काठमाडौँ । नेपाल र भारतका विज्ञहरु मिलेर बनेको प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को साझा प्रतिवेदनको निष्कर्ष तयार भएको छ । ईपीजी समूहका नेपाली पक्षका संयोजक डा. भेषबहादुर थापाले साझा प्रतिवेदनको निष्कर्षमा पुगिसकेको जानकारी दिए ।
उनले अहिले प्रतिवेदन सिंगार्ने काम भइरहेको बताए । एक दुई दिनमै प्रतिवेदन तयार हुने पनि उनले जानकारी दिए ।
यो प्रतिवेदन संयुक्त रुपमा नेपाल र भारतका प्रधानमन्त्रीलाई बुझाउने प्रयास भएको पनि डा थापाले बताए ।
साझा प्रतिवेदन पहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बुझाउने तयारी भएको बारेमा उनले भने, ‘कसलाई पहिले बुझाउने भन्ने विषयमा विवाद नगरौं, पछिल्लो बैठक नेपालमा भएको थियो, अब भारतमा हुन सक्छ ।’
डा थापाले ईपीको गठन नै मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकालको पालामा भएकाले दुवै उत्तिकै सक्रिय रहेको पनि बताए ।
उनले अगाडि थपे, ‘मुख्य कुरो प्रतिवेदन राम्रो आयो कि आएन, नेपालको हितमा भयो कि भएन भन्ने हो ।’
उनले प्रतिवेदन तयार भएपछि दुवै प्रधानमन्त्रीसंग समय मिलाउने पनि बताए । उनले भने, ‘निष्कर्ष आइसक्यो, हामी सिंगारपटार गर्दैछौं, भाषिक त्रुटि नहोस् भनेर लागिरहेका छौं ।’
प्रतिवेदनमा सन् १९५० को सन्धि मुख्य केन्द्रमा रहे पनि यसले समसामयिक र समय सापेक्ष कुराहरु समेटिएको बताइएको छ । प्रतिवेदनको मुख्य शारांश उनले खोल्न चाहेनन् ।
उनले भने, ‘दुवै प्रधानमन्त्रीलाई नबुझाइ बाहिर सार्वजनिक नगर्ने सहमति नगर्ने निर्णय भएको छ, त्यसभित्र के छ भन्न मिल्दैन, दुवै प्रधानमन्त्रीलाई पहिले बुझाउँछौं ।’