arrow

डा. केसीको मानमर्दनमा समेत उत्रियो नेकपा, केसीलाई बनाए गगनका कार्यकर्ता

गोविन्द केसीका माग शतप्रतिशत पूरा नगरे सडक संघर्ष गर्ने कांग्रेसको चेतावनी

logo
प्रकाशित २०७५ असार ३२ सोमबार
Keshav_Badal.jpg

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य केशब बडालले जबसम्म माग पूरा हुँदैन तबसम्म उपचार गर्न नदिने र वार्तामा पनि नबस्ने भनेर समर्थकहरुले अनशनरत डाक्टर गोविन्द केसीलाई बाध्य बनाएर मानव ढाल बनाउने काम गरेको भन्दै कडा आपत्ति जनाएका छन् ।
 
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘डाक्टर केसीलाई मानव ढाल बनाउने काम भैरहेको छ, उपचार पनि गर्न नदिने र वार्तामा पनि नबस्ने भनेर साथीहरुले भन्नुभएको छ, यो गलत र अलोकतान्त्रिक हो, उहाँलाई मानव ढाल नबनाऔं।’

उनले डाक्टर केसीको जीवनमाथि खेलबाड गर्ने काम नगर्नपनि आग्रह गरे । उनले भने,‘यस्तो अत्याचार नगरौं, संसदले कुन विद्येयक र कस्तो विद्येयक पास गर्ने वा नगर्ने भन्ने अनशनलाई जिम्मा दिने कुरा नगरौं, संसदमा पर्याप्त छलफल हुन्छ, विद्येयकमा चित्त नबुझे विद्येयकउपर छलफल हुन्छ, संशोधन हाल्न पनि सकिन्छ, संसदीय समितिहरुमा पनि पर्याप्त छलफल हुन्छ।’

उनले ऐन सडकबाट पारित गर्नेजस्तो कुरा गर्न नहुने धारणा राखे । उनले भने,‘कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले बाटो बिराएछ, लोकतन्त्र नै समाप्त पार्ने बाटोमा कोहीपनि नलागौं।’ सरकार डाक्टर केसीको जीवन रक्षा गर्ने पक्षमा रहेकोले केसीले अनशन काठमाडौंमा नबसी जुम्लामा किन बसे ? भनेरपनि उनले प्रश्न तेर्साए । उनले भने,‘लोकतान्त्रिक व्यवस्थालाई अफापसिद्ध तुल्याउनको लागि डाक्टर केसीलाई जुम्लामा अनशन बस्न पठाईएको हो।’

डाक्टर केसीको अनशन धेरै पटक भएकोले कांग्रेस नेता गगन थापा स्वास्थ्यमन्त्री हुँदा केसीको माग किन पूरा गरेनन भनेर बडालले प्रश्न गरे । उनले भने,‘अहिले केसीको पक्षमा चर्को कुरा गर्ने गगन थापा आफू स्वास्थ्यमन्त्री हुँदा किन उहाँका मागहरु पूरा गर्नुभएन् ?।’ मेडिकल क्षेत्र सफा हुनुपर्छ भन्ने पक्षमा आफूहरु रहेको सुनाउँदै उनले डाक्टर धर्मकान्त बाँस्कोटाजस्तो सम्मानित र ईमानदार डाक्टरलाई त्रिवि शिक्षण अस्पतालको निर्देशकबाट हटाउन समेत डाक्टर केसी अनशन बसेको आरोप लगाए । उनले भने,‘डाक्टर बाँस्कोटामात्रै होईन, भगवान कोइरालालाइ पनि त्रिवि शिक्षण अस्पतालको निर्देशकबाट हटाउन उहाँ अनशन बस्नुभयो।’

नेता बडालले गगन थापाको पक्षमा चुनावको बेला भोट माँगेकोले डाक्टर केसी कांग्रेसको कार्यकर्ता भएको आरोप लगाए । उनले भने,‘डाक्टर केसी कांग्रेसको कार्यकर्ता नभए गगन थापाको पक्षमा निर्वाचनमा किन मत माँग्नुभयो ?, त्यही गुन तिर्नको लागि गगन थापाले अहिले अनशनरत डाक्टर केसीको पक्षमा बोलिरहेका छन्।’

६० लाख मानिस काठमाडौंमा बस्ने भएकोले काठमाडौं उपत्यकाभित्र मेडिकल कलेज खोल्नै हुँदैन भन्नु काठमाडौंका जनताविरुद्ध अपराध गरेको उनको गुनासो छ । उनले भने,‘संविधानको भावना विपरितको अभिव्यक्ति हो, कोही अनशन बसेर सडकबाट काठमाडौंमा मेडिकल कलेज खोल्न पाईँदैन भन्नु दयनीय दृष्टिकोणमात्रै हो।’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री महेन्द्र यादवले अनशनरत डाक्टर गोविन्द केसीका मागहरु सरकारले शतप्रतिशत पूरा गर्नुपर्ने बताएका छन् । उनले भने,‘डाक्टर केसीले उठाएका सबै मागहरु सरकारले पूरा नगरे सरकारलाइ जनताले कुनै हालतमापनि माफी दिँदैन्, हाम्रो पार्टीले अहिले संसदमा संघर्ष गरिरहेको छ, आवश्यक पर्यो भने हामी सडक संघर्षमा समेत उत्रिन्छौं।’

नेता यादवले डाक्टर केसीले मेडिकल शिक्षालाई राम्रो र गुणस्तरीय बनाउनको लागि विगत लामो समयदेखि प्रयास गरिरहेको सुनाउँदै उनको अनशन र सत्याग्रह आन्दोलनलाई राजनीति रंग दिन नहुने धारणा राखे । उनले भने,‘उहाँको अनशनलाई राजनीतिक रुपले हेर्नुहुँदैन्, केसीले कुनै सरकारलाईपनि समस्यमा पार्नुभएको छैन, उहाँसँग कुनै व्यक्तिगत स्वार्थ छैन्।’

डाक्टर केसी अहिले एक्लो नभएको बताउँदै उनले भने,‘उहाँको पक्षमा अहिले नागरिक समाजहरु, सरकारकै पार्टीका सांसदहरुपनि केसीको पक्षमा हुनुहुन्छ।’ वर्तमान सरकार काठमाडौं उपत्यकामै मेडिकल कलेज खोल्न किन मरिहत्ते गरिरहेको छ भन्दै उनले प्रश्न समेत तेर्साए । नेपाली कांग्रेसको जनताको पार्टी भएकोले आफूहरुले डाक्टर केसीले उठाएका मागहरु कुनै पनि हालतमा मर्न नदिने प्रण गरे । उनले दोहोर्याएर भने,‘आवश्यक पर्यो भने हामी सडक संर्घषमा पनि उत्रिन्छौं।’

विगतमा ५७ दिनसम्म संसद अवरुद्ध गर्ने पार्टी नै अहिले सरकारमा भएकोले कांग्रेसले जायज मागहरु सम्बोधन गर्नुपर्छ भनेर संसद अवरोध गर्दा किन आँत्तिएको भन्दै नेता यादवले सरकारलाई प्रश्न गरे । केसीले उठाएका मागहरु समस्त नेपाली जनताको भएकोले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार पनि लोकतान्त्रिक सरकार भएकोले केसीको माग सम्बोधन गर्न ढिलाई गर्न नहुने उनको सुझाव छ ।

बरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले हिजो आएकोजस्तो अध्यादेश ऐन वा विद्येयकको रुपमा आएमात्रै डाक्टर गोविन्द केसीले अनशन तोड्ने नभए नतोड्ने स्पष्ट पारेका छन् । उनले भने,‘हिजो आएको अध्यादेश अनुसार ऐन वा विद्येयकको रुपमा आयो भने डाक्टर केसीको आन्दोलन निश्कर्षमा पुग्छ।’

केसीको अनशनको आज १७ औं दिन पुगेको बताउँदै उनको स्वास्थ्य अवस्था दिनप्रति दिन चिन्ताजनक बन्दै गैरहेको पनि जनाए । उनले भने,‘यो सरकारले डाक्टर केसीलाई जुम्लाबाट जबरजस्ती उठाएर काठमाडौं ल्याउने रणनीति बनाएको थियो, कुनै ठोस सहमति नभईकन उहाँले अहिले अनशन तोड्ने कुनै संभावना छैन्।’

आफूहरुको तर्फबाट यसअघि नै सरकारसँग वार्तामा बस्नको लागि टोली गठन भैसकेको पनि उनले जनाए । उनले भने,‘हाम्रो तर्फबाट ओमप्रकाश अर्याल, डाक्टर अभिषेकप्रताप सिंह र नेपाल चिकित्सक संघका प्रतिनिधि रहनेगरि वार्ता टोली गठन भैसकेको छ, हामी कुनैपनि बेला सरकारसँग वार्ता गर्न तयार छौं, वार्ता गर्नको लागि डाक्टर केसी चाहिँदैन, हाम्रो प्रतिनिधिहरु तयारी अवस्थामा छन्।’  तार्किक निश्कर्ष निस्किनेगरि वार्ता बस्नुपर्ने उनको भनाई छ ।

डाक्टर केसीले १४ औं पटकसम्म अनशन बसेर यसअघिका सरकारहरुसँग गरेको सहमतिको आधारमा अध्यादेश आएकोले यसलाई तोडमोड गरेर ल्याउन जरुरी नरहेको पनि उनको भनाई छ । उनले भने,‘ वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली यसअघि प्रधानमन्त्री हुँदापनि डाक्टर केसीको माग सम्बोधन गर्न सहमति भैसकेको थियो, त्यही सहमति अनुसार कानून ल्याउने भनिएको थियो, अहिले आएर तोडमोड गर्न पाईँदैन्।’

डाक्टर गोविन्द केसीको तर्फबाट सरकारसँग वार्ता गर्न गठित टोलीका सदस्य डाक्टर अभिषेकप्रताप सिंहले अनशनरत डाक्टर केसीको स्वास्थ्य अवस्था नाजुक रहेको जनाए । उनले भने,‘हरेक मिनेट उहाँको स्वास्थ्य अवस्था गम्भिर बन्दै गएको छ, डाक्टर केसीले त कम्युनिष्टहरुको मागलाई नै बोकेर हिँड्नुभएको छ।’उनले आज बेलुकासम्म सरकारसँग पहिलो चरणमा आफूहरुको वार्ता हुने संभावना समेत सुनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ