arrow

स्वास्थ्यमन्त्री यादवका ‘पिए’ ले रोके लुम्बिनी अस्पतालको टेण्डर

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ असार २६ मंगलबार
uppu-bhai.jpg

बुटवल। लुम्बिनी अञ्चल अस्पताल विकास समितिले प्रक्रियागत रूपमा सटरहरू टेण्डर गर्ने कार्य स्वास्थ्यमन्त्री उपेन्द्र यादवका निजी सचिव भवनाथ खतिवडाले पठाएको पत्रबाट अन्तिम समयमा रोकिएको छ।

२०७५ साल मंसिरमा अस्पतालका ७९ वटा सटरहरूको म्याद सकिँदै छ। ती म्याद सकिने सटरहरूलाई नियमअनुसार ६ महिना पहिले नै सूचना जारी गर्नुपर्ने भएकोले नेपाल सरकारको सार्वजनिक ऐन अनुसार सबै प्रक्रिया पूरा गरेको टेण्डर सोमबार एकाएक रोकिएको हो। अस्पताल विकास समितिले २ महिना २७ गते सटर भाडा दिनेको लागि टेण्डरको बोलपत्र आह्वानको सूचना जारी गरेको थियो।

बोलपत्र अह्वानअनुसार सोमबार अन्तिम दिन दिउँसो दुई बजे सटरको फारम व्यवसायीहरूले किनिरहेका बेला मन्त्रीका सचिवको रोक्नु पर्ने पत्र आएको भन्दै मेसु डा. कृष्ण खनालले स्थगितको सूचना टाँस गरेका थिए। सोमबार दिउँसोसम्म २४५ वटा फारम बिक्री भएका थिए भने १२ वटा विधिवत् रूपमा दर्ता भएका थिए।

निजी सचिवले भवनाथ खतिवडाले दिउँसो फारम बिक्री भइरहेका बेला अञ्चल अस्पताल प्रदेश सरकार मातहत लैजाने प्रक्रिया चलिरहेकोले हाल सटर टेण्डरको टुङ्गो पनि प्रदेश सरकारबाट लगाउन निर्देशन गरेका छन्। उनको उक्त पत्र आउनासाथ मेसु कृष्ण खनालले हतारहतार टेण्डर प्रक्रिया रोक्ने सूचना टाँस गरेका थिए।  उनले बोर्ड समितिलाई जानकारी नदिई सूचना टाँस गरेपछि अस्पतालमा खैलाबैला मच्चिएको छ। केही फारम लिन पुनेका व्यापारीहरू निराश हुँदै आएका थिए। पुराना व्यापारीहरू खुसी भएका थिए।

अस्पताल विकास समितिका अध्यक्ष रमेश खनालले पत्र आउनासाथ मेसुले कसैसँग सल्लाह नै नगरी एक्कासी टेण्डर रोक्नु गलत भएको आरोप अस्पतालमै पत्रकार सम्मेलन गरेर लगाए। उनले मन्त्रीको निजी सचिवले के आधारमा पत्र पठाएको त्यो विषयमा पनि मन्त्रीसँग छलफल गर्ने बताए। पत्रकार सम्मेलनमा अध्यक्ष खनालले मन्त्रीको निजी सचिव र मेसुलाई अस्पताल सटर प्रक्रिया रोक्ने समूहबाट प्रभावित भएको आशंका प्रकट गरे। उनले मेसुले बोर्डले गरेको निर्णय एक्लै रोक्ने, बोर्डले जग्गा भाडा लैजाने विषयमा ६ महिनाअघि निर्णय गरे पनि बल्ल जग्गावालहरूलाई पत्र पठाउनुले मेसुमाथि आक्रोश पोखे।

लुम्बिनी अञ्चल अस्पतालमा २०७० सालमा पनि वर्षौंदेखि रोकिएको सटर टेण्डर प्रक्रियामा विभिन्न अवरोध आएका थिए। व्यवसायीहरूको पहलमा विभिन्न राजनीतिक दल तथा संघ संस्थाहरूले टेण्डर रोक्न सक्दो प्रयास गरेका थिए। तत्कालीन मेसु तारानाथ शर्माको हिम्मतले अस्पताल टेण्डरमा जाँदा अस्पताल विकास समितिको आम्दानीमा ठूलो वृद्धि भएको थियो। लुम्बिनी अञ्चल अस्पतालका कर्मचारीहरूका अनुसार अस्पताल विकास समिति अध्यक्ष र मेसुको पार्टी लाइन फरक भएका कारण सम्बन्ध राम्रो नभएको हो।जसको असर टेण्डरमा समेत देखिन थालेको हो।

२०७१ साल भदौ १ गते पहिलो पटक सटरको टेण्डर आह्वान गरिएको थियो। अस्पतालको सटरबाट ६ करोड ५९ लाख ६० हजार वार्षिक आम्दानी हुँदै आएको छ। यस्तै जगा भाडावापत ८० लाख १ हजार रूपैयाँ आम्दानी भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ