उपसभापति निधि र एसिया-अष्ट्रेलिया निर्देशक फिलिपबीच भेटवार्ता
प्रकाशित २०७५ असार २८ बिहिबार
501
Shares
काठमाडौं। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संबिधान जारी भएर मात्र संघीयता कार्यान्वयन नहुने हुँदा प्रदेशको पूर्बाधारमा जोड दिनुपर्ने बताएका छन् ।
नेपाल भ्रमणमा रहेका फोरम अफ फेडेरेशनस्का एसिया-अष्ट्रेलिया निर्देशक फिलिप गोन्जालेजसंग बिहिबार बिहान कांग्रेस मुख्यालय सानेपामा भएको भेटमा उपसभापति निधिले प्रदेशको पूर्बाधारमा जोड दिएका हुन् । उनले पर्याप्त साधनस्रोत बिना प्रदेश सरकारलाई काम गर्न कठिनाई हुने उल्लेख गरे। प्रदेश सरकारले आफ्नो प्रदेशको समृद्धिका लागि के गर्न सकिन्छ भनेर स्थानीयसंग छलफल र अन्तरक्रिया गरी समृद्धिका आधार खोज्नु पर्ने उपसभापति निधिको भनाई थियो ।
उपसभापति निधिसंगको भेटमा फोरम अफ फेडेरेशनस्का एसिया-अष्ट्रेलिया निर्देशक फिलिप गोन्जालेजले नेपालजस्तै संघीय संरचना भएका देशमा फेडेरेशनस्ले गरेका कामबारे चर्चा गर्दै प्रदेशको पूर्बाधार र जनप्रतिनिधिको सशक्तिकरणमा जोड दिनुपर्ने उल्लेख गरे। सुशासनका क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय सो संस्थामा क्यानाडा, अष्ट्रेलिया, जर्मनी, स्वीजरल्याण्ड लगायतका १० राष्ट्र आबद्ध छन् ।