- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली समाजमा लोकप्रिय एउटा उखान छ, ‘धन देख्दा महादेवको पनि तेस्रो नेत्र खुल्छ ।’ तर यो उखान नेपालमा मात्र नभएर विश्व मै सान्दर्भिक देखिएको छ । यो उखानजस्तै विश्वका चर्चित राजनीतिक नेता पनि एक पछि अर्को गर्दै धनको लोभमा परेका र भ्रष्टाचारको मुद्दामा तानिएका छन् ।
शक्तिको दुरुपयोग गरेर व्यक्तिगत स्वार्थका लागि राष्ट्रिय सम्पत्तिको हिनामिना गरेको भन्दै पछिल्लो दुई सातामा मलेसिया र पाकिस्तानका पूर्वप्रधानमन्त्री यो मुद्दामा तानिए । संसारभर नै भ्रष्टाचारका कारण नैतिकता र राजनीतिक साख गुमेको तथा राजनीतिक नेतृत्व जनताप्रति इमान्दार छैनन् भन्ने पनि पछिल्ला यी घटनाले प्रष्ट पारेको छ ।
विश्व वैंकको पछिल्लो एक तथ्याङ्कअनुसार हरेक वर्ष एक खर्ब २५ अर्ब डलर भ्रष्टाचारका कारण अपचलन हुने गरेको छ । विश्वभर नै भ्रष्टाचार विरुद्धको अभियानमा संलग्न ट्रान्सपरेन्सी इन्टरनेशनले भ्रष्टाचार संस्कृतिको रुपमा फैलदै गएको र त्यो भयावह रहेको जनाएको छ ।
उसले भनेको, ‘सार्वजनिक खरिद प्रक्रियामा रहने छिद्रका कारण आम मानिसले थाहा नपाउने गरी नै भ्रष्टाचार हुने गरेको छ ।’ ट्रान्सपरेन्सीले थप भनेको छ, ‘संसारका धनी वा गरिब सबै देशमा भ्रष्टाचार महारोगका रुपमा फैलिएको छ र त्यसले हरेक वर्ष ४०० बिलियन अमेरिकी डलर बराबरको हानी नोक्सानी गरेको छ ।’
सत्ताको बलमा कानुन मिच्ने, आफ्ना नाता गोता र आफन्तमार्फत अकूत सम्पत्ति कमाउन खोज्ने प्रवृत्ति संसारमै रोगजस्तै फैलिएको छ । सभ्य भनिने संसारलाई चुनौती दिने अनियमितता रोक्न भनेर गरिएका प्रयाससमेत फितलो र कामकाजी बन्न सकेका छैनन् ।
केही दिन पहिले मात्रै मलेशियाका पूर्वप्रधानमन्त्री नजिब रजाक पक्राउ परे। ९२ वर्षीय महाथिर पुनःसत्तामा आएपछि मलेसियाको राजनीतिमा करिब ६० वर्ष भन्दाबढी समय बिताएका रजाकमाथि भ्रष्टाचारको मुद्दा लाग्यो । यो एउटा समान्य परिघटना मात्रै थिएन । शक्तिको बलमा राज्यको साधन र स्रोतमाथि कुन हदसम्मको बदमासी गरिन्छ भन्ने उदाहरण पनि हो ।
पूर्वप्रधानमन्त्री रजाकमाथि ७५ अर्ब बढीको भ्रष्टाचार गरेको आरोप लागेको छ । सो आरोपको पुष्टि होला वा नहोला त्यो भने आगामी दिनमा नै थाहा होला तर, जुन प्रवृत्तिका कारण पूर्वप्रधानमन्त्री समातिए त्यसले भने भ्रष्टाचार विरुद्धको लडाई सरल र सहज छैन भन्ने देखाइदिएको छ ।
मलेसियाको एक अनुसन्धान निकायले रजाकका श्रीमतीका गरगहना, बहुमुल्य सामान र नगद गरी २७ करोड डलर बराबरको सम्पत्तिसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । पूर्वप्रधानमन्त्रीका आफन्त, नातागोता तथा उहाँको कार्यकालमा हर्ताकर्ता बनेका माथिसमेत छानबिन शुरु गरेको अनुसन्धान संस्थाले जनाएको छ ।
रजाकका समर्थकले उनीमाथि राजनीतिक प्रतिशोध साधिएको बताएका छन् । तर सरकारले भने राज्यस्रोतको दुरुपयोग गरेको भन्दै कडा कारवाही गर्ने जनाएको छ । पूर्वप्रधानमन्त्री माथिको आरोपको पुष्टि भए या नभएपनि राजनीतिक नेतृत्व जनताप्रति इमान्दार रहेनछ भन्ने सो घटनाले प्रष्ट देखाउँछ । सत्ता र शक्ति पाएपछि विगतमा इमान्दार भनिएका पनि भ्रष्टाचारको आहालमा नराम्ररी डुब्दा रहेछन् भन्ने सो घटनाले प्रष्ट संकेत गर्दछ ।
राजनीतिक प्रणालीमा रहेको छिद्र खोजेर भ्रष्टाचार गर्ने, व्यक्तिगत सुख सयलका लागि खर्च गर्ने, शक्तिको दुरुपयोग गर्ने तथा त्यसैलाई माध्यम बनाएर गैरकानुनी तवरले सम्पत्ति जोडने संस्कृति राजनीतिक नेतृत्वमा हावी भएको छ ।
यस्तै पछिल्लो उदाहरण बनेको छ इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुकी धर्मपत्नीको मुद्दा । प्रधानमन्त्रीको सरकारी निवासमा खाना बनाउने कामदार उपलब्ध नभएको बताउँदै राज्य कोषको दुरूपयोग गरी एक लाख अमेरिकी डलरको खाना खरिद गरेको आरोप पूर्व प्रधानमन्त्री पत्नी सारामाथि लागेको छ ।
उनान्साठी वर्षीया सारामाथि भ्रष्टाचारको अभियोगमा मुद्दा चलिरहेको छ । सन् २०१० देखि २०१३ सम्म नेतन्याहु, उहाँको परिवार र पाहुनाका लागि भनी तीन लाख ५९ हजार सेकेल्स (इजरायली मुद्रा) बराबरको खाना खरिद गरी नक्कली बिल पेश गरेको आरोप लागेको छ ।
त्यस्तै भ्रष्टाचारको अभियोगमा पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई तीन दिन पहिले दश वर्षको जेल सजाय सुनाइएको छ । पाकिस्तानको एक अदालतले उहाँलाई लण्डनमा किनेको चार वटा सुविधासम्पन्न ‘फ्ल्याट’सँग सम्बन्धित भ्रष्टाचारको अभियोगमा दोषी ठहर गरेको हो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमकाअनुसार अदालतले सरिफकी छोरी मर्याम नवाज सरिफलाई सात वर्ष र छोरा सफ्दर अवनलाई पनि एक वर्षको सजाय दिएको छ । नवाज सरिफले भने यसलाई राजनीतिप्रेरित रहेको प्रतिक्रिया दिएका छन् । सरिफ र उनका छोरी भने श्रीमती कुसुम नवाजको क्यान्सर उपचारको क्रममा बेलायातमा छन् । न्यायाधीश मोहम्मद बासिरले सरिफलाई आफ्नो आम्दानीभन्दा बढीको सम्पति राखेकोमा दश वर्ष र भ्रष्टाचारको मुद्दा हेरिरहेको नेशनल एकाउन्टविलिटी व्यूरोलाई सहयोग नगरेकोमा थप एक वर्ष सजाय सुनाएको छ ।
राज्यको साधान स्रोतको दुरुपयोग गर्ने, व्यापारिक तथा पारिवारिक स्वार्थमा सरकारी संयन्त्र परिचालन गर्ने प्रवृत्ति पनि पछिल्लो दिनमा हावी भएको यी घटनाक्रमले पुष्टि गरेको छ ।
कतिपय मुद्दा भने राजनीतिक विचार र सिद्धान्तसँग जोडिएर आएका छन् । तर धेरै जसो मुद्दा भने चरम राज्य शक्तिको दुरुपयोगले निम्त्याएको लुटको श्रृंखलाको रुपमा देखिन्छ । दक्षिण कोरियाका पूर्वराष्ट्रपति पार्क गे उन हाइलाई शक्तिको दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोपमा गत वर्ष पक्राउ गरियो । अदालतले पार्कलाई एक करोड ६८ लाख अमेरिकी डलर जरिवाना तोकेको छ ।
दक्षिण कोरियामा राष्ट्रपति पदमा चुनिने पार्क गुउन हाइ पहिलो महिला भएपनि दक्षिण कोरियामा अपराधमा तानिएर हिरासतमा पर्नेमा भने उनि तेस्रो राष्ट्रपति हुन् । उनपछि अर्का पूर्वराष्ट्रपति लि म्युङ बाकलाई पनि भ्रष्टाचार, कर छली र सार्वजनिक स्रोत, साधन र शक्तिको दुरुपयोगको अभियोगमा पक्राउ गरिएको छ ।
पदमा नै रहेका वखत उहाँमाथि लागेको अभियोगले संसार हल्लाइदिएको थियो । उनलाई अदालतले दोषी ठहरगर्दै २४ वर्षको कैद सजाय सुनाएको छ । हाल ६६ वर्षीय पूर्वराष्ट्रपतिको बाँकी जीवन कारावासमा नै बित्ने निश्चित भएको छ ।
यसैवर्ष दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकोब जुमा पनि भ्रष्टाचारको आरोपमा तानिए । उनलाई पनि शक्तिको दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोप लागेको छ । सन् २००९ देखि लागेको आरोप २०१८ मा आइपुग्दा पुष्टि भयो र पद छाड्नुपर्यो ।
भ्रषटाचारको श्रृंखलाबाट बङ्गलादेश पनि अछुतो छैन । पूर्वप्रधानमन्त्री खालिदा जियालाई भ्रष्टाचारको आरोपमा जेल पठाइएको छ । खालिदाले बङ्गलादेशमा १० वर्ष प्रधानमन्त्रीको रुपमा कार्यभार सम्हालेका थिए । उनलाई राज्यशक्तिको दुरुपयोग गरेको आरोप लागेको छ । बङ्गलादेशमा राजनीतिकरुपमा सिध्याउन भ्रष्टाचारको आरोप लगाइएको र खालिदालाई पनि त्यस्तै गरिएको आलोचकले बताएका छ्न् ।
यस्तै फुटबलको महाशक्ति मानिने ब्राजिलका पूर्वराष्ट्रपति लुला डि सिल्भालाई पनि भ्रष्टाचारको आरोपमा कैद सजाय सुनाइएको छ । सो देशको सर्वोच्च अदालतले सिल्भालाई १२ वर्षको कैद सजाय सुनाएको छ । तर सिल्भाले भने निकट भविस्यमा हुनलागेको राष्ट्रपतिको निर्वाचनलाई प्रभावित पार्न भ्रष्टाचारको नाटक रचिएको प्रतिक्रिया दिदै आएका छन् ।
पेरुमा पनि पूर्वराष्ट्रपति पाब्लो माथि भ्रष्टाचारको आरोप लागेको छ । उनिमाथि लागेको आरोपको छानबिन भइरहेको छ । भारत, पोर्चुगल, रोमानिया, इजरायल, सर्बियालगायतका देशका शीर्ष नेता तथा राजनीतिज्ञमाथि पनि भ्रष्टाचारको आरोप लागेको छ ।
कुनै समय शक्तिशाली र लोकप्रिय नेता एक पछि अर्को गर्दै भ्रष्टाचारको आरोपमा पक्राउ परिरहेका छन् । यसले राजनीतिक इतिहास र विरासतको बदनाम गर्ने मात्र होइन कि विगतका आदर्शका शिखरहरु पनि एकाएक ढलेका छन् । कानुन भन्दा माथि कोही पनि रहेका छैनन् र हुँदैनन् भन्ने पनि पछिल्ला यी उदाहरणले देखाएको छ । धेरैजसो मुलुकमा भ्रष्टाचारका कारण राजनीतिक प्रणालीमाथि नै प्रश्न चिन्ह लाग्न थालेको छ । यसलाई सम्बोधन गर्न विश्व समुदायले कस्तो प्रयास गर्ने हो भन्ने विषय त भविस्यकै गर्भमा छ । (विभिन्न एजेन्सीको सहयोगमाा)