सरकारले हावादारी कुरा गरेर जनतालाई ढाँटिरहेको छ : रामशरण महत
तेजन खड्का,
प्रकाशित २०७५ असार २३ शनिबार
399
Shares
पथरीशनिश्चरे। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री डा. रामशरण महतले नेकपाको सरकारले हावादारी गफ गरेर नेपाली जनतालाई ढाँटिरहेको बताएका छन् । शुक्रबार जीपी कोइराला अध्ययन केन्द्रले पथरीमा आयोजना गरेको वर्तमान राजनीतिक सन्दर्भ विषयक विचार गोष्ठीमा बोल्दै उनले सो कुरा बताए ।
उनले चीनबाट केरुङ हुँदै काठमाडौं रेल ल्याउन कति रुपियाँ खर्च हुने अनुमान नै नगरी रेल ल्याउने सपना बाढेको बताए । डाक्टर महतले भने, न बजेट छ , न कुनै योजना । चीनबाट नेपाल आउने रेलले आउँदा चिनियाँ उत्पादन ल्याउला , फर्कदा नेपालबाट के लान्छ भन्ने योजना नै छैन । रेल मार्गका लागि ७ सय अर्ब रुपियाँ आवश्यक पर्ने बताउँदै उनले भने, 'कुनै देशले उपहारका रुपमा रेल ल्याइदिने हो भने आपत्ति भएन, तर नेपाली र्कै खर्चले रेल आउन सक्दैन,यो सपना मात्रै हो' ।
पूर्व अर्थमन्त्री समेत रहेका महतले सरकारको आर्थिक नीति कांग्रेसले तयार गरेकै रहकेो उल्लेख गर्दै भने ‘बैदेशिक लगानी भित्त्राउन प्रधानमन्त्री ओलीले भारत र चीनसँग अनुरोध गर्नु कांग्रेसको जित हो । नीति र मुद्दा कांग्रेसले जितेको भएपनि सरकार दुई तिहाईको दम्भले लोकतन्त्र हरणको अभियानमा लागेको उनको भनाई थियो ।
अर्का केन्द्रीय सदस्य डाक्टर मीनेन्द्रप्रसाद रिजालले सरकार अधिनायकवाद तर्फ उन्मुख भएको बताए । उनले सरकार दुई तिहाईको धम्की दिएर मिडिया, न्यायालय,सेना ,पुलिसमा हस्तक्षेप गरिरहेको बताउँदै लोकतान्त्रिक संविधानको खिलापमा उत्रिएको बताए । वर्तमान सरकारका शीर्ष नेताहरू आफू अनुकुल संविधान संसोधनको अभ्यासमा लागिरेको उल्लेख गर्दै उनले भने,'यो सरकार वर्तमान संविधानको संरक्षण गर्न भन्दा पनि हत्या गर्न क्रियाशील देखिएको छ '। उहाँले लोकतन्त्र र वर्तमान संविधानको रक्षा गर्न दुई वटा कम्युनिष्ट पार्टी मिल्नु नपर्ने बताउँदै उनले कम्युनिष्ट पार्टीको एकताले अधिनायकवाद लाई मार्ग प्रसस्त गरिरहेको उल्लेख गरे ।
साथै मोरङ कांग्रेसका सभापति डिगबहादुर लिम्बूले सधैं सत्तामा बस्ने कांग्रेस सत्तामा नहुँदा सामान्य छटपटिमा देखिएको बताए । उनले राजनीतिमा गुट उप गुट सामान्य भएको बताउँदै सही कार्यकर्तालाई उचित जिम्मेवारी दिन सके पार्टी पूर्व अवस्थामा फर्कन सक्के उल्लेख गरे ।
मोरङ ३(१) का प्देश सभा सदस्य सुयर्माराज राईले चुरे दोहन गर्नु आमाको हत्या सरह भएको बताए । राईले कार्यकर्ताहरूले कांग्रेस एक ढिक्का भएको हेर्न चाहेको बताए । अर्का प्रदेश सभा सदस्य लोकप्रसाद संग्रौलाले एउटा चुनाब हार्दैमा कांग्रेसले आत्तिनु नहुने बताए ।
उर्लाबारी नगरपालिकाका मेयर एवं मोरङ १ का क्षेत्रीय सभापति खड्ग फागोले चुनाव र पार्टीको महाधिवेशनमा मात्र कांग्रेस बनेर चुनाव नजितिने बताए । उनले भने, चुनाव जित्नु भनेको लोकसेवा आयोग पास गर्नु होइन । हामी कहाँ चुनाव जित्दा आफूले जितेको र हार्दा अन्तरघात भएर हारेको भन्ने संस्कृतिको विकास भएको बताउँदै फागोले भने, 'भातृसंगठन परिचालन नगरि पार्टीलाई पूर्व अवस्थामा फर्काउन सकिदैन '।
नेविसंघका केन्द्रीय महामन्त्री कुन्दनराज काफ्लेले गिरिजाप्रसाद कोइराला जस्ता नेताको अभावले मुलुक अराजकता तर्फ उन्मुख रहेको बताए । काफ्लेले भने–सर्वसत्तावाद नेविसंघले सहन सक्दैन । लोकतन्त्रको रक्षाका लागि सबै खाले अधिनायकवादका विरुद्ध नेविसंघले आन्दोलन गर्ने उनको भनाई थियो ।