गैंडाका केटाकेटी रुपसी र भद्र चीन जादै : अर्को जोडी अर्को महिना
गैंडा हस्तान्तरणका लागि एक करोड ५० लाख रुपैयाँ खर्च चीनले ब्यहोर्ने
प्रकाशित २०७५ असार २८ बिहिबार
212
Shares
काठमाडौं । रुपसी र भद्र नामका एक जोडी गैंडा विशेष विमानमा चीन जादैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनलाई एक जोडी एकसिंगे गैंडा हस्तान्तरण गर्नु हुनेछ । खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राङ्गणमा हुने औपचारिक कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालका लागि चिनियाँ राजदूत यु होङलाई गैंडा हस्तान्तरण गर्ने कार्यक्रम छ ।
विहीबार विहान राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राङ्गणमा एक औपचारिक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गर्न लागेका हुन् । ती गैंडालाई चीनले विहीबार अपरान्ह ४ बजे कार्गो विमानबाट लैजाने कार्यक्रम छ । जसका लागि चीनबाट एकजना भेटेरेनरी चिकित्सक, दुईजना किपर र विमानचालक आउने छन् ।
नेपालले पहिलो चरणमा ‘भद्र’ र ‘रुपसी’ नामक एकसिंगे गैंडा चीनलाई हस्तान्तरण गर्न लागेको हो । अर्काे जोडी गैंडा एक महिनामै हस्तान्तरण गर्ने कार्यक्रम रहेको पनि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक खड्काले बताए ।
हस्तान्तरण कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत लगायतको उपस्थिति रहनेछ । विभागका महानिर्देशक मनबहादुर खड्काले एकसिंगे गैंडा चीनलाई उपहार स्वरुप दिन लागेकाले त्यसको सट्टामा केही नमागेको बताए ।
चीनलाई २ जोडी गैँडा दिएवापत वन्यजन्तु संरक्षण र सूर्यविनायकमा बनिरहेको जुलोजिकल पार्कमा आर्थिक सहयोग गर्ने बचन चीनले दिइसकेको छ । चितवनबाट गाडीमा राखेर ल्याइएको खोर सहितको गैंडा चिनियाँ कार्गो विमानमा चीन जाने छ । खोर विमानमा राखेर पनि चीनतर्फ पठाइने चितवनका चिफ वार्डेन बेद कुमार ढकालले जानकारी दिए । ती गैंडालाई ट्रकमा राखेर मंगलबार राति चितवनबाट काठमाडौं ल्याइएको थियो ।
चीनको ग्वान्जाओस्थित पान्युमा रहेको चिमेलोङ सफारी पार्कमा ‘रुपसी’ र ‘भद्र’ लाई राखिने सरकारी अधिकारीहरुले बताएका छन् । गैंडा हस्तान्तरणका लागि कुल एक करोड ५० लाख रुपैयाँ खर्च हुने जनाइएको छ । यो रकम चीन सरकारले नै बेर्होेन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।
‘रुपसी’ र ‘भद्र’ लाई चीनको ग्वान्जाओस्थित पान्यु जिल्लामा रहेको चिमेलोङ सफारी पार्कमा राखिने छ । गैंडासँगै पशु चिकित्सक, सहायक प्राविधिक र ३ जना केयर टेकर पनि चीन जाने छन् । निकुञ्जका वरिष्ठ पशु अधिकृत डा कमल गैरै, कोषका सहायक प्राविधिक किरण रिजाल र कोषका ३ जना केयर टेकर पनि चीन जाने छन् । विभागका सूचना अधिकारी नारायण रुपाखेतीका अनुसार २ जना केयर टेकरले १२–१२ घण्टा ‘रुपसी’ र ‘भद्र’ लाई निरीक्षण गर्नेछन् ।
नेपालले २०६२ फागनु १६ पछि कुनै पनि देशलाई गैंडा उपहार दिएको छैन । त्यतिबेला शाहीकालीन सरकारले अस्ट्रियाको भियनास्थित चिडियाखानालाई एक जोडी गैंडा उपहार दिएको थियो । नेपाल सरकारले चितवन राष्ट्रिय निकुञ्जमार्फत बिभिन्न देशमा २६ गैँडा उपहारस्वरुप पठाइसकेको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदप्रसाद ढकालका अनुसार अमेरिकामा छ र भारतमा चार तथा बंगलादेश, पाकिस्तान, थाइल्याण्ड, म्यान्मार, जापान, जर्मनी, बेलायत र अष्ट्रियामा दुई दुई गैडा पठाइएको छ ।
अब २ गैडा चीन पठाएसंगै २८ गैडा बिदेश जाने भएका छन । बाह्र वर्षपछि अहिले दुई जोडी गैँडा चीन पठाउन लागिएको हो । निकुञ्ज तथ्यांकअनुसार पहिलो पटक सन् १९८५ मा भारतको दुधुवामा चार गैँडा पठाइएको थियो ।
पछिल्लो पटक सन् २००६ मा अष्ट्रियामा एक जोडी गैँडा पठाइएको थियो । यसअघि गैँडा पठाएर भारत, म्यान्मार र थाइल्याण्डबाट हात्ती ल्याइएको थियो । निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रामप्रीत यादवले गैँडा दिएर भारतबाट मात्र १६ हात्ती ल्याइएको जानकारी दिए ।
उपहारको गैंडाबाट कृत्रिम गर्भाधान गर्न नपाउने
वन तथा वातावरण मन्त्रालय र चीनको राज्य वन प्रशासन (द स्टेट फरेस्ट्री एडमिनिस्ट्रेसन)ले उपहारस्वरूप दिइएका गैंडाबाट कृत्रिम प्रजनन विधि अपनाएर संख्या बढाउन नपाउने सम्झौता गरेका छन् ।
मन्त्रालय र चीनबीच १५ महिनाअघि पालना गर्नुपर्ने बुँदाबारे सम्झौता भएको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खडकाका अनुसार उपहार दिइएका गैंडाबाट चीनले कृत्रिम प्रजननका साथै ‘जेनेटिकल्ली मोर्डिफाइ अर्गा्निज्म र लिभिङ मोडिफाइ अर्गा्निज्म’ को अनुसन्धानसमेत पाउने छैन ।
चीनले कृत्रिम प्रजननमार्फत बाघको संख्या ५ हजार पुर्याएको छ । कुनै पनि कृत्रिम प्रजननमार्फत उपहार दिइएका गैंडाबाट संख्या बढाउन निषेध गरिएको छ, महानिर्देशक खडकाले भनेका छन्, ‘गैंडा दिनुको मुख्य उद्देश्य दुई देशबीच द्विपक्षीय सहयोग र सहकार्यलाई प्रोत्साहन गर्नु हो ।’