arrow

बडिमालिका नगरपालिकाको बजेट ३६ करोड २८ लाख

logo
रमित बि.क.,
प्रकाशित २०७५ असार ३० शनिबार
badhimalika1.jpg

बाजुरा । बडिमालिका नगरपालिका बाजुराले आगामी आर्थिक वर्ष २०७५-०७६ का लागि ३६ करोड २८ रुपैयाँ बजेट विनियोजन गरेको छ । नगरपालिकाकी उपप्रमुख एवं बजेट तर्जुमा समिति संयोजक कविता विष्टले शनिबार उक्त रकम बराबरको बजेट सार्वजनिक गरेकी हुन् । उनले आगामी आर्थिक वर्षको बजेट पेश गदैँ चालु आर्थिक वर्षमा सञ्चालनमा रहेका विभिन्न योजना तथा कार्यक्रमको प्रभावकारिता र महत्व हेरेर योजना तथा कार्यक्रमहरुलाई निरन्तरता दिईएको बताइन् ।

नगरपालिकाको पूर्वाधार निर्माणका लागि नगर यातायात गुरु योजना बमोजिम तथा नेपाल सरकार र प्रदेश सरकारले प्रतिवद्धता सहित दिगो विकासका लक्ष्यहरु हाँसिल गर्न मदत पुर्‍याउने गरी बजेट विनियोजन गरिएको नगर प्रमुख पदम बडुवालले बताए । नगरपालिकाले चालु आर्थिक वर्षमा कुल १६ करोड ४४ लाख ६१ हजार  रुपैयाँ विनियोजन गरेको थियो ।

सो बजेटबाट बृहत मार्तडी खानेपानी लगायत २० वटा खानेपानी योजना निर्माण तथा मर्मत भएर खानेपानीको सहज आपूर्ति भएको नगरपालिकाको भनाई छ ।जिल्ला सदरमुकाम मार्तडीमा बन कार्यालय देखि जिल्ला अस्पताल प्रवेशद्धार र गौडादेखी खुलामञ्च सम्मका सडक ठेक्का भई निर्माण प्रकृयामा रहेका छन् । त्यस्तै सामाजिक क्षेत्रमा छाउपडी गोठमुक्त अभियान सहित महिला हिंसा न्यूनिकरण लगायतका क्षेत्रमा प्रगति नगर पालिकाको दावी छ ।

संघीय सरकारबाट प्राप्त समानीकरण अनुदान रु १० करोड ५९ लाख, सशर्त अनुदान १३ करोड ३३ लाख, समपुरक अनुदान  २ करोड १५ लाख ६ हजार, प्रदेश सरकारबाट समानिकरण अनुदान ६७ लाख २९ हजार, प्रदेश सरकारबाट राजश्व बाँडफाँड बापत १४ लाख ८९ हजार, प्रदेश सरकारबाट समपूरक अनुदान ६० लाख तथा यस नगरपालिकाको राजश्व परिचालनबाट प्राप्त हुने ५५ लाख, यूनिसेफ नेपालबाट प्राप्त हुने  ७७ लाख १३ हजार र नगरपालिका क्षेत्रमा कार्यक्रम लागु भएका गैह्रसरकारी संघसंस्थाहरुबाट ८६ लाख २० हजार लगायत विविध शिर्षकबाट ४५ लाख बजेट समेतलाई समावेश गरी कुल ३६ करोड २८ लाख ६४ हजार ८ सय ३३ रुपैया विनियोजन गरिएको छ ।


आगामी आर्थिक वर्षमा समृद्ध बडीमालिका नगरपालिका निर्माणका पाँच पाइला, इ–बडीमालिका, उज्यालो बडिमालिका, गन्तव्य बडिमालिका, स्वच्छ र सफा बडिमालिका र जनताको शासन जनमैत्री प्रशासनलाई सफल बनाउन आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम तयार नगरपालिकाले जानकार दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ