए । यद्धपी उनले केसीले यसअघि उठाएका राजनीतिक माँगहरुप्रति आफूहरुको कुनै सहमति नरहेको जिकिर गरे ।

डाक्टर केसी अहिले १५ औं अनशनमा बस्दै गर्दा सरकारका विभागीय जिम्मेवारीमा रहेका मन्त्रीहरुले प्रयोग गर्ने शब्द अत्यन्तै चिन्ताजनक रहेकोले प्रधानमन्त्रीले मन्त्रीलाई नै लगाम लगाउनुपर्ने बेला आएको उनको भनाई छ । उनले भने,‘अरे बाबा, डाक्टर केसीले त कम्युनिष्टहरुले उठाउँदै आएका माँगहरु उठाउनुभएको छ, त्यसैले सरकारले उहाँको जीवन रक्षाको लागि यथाशक्य वार्ता गर्नुपर्छ, यसको लागि एउटा समिति बनाउनुपर्छ, हामीलाईपनि मध्यस्थकर्ताको रुपमा राख्दा हामी त्यो भूमिका निर्वाह गर्न हरदम तयार छौं।’

श्रेष्ठले हिजो विगतमा डाक्टर केसीसँग सरकारहरुले गरेका सबैखाले सहमतिहरु अब कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उनले भने,‘हिजो बनेका सहमति र दस्तावेजहरु अब कार्यान्वय गर्नुपर्छ, ती सबै सहमतिहरु कार्यान्वयन गराउनको लागि सरकारले तत्काल प्रतिबद्धता जनाउनुपर्छ, मन्त्रीहरुले द्धेद्ध चरित्र देखाए।’

सत्तारुढ दल नेकपाका संसदीय दलका प्रमुख सचेतक देव गुरुङले चिकित्सा शिक्षा विद्येयक संसदको प्रक्रियाबाटै अघि बढाउने स्पष्ट पारेका छन् । अब बस्ने संसद बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले कुनै अवरोध नगर्नेपनि उनको विश्वास छ । उनले भने,‘हामी कांग्रेससँग सम्वाद, सहमति र समझदारी कायम गरेर नै अघि बढ्छौं।’

अनशनरत डाक्टर गोविन्द केसीले उठाएका स्वास्थ्य चिकित्सा क्षेत्रका समस्याहरु हल गर्ने पक्षमा आफूहरु रहेको बताउँदै गुरुङले भने,‘उहाँले उठाएका माँगका आशय र अन्तर्यप्रति हामी पनि सहमत छौं, एकले अर्कोलाई निषेध गरेर वा विरोध गरेर जाने अवस्था अहिलेपनि कसैसँग छैन, समस्याको हल गर्नको लागि सम्वाद, सहमति र समझदारी कायम गर्नुपर्छ।’

कांग्रेसले संसदमा पेश गरेको सार्वजनिक महत्वको प्रस्तावमाथिपनि छलफल हुने उनले जनाए । उनले भने,‘त्यो दिन मन्त्रीज्यू विशेष कामले उपत्यकाबाहिर हुनुहुन्थ्यो र सदनमा उपस्थित हुन सक्नुभएन, तर अब बस्ने बैठकमा छलफल अघि बढ्छ।’ अवरुद्ध सदन अब सुचारु हुनेपनि उनले जनाए ।

डाक्टर केसीको स्वास्थ्य उपचारको लागि सरकार हरहमेशा तयार रहेको बताउँदै उनले भने,‘डाक्टर केसी थोरै मात्रै पनि सकारात्मक हुँदा उहाँको स्वास्थ्य उपचार हुन्छ।’ केसीका मागहरु सम्बोधन गर्न आफूहरुले अधिकतम लचकता अपनाउने उनले विश्वास दिलाए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले माफियाहरुको प्रभावमा परेर सरकारले चिकित्सा शिक्षा अध्यादेश तुहाउने काम गरेको आरोप लगाएका छन् । उनले भने,‘अहिलेको सत्तारुढ दल नेकपाका नेताहरु ओली र प्रचण्डजीकै सहमतिमा अध्यादेश ल्याईएको थियो, तर माफियाहरुको प्रभावमा परेर यो सरकारले तुहाउने काम गर्यो, यो अत्यन्तै खेदजनक छ।’

नेता प्रधानले अनशनरत डाक्टर गोविन्द केसी सामाजिक अभियन्ता भएको बताउँदै अनशनरत व्यक्तिको ज्यान जोखिममा पर्दा लोकतन्त्रमा राज्यले ती व्यक्तिको जीवन रक्षा गर्नुपर्ने धारणा राखे । उनले भने,‘गोविन्द केसी मरे मरुन भन्ने अहिलेको सरकारको सोच नै दुर्भाग्यपूर्ण र गैर–जिम्मेवार छ।’ वर्तमान सरकारले यसैगरि घमण्ड गरिरहे परिणाम राम्रो नहुने उनको चेतावनी छ।

उक्त चिकित्सा शिक्षा विद्येयक ल्याउँदा सरकारले दुर्गा प्रसाई, राजेन्द्र पाण्डे लगायतका मेडिकल माफियाहरुको सल्लाह र प्रभावमा परेर तोडमोड गरि माफियाहरुको अनुकुलतामा ल्याएको पनि उनले गम्भिर आरोप लगाए । उनले भने,‘समय हुँदै अध्यादेश नल्याएर अहिले ती मेडिकल माफियाहरुको सल्लाहमा विद्येयक ल्याएर अध्यादेश तुहाउने काम भयो, यो आपत्तिजनक छ।’

डाक्टर केसी पनि महात्मा गान्धीजस्तै सत्याग्रही व्यक्ति भएकोले सरकारले ढिलो नगरी वार्ताको माध्यमबाट समस्याको समाधान खोज्नुपर्ने उनको सुझाव छ। उनले भने,‘समाजवादउन्मुख संविधान छ, हामी रचनात्मक प्रतिपक्षी हौं, ब्रिफ–केश खोसेर च्यात्ने प्रतिपक्षी होईनौं, हतियार बोक्ने र झापामा टाउको काट्ने कामपनि हामीले गरेका छैनौं, हाम्रो प्रस्तावमाथि सदनमा छलफल हुनुपर्छ, यसको लागि सरकार तयार हुनुपर्छ।’

सरकारले विषयगत समिति नै गठन नभईकन विद्येयक ल्याउने काम गरेको भन्दै उनले आपत्ति जनाए । उनले भने,‘यो भनेको सरकार अहिले पेलेरै जाने मनस्थितिमा रहेको भन्ने बुझिन्छ।’

नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले डाक्टरले अनशन बस्दैमा समस्या हल नहुने भन्दै डाक्टर त्यसमापनि प्रोफेसरजस्तो व्यक्ति अनशन बस्ने तरिका बेठीक रहेको बताए । उनले भने,‘डाक्टरले अनशन बसेर राज्यलाई दबाब दिने कुरा सुहाउँदो होईन।’
लोकतन्त्रमा अनशन भनेको एटम बमजस्तो अन्तिम हतियार हुने बताउँदै उनले भने,‘यहाँ हाम्रो देशमा त १५ औं पटकसम्मपनि अनशन बस्नु भनेको त अनशनकारीको मुद्दा नै कमजोर रहेछ भन्ने पुष्टि हुन्छ, यात सरकारको पनि केही कमजोरी रहेछ भन्ने हुन्छ।’ अहिले एकतर्फी हिसावले मिडियामा पनि डाक्टर केसीले जे भनेका छन त्यो करेक्ट छ भनेर कुराहरु प्राथमिकताका साथ समाचारहरु आईरहेको देख्दा आफू आश्चर्यमा परेको उनले सुनाए ।
 
डाक्टरले विरामीको सेवा गर्ने कर्तव्य भएकोले एउटा विरामीको पनि स्वास्थ्य उपचारमा पनि हानी पुर्याउन नहुने उनको भनाई छ । उनले भने,‘अस्पताल नै बन्द गराउनुहुँदैन्, स्वास्थ्य पाउने मानव अधिकार हनन नगरौं।’ ५ वर्ष अघि माथेमा आयोगले तयार पारेको प्रतिवेदन अहिलेपनि उस्तै सान्दर्भिक छ भनेर भन्नु गलत भएको उनको टिप्पणी छ ।

उनले भने,‘५ वर्षअघि संघीयता थिएन, अहिले संघीयता छ, अवस्था फेरिएको छ, फेरि पनि त्यो ५ वर्ष अघि तयार पारिएको प्रतिवेदन हुबहु अघि बढाउनुपर्छ भन्नु गलत हो, सरकार दुई तिहाईको छ, उसले परिमार्जन गर्न पाउँछ।’ सरकारले यसअघि भएका सम्झौताहरु रिभ्यु गर्न पाउने भएकोले त्यो गर्न दिनुपर्ने उनको भनाई छ । उनले प्रश्न गरे,‘भोलि कमल थापाले अनशन बसेर हिन्दूराष्ट्र पूर्नस्थापना गर्नुपर्यो भने के गर्ने ?’

अहिले एउटा व्यक्तिको मुद्दामा सबैजना पछि लागेको देख्दा आफू आश्चर्यमा परेकोपनि उनको भनाई छ । उनले भने,‘बाढी, पहिरो, भुकम्पका कारण हजारौं मान्छे मरेका छन्, उनीहरुलाई बचाउनको लागि कसैलाई मतलव छैन, तर गोविन्द केसीलाई बचाउँ भनेर सबै लागिरहेका छन्, मेरो भनाई उहाँको पनि जीवन रक्षा गर्नुपर्छ, तर जनतापनि मर्न नपरोस भन्ने हो, कसैले माँग राख्दैमा उनीहरुको माँग अक्षरंश पूरा हुन सक्दैन्।’

फरक प्रसँगमा उनले डाक्टर भनेको राज्यको उपल्लो र मर्यादित पद भएकोले यसको सही सदुपयोग हुनुपर्नेमा जोड दिए । उनले भने,‘गोविन्द केसी डाक्टरमात्रै होईन, उहाँ त प्रोफेसर हो, तर अहिले उहाँ त सुतेर बस्नुभएको छ, उहाँले विद्यार्थीहरुलाई डाक्टरी सिकाउनुहुन्छ क अनशन बस्न सिकाउनुहुन्छ, वा प्ले–कार्ड लिएर माईतीघर मण्डलामा धर्ना वा जुलुस निकाल्न सिकाउनुहुन्छ ? डाक्टरले आफ्नो धर्म निभाउनुपर्छ, प्रोफेसरले त आफ्नो संस्थाको गरिमा बढाउने काम गर्नुपर्छ, खाली सुतेर हुँदैन।’
डाक्टर केसी सरकारी कर्मचारी भएको बताउँदै उनले पदमा बसेर अनशन बस्न नसुहाउने जिकिर गरे । उनले भने,‘अनशन नै बस्ने हो भने पदबाट राजिनामा दिएर सडकमा आए हुन्छ, होईन भने राजनीति पार्टी खोले हुन्छ, पदमा बसेर गलत काम गर्नुभएन्।’ चिकित्सक संघले पनि सरकारलाई ७२ घण्टे अल्टिमेट दिएकोमा उनको कडा आपत्ति छ।

नेपाल सरकारका पूर्व शिक्षा÷स्वास्थ्य सचिव शान्ता बहादुर श्रेष्ठले अनशनरत डाक्टर केसीले उठाएका धेरै माँगहरु लागु भैसकेको स्पष्ट पारेका छन् । उनले भने,‘उहाँले शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारको लागि माँगहरु राखेर धेरै पटक अनशन बस्नुभएको छ, म उहाँको अनशन बस्ने हिम्मतको पनि सम्मान गर्छु, म पनि वार्तामा धेरै पटक बसेको छु, उहाँले उठाएका धेरै माँगहरु पूरा भैसकेका पनि छ।’

केसीले उठाएका गुणस्तरीय र गरिब जनताको पहुँचमा स्वास्थ्य शिक्षा पुर्याउनुपर्छ भन्ने माँग जायज रहेको श्रेष्ठको भनाई छ । उनले भने,‘उदारीकरणको नाममा पछिल्लो समय शिक्षा र स्वास्थ्यमा व्यापारीकरण भएको छ, यो दु:खलाग्दो कुरा हो, त्यहाँभित्र भएका विकृति तथा विसंगतीहरु डाक्६र केसीले बाहिर ल्याउने काम गर्नुभएको छ, त्यसैले उहाँका जायज माँगहरु सरकारले सम्बोधन गर्न ध्यान दिनुपर्छ।’

सरकारले स्वास्थय शिक्षमा आम जनताको हितमा हुनेगरि निर्णय गर्नुपर्ने उनको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ