arrow

प्रधानमन्त्री ओलीले बुझेकै राम्रो डा गोविन्द केसी दिगम्वर होइनन

प्रधानमन्त्रीज्यू तपाँइलाई मृगौला दिएकी महिलालाई सोध्नु के गर्ने भनेर?

logo
अजयबाबु शिवाकोटी,
प्रकाशित २०७५ असार ३१ आइतबार
KP-Oli.jpg.jpeg.jpeg

काठमाडौं। गुणस्तरिय स्वास्थ्य शिक्षा आम नागरिकको पहुचमा पुग्नुपर्ने माग राख्दै जुम्लामा १५औं आमरण अनशनमा रहेका डा गोविन्द केसीको स्वास्थ्य नाजुक बन्दै गएको छ। उनको स्वास्थ्यको बारेमा चिकित्सकहरु नै चिन्तित देखिन थालेका छन्। तर हठ योगी डा केसी भने आफ्नो भन्दा पनि सत्याग्रहलाई तुहाउने खेल हुने हो की भन्नेमा चिन्तित छन्। उनी आफ्नो ज्यानको पर्वाह नगरि आफूले राख्दै आएको मागलाई सम्वोधन हुनुपर्ने बताइरहेछन्। उनले माथेमा आयोगको प्रतिवेदनमा टेकेर ल्याइएको चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापक विधेयक ल्याउनु पर्ने माग राखेका छन्। तर प्रधानमन्त्री केपी ओली र उनको नेतृत्वको दुई तिहाइको अजंगको सरकार यसलाई सुन्न तयार देखिएको छैन। बरु चरेसका थालमा मार्सी चामलको भुजा ज्यूनार गराउने नाफाखोर मेडिकल शिक्षाका व्यापारीको कुरा सुन्न ओली अग्रसर छन्। अनि यो समुह डा केसी मरेपनि केहि हुन्न भन्दै मिडियामा अन्तर्वार्ता दिदै हिडिरहेको छ। 

आम नागरिकको अधिकारको लागि लडिरहेका सत्याग्रहीको घाँटी निमोठ्न सरकार तथा त्यसको नेतृत्व मेडिकल माफियाहरुसँग मिलेर लागिपरेको छ। सकेसम्म गलाउने, नसकेपछि थर्काउने रणनीति अख्तियार गरिरहेको सरकारलाई अहिले केसीको पक्षमा उर्लिदो जनमत टाउको दुखाई भएको छ। सरकार आफ्नो लोकप्रियतामाथि षडयन्त्र भएको भन्दै फलाक्न थालेको छ। नेकपाको प्रचार संयन्त्र पुरै डा केसीलाई हिलो छ्यापेर बद्नाम बनाउन उद्यत छ। नेकपामा केहि आश लाग्दा नेताहरु पनि डा केसीलाई हिलो छ्याप्ने नाममा आफ्नै मुखमा पनि कालो पोत्न थालेका छन्। यि सबै प्रयासका वावजुद पनि केसी गल्ने छाट छैन। केसी आफ्नो माग पुरा नभइ काठमाडौं नफर्कने बताइरहेका छन्। सरकार अझै उनको कुरा सुन्न तयार छैन। माग पुरा नभएको अवस्थामा आफ्नो लास लिएर मात्र काठमाडौं फर्कन सहयोगीहरुलाई डा केसीले अह्राएका छन्। नेपालको गुणस्तरीय स्वास्थ्य शिक्षाको लागि डा केसीको यो हठ अतुलनीय छ। तर सरकार यसलाई स्वार्थ समुहको लागि नजरअन्दाज गरिरहेको छ। 

सरकार डा केसीलाई अझै पनि कसरी फकाउन र गलाउन सकिन्छ भनेर सोचमा मात्र परहेको देखिन्छ। जसरी नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झालाई तर्साउन र गलाउन सकियो त्यसैगरि केसीलाई पनि गलाउन र तर्साउन सकिन्छ की भन्ने सोच केपी ओली र उनका सहयोगीलाई भएको देखिन्छ। कार्यविधी र प्रक्रिया पुर्‍याएर नियुक्त भएको आफूलाई समयावधी नपुग्दै पदबाट हटाएको भन्दै झा न्याय माग्न सर्वोच्च पुगेका थिए। सर्वोच्चले पनि उनको कागजपत्र हेरेर उनलाई काममा फर्काउन सरकारका नाममा आदेश दिदै थप छलफलकालागि साउन ३ गते अदालतमा उपस्थित हुन सरकारकै नाममा आदेश गरेको थियो। बिहिवार सरकारका नाममा सर्वोच्चले दिएको अन्तरिम आदेश मसी सुक्न नपाउँदै झाले शुक्रवार आफ्नो रीट निवेदन फिर्ताको लागि अर्को निवेदन दिए। निवेदन दिएपछि फोन समेत अफ गरेर बसेका झा न्याय क्षेत्रमा मजाकका पात्र भए। केपी ओली नेतृत्वको सरकारको निर्णय विरुद्ध कोहि बोल्न समेत डराइरहेका बेला आफूले आँट गरेर मुद्धामा गएको बताउने झा केहि दिन पनि टिक्न सकेनन्। उनी आफै कर्कलो गले झै गले। मुद्धा फिर्ता लिन निवेदन दिए। मुद्धा फिर्ता लिने सो घटना पछाडी उनीमाथि कुन किसिमको दवाव सिर्जना गरिएको थियो त्यसको कुनै दिन पटाक्षेप होला तर यस घटनामा सानोतिनो दवाव छैन भन्ने चाहि घटनाक्रमले संकेत गरेको छ।

न्याय माग्न जाने नै मलाई अब न्याय चाहिएन भनेर फर्कने स्थिति सामान्य घटना होइन। अदालत बाहिर भएकै ठूलै चलखेलले यो परिस्थित बनेको धेरैको आशंकाको निवारण अब झाको कुनै स्पष्टोक्तीले पनि हुनेवाला छैन। सरकार आफ्ना विरुद्धका कुनै पनि कुरा साम, दाम, दण्ड, भेद कुनै पनि विधी उपयोग गरि निष्तेज पार्न चाहन्छ र सक्षम छ भन्ने संकेत झा प्रकरणबाट दुनियाँलाई देखाउन चाहिरहेको यो घटनाले पुष्टी गरेको छ। अघिल्लो सरकारको पालामा कार्यविधी र प्रक्रिया पुर्‍याएर भएका नियुक्तीलाई एकैपटक खारेज गर्ने ओली सरकारको निर्णय विरुद्ध अदालत पुगेकाहरु एकपछि अर्को गर्दै अदालतको आदेशमा पुनर्स्थापितको प्रक्रियामा गएपछि सरकार रक्षात्मक भएको छ। अरु नियुक्तीमा खासै वास्ता नगरेपनि ठूलै चलखेल हुने ठानिएको प्राधिकरणमा ओली र उनको नेतृत्वको सरकारले झालाई चुप लगाएर त्यहाँ आफ्नो वफादार ल्याउन चाहँदा अदालतमा उनको मुद्धा फिर्ताको निवेदन परेको स्पष्ट छ। झालाई गलाए झै डा केसीलाई पनि गलाउन सकिन्छ की भनेर सरकार एकातिर ढीलो गररहेको छ भने अर्कातिर नेकपाकै वोलवाला चल्ने संसद पनि सरकारकै छायाँमा छ। डा केसीलाई पनि झालाई जस्तै थर्काउने गलाउने धम्क्याउने काम भइरहेको छ। यसका लागि नेकपाका सबै तहका नेता कार्यकर्ता हात धोएर लागेका छन्। साथै उनका मेडिकल माफिया समुह छदैछ। 

तर यहाँ प्रधानमन्त्री केपी ओली र उनको मण्डलीले नबुझेको कुरा के हो  भने केसी प्राधिकरणका दिगम्बर झा होइनन्। जो सानो कुराले प्रभावित भइ कर्कलो झै गल्न सक्छन। आफ्नो ब्रम्हले देखेको कुरामा अडिग रहने हठी स्वभावका केसीलाई झालाई झै न कुनै मोह छ न कुनै डर छ। सांसारिक जीवनसँग मोह नराख्ने जोगी प्रवृतीका केसी जगतको हित चाहन्छन। आम नागरिकको हित र भलो चाहने केसी आफ्नो जीवन दाउमा लगाएरै भएपनि वहुजन हिताय सोच्छन। आफ्नो जीवन छोड्छु भनेर हिडेका केसी आफ्नो जागिर वा त्यस्तै सानातिना कुराको लोभमा छैनन। न कुने धम्कीको पर्वाह गर्छन। धम्कीले डराउँथे भने प्रधानमन्त्री ओलीले नै आफ्ना विरुद्ध हुँदा केसीको आजको दिनमा होस हवास नै उडिसकेको हुन्थ्यो। ओलीले च्यापेका दुर्गा प्रसाई केसी जस्ता मरेपनि केहि हुँदैन भन्दै धुप हालेर बसेका छन्। न्वारानदेखिको बल लगाएर नेकपाका कार्यकर्ता केसीलाई भेटेमा अहिले नै अचार बनाएर खाउँला झै सामाजिक सञ्जालमा भडास निकालेर बसेका छन्। तर पनि केसी गलेका छैनन। बरु मर्न तयार छन् तर अविवेकी केपी ओली सरकारसँग झुक्न तयार छैनन। यो अवस्थामा केपी ओलीलाई कुनै उनका सल्लाहकार वा सहयोगि कसैले केसीलाई झालाई जस्तै तह लगाउन सकिन्छ भन्ने भ्रमपूर्ण सल्लाह दिइरहेको छ वा ओलीलाई पनि त्यस्तै लागिरहेको छ भने त्यो भ्रमबाट ओली अहिले नै निस्कदा उत्तम हुन्छ।

प्रधानमन्त्रीजीले बुझ्दा हुन्छ जनहितका लागि आफ्नो ज्यान त्याग गर्न तयार रहेको केसीको हठको अगाडी तिम्रो राज्यशक्तिको तागत कमजोर पर्नेछ। केसी मरेपनि मेरो शासन अकण्टक छ भन्ने भ्रम पनि ओलीले नपाल्दा हुन्छ। केसीलाई तलमाथि भएको दिन त्यो तिम्रो सत्ताको पनि दिनगन्ती शुरु हुन्छ। संसारकै उत्कृष्ट स्वास्थ्य सेवा लिएर तिमि आफू बाँचिरहेको जिन्दगी जस्तै नेपालका सर्वसाधारण नागरिकलाई गुणस्तरीय सेवा दिने चाहनामा अब केपी ओलीजी तिमि पनि वाधक बन्न सक्नेछैनौ। एकपटक सोधेर हेर तिमिलाई किड्नी दिएका अनि उपचारका क्रममा रगत दिएकाहरुलाई केसीलाई मर्न छोडेर माफियाको काखमा रमाउने तिम्रो हर्कतमा सायद उनीहरु पनि सहमत छैनन होला। केसीको माग सम्वोधन गर्दै उनलाई बचाउ त्यसैमा तिम्रो सत्ता पनि सुरक्षित हुन्छ तिम्रो पार्टीको भविष्य पनि सुरक्षित हुन्छ। माफिया र लोभि कार्यकर्ताको उक्साहटमा हैन जनताको भावनाको सम्वोधन गर। जनताको नाममा राजनीति गर्दै आएको तिमिलाई नै जनताको अजेय शक्तिको ज्ञान होला। फेरि पनि स्मरण गराउँछु डा केसीलाई दिगम्बरसँग तुलना गर्ने भुल नगर्नु।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ