arrow

नागरिकका अधिकार कुण्ठित गरेर सरकार अघि बढ्दैछ: सिटौला

logo
सुशिला संग्रौला,
प्रकाशित २०७५ असार २९ शुक्रबार
krishna.jpg

बिर्तामोड। नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले सरकार नागरिकका अधिकारलाई कुण्ठित गरेर अघि बढ्न नसक्ने बताएका छन् ।  

शुक्रवार बिर्तामोडस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा भएको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले सरकार समृद्धिको परिकल्पना अनुसार हिंड्न नसकेको र सरकार सधैं समृद्धिको बाटोमा चल्न सक्नुपर्ने बताएका छन् । 

नेता सिटौलाले अहिलेको सरकार बेथितितिर जान लागेको उल्लेख गर्दै यसलाई रोक्नुपर्ने बताए । नेता सिटौलाले भने–‘संसदभित्र नेपाली कांग्रेसले प्रतिपक्षीको भूमिका जुन रुपले निभाउनुपर्ने हो त्यो हुन सकेको छैन, अब नेपाली कांग्रेसको महासमितिको बैठकपछि मात्र यसले अर्को रुप लिनसक्छ ।’

गोविन्द केसीको विषयमा नेता सिटौलाले भने–‘गोविन्द केसी स्वास्थ्य क्षेत्रमा जोडिएकाले विगतको सरकारले पनि केसीका माग पुरा गरेको हो तर, अहिलेको सरकारले उनका माग वेवास्ता गरेको छ ।’ उनले सरकार सम्पूर्ण संवैधानिक अंग आफ्नो दाउमा पार्ने पक्षमा छ तर यसलाई हामीले रोक्न सक्नुपर्छ नत्र देश दुर्घटनामा पर्नसक्छ । उनले भने–‘सरकारले जनताको लागि काम गर्ने हो तर, ओली सरकार जनताका लागि नभएर आफ्नो पार्टी विशेषमा ध्यान केन्द्रीत भएको देखिन्छ ।’

नेपाल प्रेस युनियन झापाका अध्यक्ष कृष्ण हुमागाँईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका पूर्व जिल्ला उपसभापति देउमान थेवे, क्षेत्र नं. ३ का क्षेत्रीय सभापति गणेश पोखरेल, नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य लोकराज ढकाल, बिर्तामोड उद्योग वाणिज्यका अध्यक्ष कुमार भट्टराई लगायतको उपस्थिति रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ