arrow

चीन लैजाने ‘रुपसी’ र ‘भद्र’ चितवन बाट काठमाडौं ल्याइदै 

नेपालबाट अहिलेसम्म २६ गैंडा विदेशिए

logo
प्रकाशित २०७५ असार २६ मंगलबार
gaida.JPG

काठमाडौं । चीन सरकारलाई उपहार स्वरुप दिइने एक जोडी गैंडा चितवनबाट काठमाडाैं ल्याइदैछ ।
चितवन राष्टिय निकुञ्जबाट ‘रुपसी’ र ‘भद्र’ नामका दुई गैडालाई काठमाडौ ल्याउन लागिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ।

चितवनमा पीट बुमामा राखीएको गैंडालाई खोरमा राखेर काठमाडौं ल्याउन लागिएको हो  । त्यही खोर विमानमा राखेर पनि चीनतर्फ पठाइने चितवनका चिफ वार्डेन वेदकुमार ढकालले बताए । मुग्लिन नारायणगढ सडकमा पहिरो जाने क्रम भइरहेकाले मंगलबार  ल्याउन लागेको गैडा भोली मात्र आइपुग्ने राष्ट्रिय निकुन्ज तथा  बन्यजन्तु संरक्षण बिभागका उपमहानिर्देशक गोपाल भट्टराईले जानकारी दिए । 

वुधबार आइपुग्ने गैडालाई सातदोबाटो स्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा राखिनेछ । आउने बिहिबार यो जोडी गैडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको टोलीलाई हस्तान्तरण गर्ने छन् । चितवनबाट गाडीमा राखेर ल्याइने गैडा  चिनियाँ कार्गो विमानमा चीन जाने छ ।

चीनको दुर्लभ वन्यजन्तु तथा वनस्पतिको व्यापार महासन्धि (साइटिस) को टोली र चिनियाँ भेटरिनरीको टोलीले एक साता लामो नेपाल बसाइका क्रममा ‘रुपसी’ र ‘भद्र’ को स्वास्थ्य स्थिति र अन्य हाउभाउको मूल्यांकन गरेको थियो । 

टोलीले दुवैै केटाकेटीको स्वास्थ्य अवस्था राम्रो रहेको दाबी गर्दै अब चीन लैजान कुनै आपत्ति नरहेको स्पष्ट पारेको छ । सरकारले दूई जोडी गैडा चीनलाई दिने निर्णय अनुसार अर्को एक जोडी आउने आर्थिक वर्षमा दिइने छ । उपहार दिएको नेपाली गैंडा चीनको चिमेलाङ पार्क र सांघाई वाइल्ड एनिमल पार्कमा राखिने तयारी भएको अधिकारीहरु बताउँछन्।

गैंडासँगै २ जना केयर टेकर र १ जना भेटरिनरी डाक्टर चीन जाने विभागका सूचना अधिकारी नारायण रुपाखेतीले जानकारी दिए । उनका अनुसार २ जना केयर टेकरले १२–१२ घण्टा ‘रुपसी’ र ‘भद्र’लाई निरिक्षण गर्नेछन् ।चीन सरकारकै तलब भत्तामा रहने ती कर्मचारी केही दिनको बसाइपछि स्वदेश फर्कनेछन् ।

गैंडालाई चीनसम्म छाड्न निकुञ्जकै वरिष्ठ चिकित्सक डा कमल गैरे, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक किरण रिजाल र तीन सहयोगीसमेत पठाउन लागिएको छ । काठमाडौँसम्म गैंँडा छाड्न प्रमुख संरक्षण अधिकृत ढकाल, राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्याललगायत जानुहुनेछ । 
नेपालले २०६२ फागनु १६ पछि कुनै पनि देशलाई गैंडा उपहार दिएको छैन । त्यतिबेला शाहीकालीन सरकारले अस्ट्रियाको भियनास्थित चिडियाखानालाई एक जोडी गैंडा उपहार दिएको थियो । चीनले २ जोडी गैँडा दिएवापत  वन्यजन्तु संरक्षण र सूर्यविनायकमा बनिरहेको जुलोजिकल पार्कमा आर्थिक सहयोग गर्ने वचन दिइसकेको छ । 

नेपालबाट अहिलेसम्म २६ गैंडा विदेशिए
नेपाल सरकारले चितवन राष्ट्रिय निकुञ्जमार्फत  विभिन्न देशमा  २६ गैंडा उपहारस्वरुप पठाइसकेको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदप्रसाद ढकालका अनुसार अमेरिकामा छ र भारतमा चार तथा बंगलादेश, पाकिस्तान, थाइल्याण्ड, म्यान्मार, जापान, जर्मनी, बेलायत र अष्ट्रियामा दुई दुई गैडा पठाइएको छ । 

अब २ गैंडा चीन पठाएसंगै २८ गैडा बिदेश जाने भएका छन । बाह्र वर्षपछि अहिले दुई जोडी गैँडा चीन पठाउन लागिएको हो । निकुञ्ज तथ्यांकअनुसार पहिलो पटक सन् १९८५ मा भारतको दुधुवामा चार गैँडा पठाइएको थियो । 

पछिल्लो पटक सन् २००६ मा अष्ट्रियामा एक जोडी गैंडा पठाइएको थियो । यसअघि गैंडा पठाएर भारत, म्यान्मार र थाइल्याण्डबाट हात्ती ल्याइएको थियो । निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रामप्रित यादवले गैंडा दिएर भारतबाट मात्र १६ हात्ती ल्याइएको जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ