arrow

पहिरोले पुरेर तीन जनाको ज्यान गएको पीडित परिवारलाई एक लाख 

logo
प्रकाशित २०७५ असार २९ शुक्रबार
bhaktapur-duban.jpg

भक्तपुर । चाँगुनारायण नगरपालिका–७ मझुवामा बिहीबार बिहान आएको पहिराले टहरा पुरेर मृत्यु भएको लामा परिवारलाई तत्काल रु एक लाख राहत दिइने भएको छ । 

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले प्रकोपपीडित उद्धार र राहतसम्बन्धी मापदण्ड (छैटौँ संशोधन) २०७४ बमोजिम लामा परिवारलाई रु एक लाख राहत दिने निर्णय गरेको हो । टहरा पुरिँदा एकै परिवारका ७० वर्षीय हीरा लामा, ६५ वर्षीया पानमाया र साढे दुई वर्षीया सम्पदा गरी तीन जनाको मृत्यु भएको थियो । 

समितिको बैठकले डुबानका कारण विस्थापितलाई खाद्यान्न, स्वच्छ खानेपानी, लत्ताकपडालगायत राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित स्थानीय तहको संयोजनमा अन्य सरोकारा भएका निकाय तथा संघसंस्थाको समन्वयमा एकद्वार प्रणालीबाट व्यवस्थापन गर्ने निर्णयसमेत गरेको छ । 

डुबान क्षेत्रमा रोगको प्रकोप फैलन नदिन जिल्ला जनस्वास्थ्य कार्यालयको संयोजनमा आवश्यक तयारी गर्ने र भविष्यमा आइपर्ने विपद्मा छिटो उद्धार गर्न स्थानीय तहका प्रमुख र सुरक्षा निकायका प्रमुख सम्मिलित ‘क्विक रेस्पोन्स टिम’ गठन गर्ने निर्णयसमेत भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए ।

बैठकले विपद् तथा मनुसन पूर्वतयारी कार्ययोजनाको समीक्षा गरी आवश्यकतानुसार सम्बन्धित निकायले पुनरवलोकन गर्ने तथा बाढी, पहिरो र डुबानका कारण भएको क्षतिको विवरण सम्बद्ध सरोकारवाला निकायको सहयोगमा सम्बन्धित स्थानीय तहले संकलन गरी समितिलाई उपलब्ध गराउने निर्णयसमेत गरेको छ । 

प्रजिअ भट्टको अध्यक्षतामा बसेको बैठकमा प्रतिनिधिसभा सदस्यद्वय प्रेम सुवाल र महेश बस्नेत, प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं, जिल्ला समन्वय समितिका अध्यक्ष नवराज गेलाल, नगर प्रमुख, राजनीतिक दल र सरोकार भएका निकायका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख र सञ्चारकर्मीको सहभागिता थियो । 

यसैबीच बाढी र डुबानमा फसेका १११ जनाको सकुशल उद्धार गरिएको र सोमध्ये घाइते भएका सल्लाघारी बस्ने १८ वर्षीया अमृता श्रेष्ठ, १९ वर्षीया अरुली श्रेष्ठ र सिर्जना नगर बस्ने ६५ वर्षीया सोमती लामा भक्तपुर अस्पतालमा उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ । 

बाढीका कारण हालसम्म २५ चौपाया र कुखुराका दुई हजार चल्ला बगाएको, ५० घर तथा टहरामा आंशिक क्षति पुगेको, करीब ५०० घर परिवार आंशिक विस्थापित हुनाका साथै अन्नबाली, लत्ताकपडालगायत जिन्सी सामान क्षति भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता रेवतीरमण पोखरेलले जानकारी दिए । उनका अनुसार क्षतिको यकिन विवरण संकलन जारी रहेको छ । 

बाढी तथा डुबान क्षेत्रको उद्धारका लागि नेपाल प्रहरीका ७८८ जवानसहित नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस सोसाइटी भक्तपुर र विभिन्न उपशाखाको टोली परिचालन भएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ