arrow

सवारी दुर्घटनाबाट झापामा मात्रै ९३ जनाको मत्यु

दुर्घटना न्यूनिकरण गर्न यस्तो कदम चालियो

logo
गोपाल अधिकारी,
प्रकाशित २०७५ असार ३१ आइतबार
police-accident-pokhara.jpg

झापा । सवारी दुर्घटनामा परी गएको ११ महिनामा झापामा मात्रै ९३ जनाको मृत्यु भएको छ । चालु आर्थिक  वर्षको ११ महिनामा झापामा १६ जना महिलासहित ९३ जनाको मृत्यु भएको हो । प्रत्येक वर्ष सवारीको चाप बढ्नु, सडकको स्तरोन्नति नहुनु र तीव्र गतिका कारण दुर्घटना हुने गरेको ट्राफिक प्रहरीले बताएको छ ।

अधिकांश दुर्घटना पूर्व – पश्चिम राजमार्गको पूर्व मेची नदीदेखि पश्चिमको मावा खोलासम्मको ५५ किलोमिटर दमकस्थित क्याम्पसमोड, पाडाजुँगी, डूँडामारी, माईधार, जुकेकल्भर्ट, लक्ष्मीपुर, रामचोक, वुट्टावारी र धाइजनमोड सडकखण्ड रहेको ट्राफिक प्रहरीको तथ्याङ्क छ । ट्राफिकले यो क्षेत्रलाई  बढी सवारी दुर्घटना हुने स्थल ( ब्ल्याकस्पर्ट एरिया) को रुपमा घोषणा गरेको छ ।यसरी निरन्तर सवारी दुर्घटना बढ्दो देखिएपछि दुर्घटना न्युनिकरणका लागि ट्राफिक प्रहरीले गति मापन यन्त्र (र्‍याडरगन) को प्रयोग सुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश राईले संयमता नअपनाई तीव्र गतिमा सवारी चलाउने कारण नै बढी दुर्घटना हुने गरेको बताउँदै र्‍याडरगनको प्रयोग सुरु गरिएको बताए । उनले अब देखि र्‍याडरगनले सवारीको ‘स्पिड’ मापन गरिने र नियम उल्लंघन गरेको पाइए ‘अज द स्पर्ट’ कारवाही गरिने बताए ।

ट्राफिक प्रहरीले अहिले पूर्व – पश्चिम राजमार्गको ५५ किलोमिटर सडक खण्डको विभिन्न स्थानमा चेकजाँच सुरु गरेको छ । विशेष गरी बढी दुर्घटना हुने क्षेत्रमा ट्राफिक प्रहरीले चेकपोष्ट नै खडा गरेर दुर्घटना न्यूनीकरणका लागि अभियान सुरु गरेको प्रहरी निरीक्षक राईले बताए ।

बढी दुर्घटनामा मोटरसाइकल
झापामा सबैभन्दा बढी दुर्घटनामा मोटरसाइकल नै पर्ने गरेको पाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको तथ्याक अनुसार आर्थिक वर्ष २०७१-०७२ मा ८७ वटा मोटरसाइकल दुर्घटना भएका थिए । त्यस्तै २०७२-०७३ मा १ सय ५७ र आर्थिक वर्ष २०७३-०७४मा १ सय ३७ वटा मोटरसाइक्ल दुर्घटनामा परेको ट्राफिकको तथ्याङ्क रहेको छ ।

त्यसैगरी चालू आर्थिक वर्ष २०७४-०७५मा १ सय १६ वटा मोटरसाइकल दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक डीएसपी कृष्ण प्रसाईले पूर्व क्षेत्रमा सवारी दुर्घटना न्यूनीकरणका लागि र्‍याडरगनको प्रयोग सुरु गरिएको बताए ।

उनले सडकको अवस्था हेर्दा प्रतिघण्टा ८० किलोमिटर भन्दा बढी गतिमा सवारी चलाउन नपाइने तर, त्यो भन्दा बढी गतिमा चलाउने गरेको बताए ।  अब देखि कसैले नियम उल्लंन गर्दै सवारी चलाएको पाइए तत्काल कारवाही हुने समेत उनले दावी गरे । बढ्दो सहरीकरणका कारण मानिसको भिडभाड बढी हुने भएकाले यहाँको सडकमा सवारीको गति ६० किलोमिटर प्रतिघण्टको दरमा हुनु पर्ने समेत उनले सुझाव दिए ।जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार अभियान सञ्चालन सुरु गरेकै दिन बुधबार ७८ सवारी साधन कारवाहीमा परेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ