arrow

'हाम्रो विचारमा छविलाल निर्दोष छन्' : प्रचण्ड

logo
प्रकाशित २०७५ असार २९ शुक्रबार
prachanda-g-new.jpeg

चितवन ।  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले फुजेल घटनाका आरोपि छविलाल पौडेल निर्दोष रहेको जिकिर गरेका छन्  । शुक्रबार चितवनमा विभिन्न सडकको शिलान्यास गर्ने क्रममा उनले सो बताएका हुन् ।  

अनसनरत डा. गोविन्द केसीप्रति आवश्यक लचकता अपनाएर वार्ता गर्न सरकार तयार रहेको उल्लेख गर्दै उनले फुजेल घटनामा न्यायालयको फैसलाको सम्मान गर्ने बताए ।  अध्यक्ष दाहालले भने, “हाम्रो विचारमा छविलाल निर्दोष छन्, केही दिनभित्र निर्दोष सावित हुन्छन् ।”

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याको अभियोगमा छविलाल पौडेललाई पुर्पक्षका लागि चलान गरिएको छ  । सर्वोच्च अदालतमा आत्म समर्पण गर्न पुगेका पौडेललाई सदरखोर डिल्लीबजारमा राखिएको छ ।

कृष्णप्रसाद हत्याको आरोप लागेका पौडेललाई चितवन जिल्ला अदालतले २०७१ साल बैशाखमा धरौटीमा छाडेकोमा पुनरावेदन अदालतले पनि सोही आदेशलाई सदर गरेको थियो । तर, सर्वोच्च अदालतले २०७२ साल पुसमा जिल्ला र पुनरावेदन अदालतको फैसला उल्ट्याउँदै पौडेललाई थुनामा राखेर कानुन बमोजिम गर्न आदेश दिएको थियो ।

छविलाल पौडेल लगायतलाई कारबाहीको माग गर्दै कृष्णप्रसाद अधिकारीकी आमा गंगामाया अधिकारी लामो समयदेखि अनसनमा छिन् । पछिल्लो पटक गंगामाया शहीद दिवसका दिनदेखि वीर पतालमा आमरण अनसनमा छिन् । उनको अहिले आईसीयुमा राखेर उपचार भईरहेको छ ।

गंगामायाका पति नन्दप्रसाद अधिकारीको न्यायका लागि अनशन बसिरहेकै बेला २०७१ असोजमा वीर अस्पतालको शय्यामा मृत्यु भएको थियो । नन्दप्रसादको शव अहिले पनि शिक्षण अस्पताल महाराजगञ्जमै छ ।

२०६१ साल जेठ २४ गते एसएलसी जाँच दिएपछि चितवन मावली हिँडेका  कृष्णप्रसाद अधिकारीलाई तत्कालिन माओवादी कार्यकर्ताले सुराकीको आरोपमा हत्या गरेका थिए । पछि उनका नेठा दाजु नुरप्रसाद अधिकारीले हत्यामा संलग्नविरुद्ध किटानी जाहेरी दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ