arrow

ज्ञानेन्द्र शाह टाउको गनेर झुक्किए, ओली झुक्किनु हुदैन : गगन थापा

logo
प्रकाशित २०७५ असार २५ सोमबार
gagans-thapa.JPG

काठमाडौं । आइतबारको प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका सांसद् गगनकुमार थापाले  पुर्वराजा ज्ञानेन्द्र शाह टाउको गनेर झुक्किएको र अहिले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पनि त्यसरी झुक्किन नहुने बताएका छन् ।

सोमबारको बैठकमा थापले भने  ' गोविन्द केसीको जीवन रक्षाको बिषयलाई लिएर केन्द्रित हुन चाहन्छु । यहि बिषयलाई लिएर चिकित्सक संघका साथिहरु सम्मानीय प्रधानमन्त्रीलाई भेट्न गएका रहेछन् ।  प्रधानमन्त्रीले भन्नु भएछ एउटा व्यक्तिले भनेर डराउने मान्छे म होइन । स्वास्थ्य क्षेत्रमा के गर्दा हुन्छ कसैले मलाई सिकाउनु पर्दैन ।'

थापाले पूर्व राजा ज्ञानेन्द्र शाहले देखाएको दम्भ प्रधानमन्त्रीले दोहर्‍याउन नहुने भन्दै भने,  '२०५९ सालमा महाराज ज्ञानेन्द्रले शासन लिइबक्सियो । रत्नपार्कमा केहि मानिसहरु संसद पुन स्थापनाको माग राखेर सडकमा बसेका रहेछन्। महाराजको शुभचिन्तकले गएर महाराजलाई भनेछन्- रत्नपार्कमा नेपालका केहि मानिसहरु कराई रहेका छन् ।  के भनिरहेका छन् ? - महाराजले सोधिबक्सेछ । उनिहरुले भनेछन् - महाराजले गरेको कामले देशको भलो हुदैन । महाराजले भनिबक्सेछ- पृथ्वी नारायण शाहको बंशज  म ज्ञानेन्द्र शाहलाई सिकाउने। सिकाउने मानिसहरु को हुन् ? महाराजको प्रश्नमा उनिहरुले भनेछन् - गिरिजाप्रसाद कोइराला, माधव कुमार नेपाल, भरत विमल यादव , नारायणमान विजुक्छे लगायतका केहि मानिसहरु ४-५ सय मानिस लिएर बसेका छन् । महाराजले भनेछन् - ४-५ सय मानिसको झुण्डले महाराजलाई सिकाउने ?'

थापाले प्रधानमन्त्रीलाई भने, 'आज समय र पात्र बदलिएको छ । कर्णालीबाट चिकित्सक अनशन बसेका छन्।  चिकित्सक प्रधानमन्त्रीलाई भन्न गएछन् र भनेछन् यसो गर्यो भने भलो हुँदैन । प्रधानमन्त्रीले भन्नुभएछ– दुई तिहाई संख्या र  समर्थन भएको प्रधानमन्त्रीलाई देशको भलो के गर्दा हुन्छ भनेर चिकित्सकले सिकाउने ? के गर्दा हुन्छ भनेर उनको समर्थनमा को छ ? सोध्दै गर्दा भनेछन् -  केही थान कांग्रेसहरु संसदमा हल्ला गर्दैछन् र केही थान मानिस माइतिघर मण्डलामा हल्ला गर्दैछन् । अनि प्रधानमन्त्रीले भन्नुभएछ– केहि थान मानिसको भरमा दुईतिहाई भएको प्रधानमन्त्रीलाई सिकाउने ? मलाई बडो दुःख लागेको छ सभामुखज्यु, मलाई चिन्ता पनि लागेको छ । महाराज झुक्किबक्स्यो संख्या हेरेर टाउको गनेर ।'

थापाले सत्यको पक्षमा एकजना भए पनि काफी हुने बताए। उनले भने,  'सत्यको पक्षमा उभिदै गर्दा फगत एकजना भएपनि पुग्छ । आज गोविन्द केसी सत्यको पक्षमा उभिनुभएको छ ।   गोविन्द केसीका पक्षमा टाउको कति छन् नहेर्नुहोस् । सदनको टाउको पनि नगन्नुहोस। चिकित्सा शिक्षा विधेयकमा सहयोग गर्न हामी प्रतिपक्ष पनि तयार छौं । गोविन्द केसीको स्वस्थ्य स्थिति बिग्रीएको छ ।' उनले गोविन्द केसीमा कुनै किसिमको लोभ नभएको भन्दै उनमा  चिकित्सा शिक्षाको सुधारको नशा मात्रै भएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ