arrow

व्यापार युद्धका बीच चिनियाँ कम्पनीमाथिको प्रतिबन्ध हटाउने अमेरिकाको निर्णय 

logo
प्रकाशित २०७५ असार ३० शनिबार
ZTE.jpg

काठमाडौं । अमेरिकाले चिनियाँ कम्पनी जेटीईमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेटीईमाथिको प्रतिबन्ध हटाउनका लागि निर्देशन दिएका हुन् । 

गएको अप्रिल महिनामा चिनियाँ कम्पनीले अमेरिकासँगको सम्झौता पालना नगरी इरान र उत्तर कोरियासँग व्यापार गरेको भन्दै प्रतिबन्ध लगाइएको थियो । यद्यपि अमेरिकाले जेटीई कम्पनीलाई थप जरिवाना हुनसक्ने र उसको व्यवस्थापनमा हेरफेर हुनुपर्ने बताएको छ । 

अमेरिकाको वाणिज्य विभागले अहिले कम्पनीले सबै चरणहरु पार गरिरहेको कारण उसमाथिको प्रतिबन्ध हटाइने निर्णय गरिएको जानकारी दिएको छ । गत महिनामा अमेरिकाले जेटीईमाथि १ अर्ब अमेरिकी डलरबराबरको जरिवानाको निर्णय गरेको थियो । साथै अहिले आगामी दिनमा कुनै किसिमको नियम भङ्ग हुनसक्ने भन्दै ४० करोड डलर डिपोजिट गर्नको लागि निर्देशन दिइएको छ । 

अहिले जेटीईमाथिको प्रतिबन्ध हटाइएको भए पनि जेटीईको व्यापारको विषयमा आगामी दिनमा निरन्तर नियमन भने जारी रहने अमेरिकाले बताएको छ । 

चीनको दोस्रो सबैभन्दा ठुलो टेलिकम सामग्रीहरु निर्माता कम्पनी जेटीई आफ्ना ह्याण्डसेटहरु निर्माणको लागि अमेरिकामा बन्ने सामग्रीहरुमा निर्भर रहेको छ । 

अमेरिकाले लगाएको प्रतिबन्ध हटाउनका लागि चीनले गरेको आग्रहपछि ट्रम्पले यो योजनालाई पुनर्विचार गर्नका लागि वाणिज्य विभागलाई निर्देशन दिएका थिए । अमेरिकाको संसदमा भने जेटीईमाथिको प्रतिबन्ध फुकुवा गर्ने विषयमा व्यापक विरोध भएको थियो । सांसदहरुले यसले अमेरिकाको राष्ट्रिय सुरक्षामा नकारात्मक असर पार्नेभन्दै प्रतिबन्ध फुकुवा गर्नु नहुने मत राखेका थिए । 

सन् २०१७ मा पनि जेटीईले अमेरिकाको नियम उलंघन गरेको भन्दै करिब ९० करोड डलरबराबरको जरिवाना बुझाएको थियो । पछिल्लो समय चीन र अमेरिकाको बीचमा देखिएको व्यापारिक तनावको अवस्थामा अमेरिकाको यस किसिमको निर्णय आएको हो । अमेरिका र चीन दुवैले एकअर्काको मुलुकबाट आउने ३४ अर्ब डलरबराबरको सामग्रीहरुमा कर बढाउने निर्णय कार्यान्वयनमा ल्याएका छन् । साथै अमेरिका २ खर्ब डलरबराबरको चिनियाँ सामग्रीहरुमा कर बढाउने तयारी गरिरहेको छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ