काठमाडौं। सिंहदरबार उत्तर ढोका अघिको विद्युत् खम्बामा लागेको आगो नियन्त्रणमा आएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ।
अपराह्न करीब ३ बजेतिर ट्रान्समिटर भएको खम्बाको तारमा आगलागी भएपछि नेपाली सेनाको दमकलले नियन्त्रणमा लिएको वृत्तका प्रहरी नायब निरीक्षक धनबहादुर तामाङले राससलाई जानकारी दिए।
विद्युत्को लाइनबाट भएको आगलागीसँगै जञ्जालका रुपमा जेलिएको केवल सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायकलगायत तारका कारण आगलागी फैलिएको थियो।
तार जलेर नष्ट भए पनि मानवीय एवम् अन्य धेरै भौतिक क्षति भने हुन पाएन। समयमै नेपाली सेनाको दमकल आइपुगेकाले ट्रान्समिटर पनि जल्न नपाएको प्रहरी नायब निरीक्षक तामाङले बताए।
राजधानीको प्रमुख र व्यस्त प्रशासनिकस्थल अघिको आगलागीले पैदल यात्रु, सवारीसमेत केही समय रोकिएको थियो। रासस