arrow

टेलिकम व्यवस्थापनले नियमावली विपरित कार्य गरेको भन्दै युनियनको आपत्ति

देशैभरि फोर जी सेवा सञ्चालनमा ल्याउन माग

logo
प्रकाशित २०७५ असार २६ मंगलबार
nepal-telecom-logo.jpg.jpeg

काठमाडौं। नेपाल टेलिकम व्यवस्थापनले कर्मचारीको नियमावली विपरित कार्य गर्दै आएको भन्दै नेपाल टेलिकम वर्कर्स युनियनले आपत्ति प्रकट गरेको छ ।

युनियनले मंगलबार पत्रकार सम्मेलन गर्दै नेपाल टेलिकम व्यवस्थापनले गरेको नियमावली उल्लंघनको कडा विरोध गरेको हो। टेलिकम व्यवस्थापनले गत जेठ ३१ गतेको निर्णय भन्दै विना कुनै आधार कर्मचारी सरुवालाई व्यापक बनाएको भन्दै युनियनले विरोध गरेको हो ।

व्यवस्थापनले ट्रेड युनियन ऐनमा भएको व्यवस्थालाई लत्याउँदै सहमति वेगर कर्मचारीको सरुवा गरिएको बताएको छ। ‘विना कुनै आधार कसैलाई कारवाही स्वरुप भनेर सरुवा गरिएको छ। कसैलाई आवश्यकताका आधारमा भनेर सरुवा गरिएको छ । र कसैलाई १५ वर्ष भन्दा बढी एउटै कार्यालयमा बसेको भन्दै सरुवा गरिएको छ’ नेपाल टेलिकम वर्कर्स युनियनले मंगलबार निकालेको विज्ञप्तिमा भनिएको छ। ‘ट्रेड युनियन ऐनमा ट्रेड युनियनका पदाधिकारीहरुलाई सहमति बेगर सरुवा नगरिने व्यवस्थालाई लत्याइएको छ।’

त्यस्तै २०७३ जेठ ६ गते ट्रेड युनियन र व्यवस्थापनबीच भएको सहमतिको धज्जी उडाएको भन्दै कानुनी शासनमाथि प्रहार गरेको युनियनले बताएको छ । ‘नेपाल टेलिकमका ट्रेड युनियन र व्यवस्थापनबीच २०७३ जेठ ६ मा भएको श्रम ऐन अनुसारको सामुहिक सम्झौता, त्यस अनुसार पनि सवारी चालक र तह १ तथा २ का कर्मचारीहरुलाई सम्भव भएसम्म घर पायक राखिने, क्षेत्रिय स्तरका ट्रेड युनियनका पदाधिकारीलाई सम्बन्धित क्षेत्र भित्र मात्र सरुवा गरिने र कम्पनीको विनियमावलीमा सहायक स्तरका कर्मचारीलाई घरपायक सरुवा गर्न प्राथमिकता दिइने भन्ने व्यवस्थालाई धज्जी उडाउँदै कानुनी शासनमाथिको प्रहार गरिएको छ’ युनियनका महासचिव सुरेश रौनियारले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ।

सबैले विधिभित्र रहेर अधिकार प्रयोग र दायित्व निर्वाह गर्नु पर्ने भन्दै पटक पटक औंल्याउँदा समेत ट्रेड युनियन मार्फत गुनासा सम्बोधन गरिने भन्दै पन्छिने गरेको युनियनले जानकारी दिएको छ। युनियनले सामुहिक सौदाबाजी गर्ने जिम्मेवारी आधिकारिक ट्रेड युनियनको भएको र त्यसको आफुले सम्मान गर्ने भन्दै श्रमिकका अधिकार खोस्न राम्रो नभएको युनियनको भनाई छ। कानुनतः स्थापित भइसकेको अधिकार उपयोगका लागि दवाव दिनु र कम्पनीको उतपादकत्व वृद्धिका लागि सजग गराउन आफ्नो दायित्व भएको भन्दै व्यवस्थापनले त्यसतर्फ ध्यान दिनु पर्ने युनियनले बताएको छ ।

यस किसिमको सञ्चालक समिति तथा व्यवस्थापनको अकर्मण्यता र उदासिनताले समृद्धिको लागि गरिएको बारम्बारको आग्रहलाई वेवास्ता गरिएका कारण नेपाले टेलिकमले संकटको सामना गर्नसक्ने स्थिति आउन सक्ने समेत युनियनले सर्तक गराएको छ। कम्पनीबाट सञ्चालनमा रहेका सेवाहरुलाई चुस्त दुस्त बनाई जनतामाझ पुर्‍याउनका साथै आन्तरिक व्यवस्थापनमा समेत ध्यान दिन युनियनको माग रहेको छ । कम्पनी पुनर्संरचना प्रतिवेदनले औंल्याएका तथा त्यसले मार्गदर्शन गरेका विषय वस्तुलाई कार्यान्वयन गरी नतिजामुलक जनशक्ति व्यवस्थापनका आवश्यक रहेको युनियनको ठहर छ।

त्यस्तै करिब डेढ वर्ष अधि काठमाडौं र पोखरामा सुरु गरिएको फोरजी सेवालाई मुलुकभरि नै विस्तार गर्न यसअघि गरिएको मागलाई समेत वेवास्ता गरिएको भन्दै बाहानाबाजी नगर्न व्यवस्थापन समक्ष माग गरेको छ।

युनियनका अध्यक्ष राजेन्द्रप्रसाद दाहालले ग्राहकका माग अनुसार फोरजी लगायतका काम पुरा हुनेपर्ने बताए। नेपाल टेलिकम कछुवाको गतिमा चलेको र त्यसले टेलिकम संस्थानलाई नै घाटामा लैजाने भन्दै समयमै ध्यान दिनुपर्ने उनले बताए । जनताले भरपर्दो इन्टरनेट नपाएको र सञ्चालनमा समितिको बैठक समेत लामो समय सम्म नबसेको भन्दै व्यवस्थापनले त्यतातर्फ ध्यान दिनुपर्ने उनको भनाई थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ