arrow

रसियाको नियन्त्रणमा छ जर्मनी : ट्रम्प

logo
प्रकाशित २०७५ असार २८ बिहिबार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्मनीले अत्यधिक मात्रामा रसियाबाट ग्यास आयात गरिरहेको आरोप लगाएका छन् ।  नाटो सम्मेलनमा बोल्दै ट्रम्पले भने, “जर्मनी पूरै रसियाको नियन्त्रणमा रहेको छ किनकी उनीहरु आफ्नो ६० देखि ७० प्रतिशतसम्मको ऊर्जा रसिया र नयाँ पाइपलाइनबाट आयात गरिरहेका छन् ।”

जर्मनी चान्सलर एन्जेल मर्केलले ट्रम्पको आरोपको जवाफ दिँदै कुनै समय जर्मनी सोभियत संघको नियन्त्रणमा रहेको भए पनि अहिले जर्मनीमा रसियाको कुनै किसिमको भूमिका नरहेको स्पष्ट पारिन् । 

युरोक्षेत्रको तथ्यांक विभागले दिएको जानकारीअनुसार जर्मनीको समग्र ग्यास आयातमा रसियाको भूमिका ५० देखि ७५ प्रतिशतको बीचमा रहेको छ । बाँकी ग्यास भने उसले नर्वेबाट आयात गर्ने गरेको छ । 

यद्यपि ट्रम्पले भने समग्र ऊर्जाको ६० प्रतिशत रसियाबाट आउने गरेको आरोप लगाएका हुन् । आधिकारिक तथ्यांकअनुसार जर्मनीको समग्र ऊर्जाको क्षेत्रमा ग्यासको हिस्सा २० प्रतिशतभन्दा पनि कम रहेको छ । 

अहिले जर्मनी आफ्नो मुलुकमा कोइला तथा न्युक्लियर ऊर्जाको खपत घटाउने योजनामा अघि बढिरहेको छ । यसको अर्थ उसको लागि ग्यास र नवीकरणीय ऊर्जाको खपत बढाउनुपर्ने हुन्छ । जसको कारण रसियाबाट उसको ग्यास आयातमा वृद्धि भएको हो । 

पछिल्लो समय जर्मनीले थप ग्यास आयातका लागि नयाँ पाइपलाइनको व्यवस्था गरेको अवस्थामा अमेरिकी राष्ट्रपति ट्रम्पले त्यसलाई संकेत गर्दै जर्मनीको आलोचना गरेका हुन् । 

रसियादेखि जर्मनीसम्मको पाइपलाइनको निर्माण एक निजी कम्पनीले गरेको थियो । जसका लागि ९ अर्ब ५० करोड युरो खर्च लागेको थियो तर यसमा जर्मनी सरकारले भने कुनै किसिमको सहयोग गरेको थिएन । अहिले सोही पाइपलाइनको विषयलाई लिएर जर्मनीमाथि दबाब बढेको हो । 

ट्रम्पले भने यो योजनामा पूर्व चान्सलर गर्हाड स्कोइडरको भूमिका रहेको बताउँदै आएका छन् । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ